चित्र मिजार
सिन्धुपाल्चोक, कात्तिक ६ गते । खजुगल गाउँपालिका–१ र ४ र लिसंखुपाखर गापा–३ मा पहिरोले परिवारका सदस्य गुमाएका पहिरो पीडितलाई सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले नगद सहयोग गरिएको छ ।
नेपाली कांग्रेस, सुनकोशी–काठमाडौं सम्पर्क समिति सिन्धुपाल्चोकका अध्यक्ष एवम उक्त संस्थाका सल्लाहकार इन्द्र बहादुर खत्रीले पहिरोमा घरसहित ज्यान गुमाएका जुगल गापा–१ कुनेगाउँका चित्रबहादुर मिजार, ठूलीकान्छी मिजार, जुगल गापा–४ का अविनाश नेपाली र अविरल नेपालीका परिवारजनलाई पहिरो गएको ठाउँमै पुगेर प्रतिमृतक १५ हजारका दरले नगद सहयोग प्रदान गरिएको जानकारी दिनुभयो ।
त्यस्तै लिसंखुपाखर गापा–३ मा पहिरोबाट घरसहित ज्यान गुमाएका काजी तामाङ र उहाँकी धर्मपत्नी सुन्तली तामाङको परिवारलाई नगद ३० हजार र पहिरोमा परेर ज्यान गुमाएका सोही वडाको तृष्णा मोक्तान, उहाँकी ६ वर्षीय छोरा युकेश र ९ वर्षीया छोरी सेनसनका परिवारजनलाई एकमुष्ट ४५ हजार सहयोग गरिएको खत्रीले बताउनुभयो ।
सिन्धुपाल्चोकबाट दक्षिण कोरिया गई विभिन्न पेशा, व्यवसायमा कार्यरतहरुले खाजा खर्च कटाएर पहिरो पीडितलाई नगद सहयोग पठाएका थिए । उक्त सहयोगले राहत महसुस भएको मृतक परिवारजनले जनाएका छन् । पहिरोबाट ज्यान गुमाएका र घरजग्गा गुमाएका परिवारजनलाई राहत र सहयोगका कार्य हुँदै आइरहेको छ ।
अविरल वर्षातका कारण असोज १२ गते घरमाथिबाट आएको पहिरोले घरसहित उनीहरुलाई पहिरोले पुरेको थियो । त्यसैदिनको पहिरोले सिन्धुपाल्चोक १० जनाको मृत्यु भएको छ भने अझै दुई जना ठूलीकान्छी मिजार र अविनाश नेपाली पहिरोमा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयको प्रमुख एवम प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभएको छ ।