• ९ मंसिर २०८१, आइतबार

कार्यालय भवन शिलान्यास

blog

नमुना सहर कार्यालयको शिलान्यास गर्दै उपसभापति पूर्णबहादुर खड्का । तस्बिर : नवीन सुवेदी

छिन्चु समाचारदाता

सुर्खेत, कात्तिक ५ गते । नेपाली काँग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरीगङ्गा नयाँ सहर कार्यालयको शिलान्यास गर्नुभएको छ । 

गुर्भाकोट नगरपालिका–१२ को मेहेलकुनामा रहेको कार्यालयको शिलान्यास गर्नुहुँदै उहाँले कार्यालय भवन समयमै सक्न निर्देशनसमेत दिनुभयो । उहाँले भन्नुभयो, “भेरीगङ्गा देशभर बन्न लागेको नयाँ सहरमध्ये एक उत्कृष्ट सहर हो, यो सहर कर्णाली मात्र नभई पश्चिम नेपालमै ठूलो सहर बन्ने छ । तसर्थ समयभित्रै कार्यालयको भवन निर्माण सम्पन्न गर्नुहोला ।” उहाँले आगामी २५ वर्षसम्ममा सुविधासम्पन्न नयाँ सहर बनाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

नेपालमा परिकल्पना गरिएका ५० भन्दा बढी सहरमध्ये भेरीगङ्गा आधुनिक सहर सबैभन्दा ठूलो भूगोलमा भएकाले यसको विकासका लागि तीव्र गतिमा काम गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले सहरी आयोजनासँग समन्वय नगरी जथाभाबी बाटो निर्माण नगर्न स्थानीय तहका जनप्रतिनिधिलाई सुझावसमेत दिनुभयो । “नदीकिनारमा ठुला सडक खन्ने काम नगर्नुहोस्, बरु सहरी आयोजनासँग समन्वय गरेर हरियाली र सुन्दरता दिने काम गर्नुहोस्,” उपसभापति खड्काले भन्नुभयो । 

उहाँले अहिले अर्थतन्त्रमा परेको असरका कारण निर्माणका काम सुस्त गतिमा भइरहेको बताउनुभयो । सहरलाई तीन पालिका जोडेर नमुना उपत्यका सहर बनाइने छ । नयाँ सहर आयोजनाका उपनिर्देशक लीला काफ्लेले देशभर बन्न लागेका १२ सहरमध्ये पर्यटकीय सम्भावना बोकेको सहर भेरीगङ्गा बन्ने जिकिर गर्नुभयो । भवन शिलान्यास कार्यक्रममा सुर्खेत क्षेत्र नं. १ ‘क’ र ‘ख’ का प्रदेश सभा सदस्य, लेकबेँसी, भेरीगङ्गा, गुर्भाकोट नगरपालिकाका प्रमुख र उपप्रमुखहरूले भवन निर्माण काम समयमै सक्न आग्रह गरेका थिए । आरम्भ सुरज जेभी बर्दियाले १८ महिनाको अवधिभित्र काम सक्ने गरी भवन निर्माण गर्ने सम्झौता गरेको छ ।