• २४ पुस २०८१, बुधबार

सूर्यदर्शनका बचतकर्ताको कन्तबिजोग

blog

सूर्यदर्शन सहकारीको निष्पक्ष छानबिन र बचत फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका सहकारीपीडित ।तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक ६ गते । पोखरा महानगरको कछाडतिर सानो घडेरी किनेर सानै घर बनाउने वीरबहादुरको सपना थियो । १३ वर्ष साउदीमा मजदुरी गरी घरखर्च कटाएर २३ लाख रुपियाँ उहाँसँग जोहो थियो । त्यति रकमले पोखरामा घडेरी पनि आउँदैन, घर त परैको कुरा भयो । सूर्यदर्शनले आकर्षक ब्याज दिन्छ भन्ने सुनेपछि तीन वर्षअघि उहाँले जीवनभरिको कमाइ त्यही जम्मा गर्नुभयो ।

पैसा जम्मा गरेको एक वर्ष पुगेपछि श्रीमती भगवतीलाई लिएर वीरबहादुर सहकारी पुग्नुभयो । भगवती भन्नुहुन्छ, “हामी पुग्दा सहकारीमा त ताला पो लागेको देख्यौँ । ब्याज त परको कुरा हाम्रो जीवनभरको कमाइ र सपना सूर्यदर्शनले सक्यो ।” अनपेक्षित रूपमा पैसा डुबेपछि वीरबहादुरलाई हृदयाघात भयो । 

एक छोरा र एक छोरीलाई अरूको घरमा काम गरी जसोतसो हुर्काउँदै आउनुभएकी भगवती श्रीमान्को मृत्युपछि विक्षिप्त जस्तै हुनुहुन्छ । सहकारी पीडितको आन्दोलनमा उहाँ एक हातमा पानी र अर्को हातम लट्ठी टेकेरै पनि आउने गर्नुभएको छ । 

सूर्यदर्शनका कर्मचारीले रकम जम्मा गर्न अनेक उपाय गर्ने गर्थे । ठुलो रकम जम्मा गर्ने ग्राहक ल्याउने कर्मचारीले राम्रो कमिसनसमेत पाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । पोखरा–३, नदीपुर बस्ने सानुकाजी बजिमयसँग मोहरिया टोलको घर बेचेको पैसा रहेको सूर्यदर्शनका कर्मचारीले सुइँको पाएपछि बारम्बार फोन आउन थाल्यो । लेखापाल सृष्टि मानन्धरले बारम्बार फोन गरी पैसा राखे १४ प्रतिशत ब्याज दिने प्रलोभन दिन थालिन् । 

“कसरी हामीसँग पैसा आएको थाहा पाए कुन्नि, पछि लागेको लाग्यै गरेपछि बाआमाले पैसा सूर्यदर्शनमा राख्नुभए छ,” सानुकाजीका छोरा अभिनन्दन भन्नुहुन्छ । सूर्यदर्शनमा सानुकाजीको नाममा ८० लाख, उहाँकी श्रीमती रचनादेवीको २५ लाख र छोरीको करिब १० लाख जम्मा गरिएको थियो । दुई वर्ष १४ प्रतिशतका दरले ब्याज पाए पनि त्यसपछि सहकारी नै बन्द भयो । सानुकाजी र उहाँका छोराछोरी नै सहकारी पीडितको आन्दोलनमा सकेसम्म आउने गर्नुभएको छ । घर बेचेको पैसा डुबेपछि रचनादेवी उच्च रक्तचापले थला पर्नुभएको छ । 

पोखरा­–१, बगरका दलबहादुर गुरुङलाई उहाँ आफन्तले सहकारीमा ५०/६० लाखका दरले राखेको र १५ प्रतिशत ब्याज पाइरहेको बारम्बार सुनाए । उहाँको पनि मन लोभियो २६ लाख जम्मा गर्नुभयो । दुई वर्ष ब्याज घरैमा आइपुग्यो । त्यसयता बचत फिर्ता पाउने आशमा कहिले ¥याली त कहिले ज्ञापनपत्र बुझाउन उहाँ हिँडिरहनुभएको छ ।

सूर्यदर्शन सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठ अनेक तिकडम गरी बचत र सेयर रकम जम्मा गरेर सूर्यदर्शनका सञ्चालकले ठगी गरेको बताउनुहुन्छ । “२० प्रतिशतसम्म ब्याज दिने प्रलोभन दिएर रकम जम्मा गरिएको रहेछ,” उहाँ भन्नुहुन्छ, “जन्मदिनमा सहकारीले घरमै केक पठाइदिने, ब्याज घरमै लगिदिने, पैसा भएको थाहा भए घरै पुगेर आकर्षक ब्याज दिने प्रलोभन दिने गरिएको थियो ।” 

सूर्यदर्शनमा १८ हजार सात सय बचतकर्ताको एक अर्ब ३५ करोड रकम हिनामिना भएको छ । ससानो व्यापार गर्नेदेखि घर, घडेरी किन्न चाहने र जग्गा जमिन बेचेर रकम राख्नेको अहिले कन्तबिजोग भएको छ । दुई वर्षअघि सहकारी बन्द भएपछि बचतकर्ताले प्रहरीमा जाहेरीसमेत दिएका छन् । सूर्यदर्शन ठगी प्रकरणमा अहिलेसम्म ६० जनालाई प्रतिवादी बनाइएकोमा नौ जना मात्र पक्राउ परेका छन् । पक्राउ परेकामध्ये अहिले तीन जना हिरासतमा छन् भने छ जना पुर्पक्षका लागि थुनामा छन् । 

२०६३ सालमा स्थापना भएको सूर्यदर्शन सहकारीबाट गोरखा मिडियामा पाँच करोड ५८ लाख रकम गएको देखिएको छ । यही ठगी प्रकरण र सङ्गठित अपराध अनुसन्धानको दायरमा पूर्वगृहमन्त्री रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । 

सङ्घर्ष समिति संयोजक श्रेष्ठ राजनीतिक दल नै अनुसन्धानलाई प्रभावित बनाउन प्रदर्शनमा उत्रिँदा दुखित बनेको उल्लेख गर्नुहुन्छ । “उहाँहरू जान्नेले जान्नेलाई छान्ने भन्नुहुन्थ्यो । विकृतिविरुद्ध लड्छौँ भन्नेले नै सहकारी ठगीको अनुसन्धान रोक्न प्रदर्शनमा उत्रिनु स्वभाविक भएन ।” सहकारी पीडितले लामिछाने गृहमन्त्री भएका बेला र अरू बेला पनि बारम्बार भेटेर ज्ञापनपत्र बुझाउनेदेखि न्यायको माग गरेका थिए । 

“हामीले गुहार्न बाँकी कुनै दल छैन । उहाँलाई अदालतले सफाइ दिए मन्त्री, प्रधानमन्त्री नै बन्नुहोला केही भएन । अनुसन्धान नै हुन नदिए त हामीमाथि अन्याय हुन्छ,” श्रेष्ठले थप्नुभयो । सूर्यदर्शनको आउँदो मङ्सिर ८ गते विशेष साधारण सभा हुँदै छ । सञ्चालकमध्ये केही फरार त केही थुनामा हुँदा दुई वर्षदेखि बन्द सहकारीलाई खोल्ने योजना भने बनेको छ ।