• २४ पुस २०८१, बुधबार

बयानका लागि जोशी बुटवलमा

blog

भैरहवा समाचारदाता

भैरहवा, कात्तिक ६ गते । सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई बयानका लागि बुटवल ल्याइएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाबाट गोर्खा मिडियामा गएको रकमको अनुसन्धानका लागि जोशीलाई पोखराबाट सिधै बुटवल ल्याइएको हो । 

कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेका जोशीलाई सोमबार बिहान बुद्ध एयरको जहाजमार्फत भैरहवा हुँदै बुटवल ल्याएको हो । जोशीविरुद्ध इलाका प्रहरी कार्यालयमा सहकारी ठगीसम्बन्धी उजुरी छ । जोशीलाई मङ्गलबारबाट बयान लिइने इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले मङ्गलबारदेखि जोशीको बयान लिने काम सुरु हुने जानकारी दिनुभयो । “मङ्गलबारबाट बयान लिने काम सुरु हुन्छ, बयान कतिदिनमा सकिन्छ त्यो भन्न सकिँदैन,” उहाँले भन्नुभयो । 

“गोर्खा मिडियामा सुप्रिमबाट १० करोडभन्दा बढी रकम गएको पाइएको छ, यसैको अनुसन्धान लागि जोशीलाई बुटवल ल्याइएको हो,” डिएसपी पण्डितले भन्नुभयो । उक्त रकममध्ये २०७७ माघ २८ गते जोशीको नामबाट दुई करोड ५० लाख, २०७८ वैशाख ९ गते गोरखा मिडिया नेटवर्कका नामबाट ३० लाख, २०७८ असार २२ गते कुमार रम्तेलका नाममा एक करोड तीन लाख ३६ हजार, २०७८ पुस १२ गते विपिन कुमार आचार्यका नाममा एक करोड ५६ लाख १५ हजार रकम गएको अनुसन्धानमा देखिएको छ । 

त्यस्तै २०७७ असोज ११ गते गोर्खा मिडिया नेटवर्कका नाममा एक करोड, २०७८ वैशाख ५ गते गोर्खा मिडिया नेटवर्ककै नाममा एक करोड, २०७७ चैत १८ गते रवि लामिछानेका नाममा दुई करोड, २०७८ असार ४ गते गोर्खा मिडिया नेटवर्कका नाममा एक करोड, २०७८ असोज १३ गते ५० लाख र असोज २४ गते २५ लाख रकम गोर्खा मिडियामा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै गत वैशाखमा  सहकारी ठगीको मुद्दा दायर गरेको थियो ।