• ८ मंसिर २०८१, शनिबार

आदिवासीको संस्कृति जोगाउन महोत्सव

blog

महोत्सवबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलन ।तस्बिर : गजेन्द्र गुरुङ

खजुरा समाचारदाता

खजुरा, कात्तिक ६ गते । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेले बाँकेको नेपालगन्जमा महोत्सव सञ्चालन गर्ने भएको छ । महासङ्घले आइतबार नेपालगन्जको बौद्ध गुम्बामा पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिएको हो । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेका अध्यक्ष डम्बरबहादुर थापामगरले आदिवासी जनजातिका परम्परागत रीतिरिवाज, चालचलन, कला, संस्कृति, वेशभूषा हराउँदै जान थालेपछि यसलाई संरक्षण गर्ने उद्देश्यसहित नेपालगन्जमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

‘विश्वभरि फैलिएका हामी जनजाति हामी आदिवासी, जोगाई राखौँ वेशभूषा, भाषा, संस्कृति’ भन्ने मूल नारासहित महोत्सव हुन लागेको हो । कात्तिक २९ गतेदेखि मङ्सिर १८ गतेसम्म नेपालगन्जमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्स्पो २०८१’ सञ्चालन गर्न लागिएको अध्यक्ष थापामगरले जानकारी दिनुभयो । 

कला तथा संस्कृति संरक्षणसहित संस्थाको भवन निर्माण सहयोगार्थ सञ्चालन गर्न लागिएको महोत्सवमा जाति, जनजाति, कला, संस्कृति संरक्षणका साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारले मनोरञ्जनसमेत प्रदान गर्ने उहाँले बताउनुभयो । 

अध्यक्ष थापामगरका अनुसार औद्योगिक तथा व्यापारिकसहित महोत्सवमा २५० स्टल रहने छन् । महोत्सवभर आदिवासी जनजातिका कला, संस्कृतिसम्बन्धी पौराणिक कला जातिय वेशभूषाको प्रदर्शन गरिने, कृषि पर्यटन हस्तकला सहितका स्टल राखिने, लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्टल प्रदर्शनी गरिने तथा जातीय खाना प्रदर्शनी गरिने पनि अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।