• ४ कात्तिक २०८१, आइतबार

स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने योजना

blog

स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यव्रmम ।

ललित बसेल

सुर्खेत, कात्तिक ४ गते । कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकारले विभिन्न योजना अघि सारेको छ । सरकारले नसर्ने रोग, कलिलै उमेरमा आमा हुने समस्या र घरमा सुत्केरी हुने दर घटाउने योजना अगाडि सारेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले सुर्खेतमा आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको समीक्षा कार्यक्रममा यो योजना अगाडि सारिएको हो । 

पछिल्लो समय रक्तचाप, मधुमेह, क्यान्सरजस्ता नसर्ने रोगका साथै मानसिक रोगको समस्या बढ्दै गएको छ । गाउँबस्तीमा मानसिक रोग र नसर्ने रोग बढ्दै गएकाले आगामी दिनमा यी रोग निदानका लागि बजेट र कार्यक्रमसहितको योजना सञ्चालन गर्नुपर्नेमा एकमत भएको निर्देशनालयले जनाएको छ । यस्तै २० वर्ष नपुग्दै आमा हुने प्रवृत्तिले स्वास्थ्य समस्या जटिल बन्दै जाँदा बालविवाह न्यूनीकरणलगायतका कार्यक्रमलाई पनि समन्वयका साथ प्रदेशभरका सबै स्थानीय तहसँग काम गर्ने योजना पनि बनाइएको छ । 

कर्णालीमा संस्थामा सुत्केरी हुने दर पनि घटेको छ । गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना गरिए पनि मापदण्ड अनुसारका नभएकाले घरमै सुत्केरी हुने दर केही बढेकाले अब बर्थिङ सेन्टरलाई मापदण्ड अनुसार बनाउने र दक्ष जनशक्ति पूर्ति गर्ने योजना पनि समीक्षा कार्यक्रममा गरिएको निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताउनुभयो । विगत वर्षको तुलनामा कर्णालीमा ८ प्रतिशतले घरमा सुत्केरी हुने दर बढेको छ । संस्थामा सुत्केरी हुने दर बढाउने कार्यक्रमलाई प्राथमिकता दिन पनि समीक्षाले निष्कर्ष निकालेको जानकारी उहाँले दिनुभयो । 

साथै कर्णालीका बालबालिका आफ्ना अभिभावक रोजगारका लागि भारततिर जाने हुँदा बालालिकाले पूर्ण खोप पनि लगाउन छोड्ने समस्या पनि बढ्दै गएकाले पूर्ण खोप लगाउनका लागि पहल थालिने छ । स्वास्थ्य निर्देशक डा. खड्काले प्रदेश पूर्ण खोपयुक्त भइसक्दा पनि बालबालिका पूर्ण खोपबाट छुटेकाले उनीहरूलाई सबै खोप लगाउन पालिकाहरूलाई आवश्यक समन्वय गरी काम गर्नुपर्ने निर्णय भएको बताउनुभयो । 

सुर्खेत प्रथम, डोल्पा र हुम्ला दोस्रो

यसै गरी आर्थिक वर्ष २०८०/८१ मा जिल्लाहरूमा सम्पादित स्वास्थ्य कार्यक्रमका आधारमा सुर्खेतको स्वास्थ्य सेवा कार्यालय प्रथम भएको छ भने हुम्ला र डोल्पा दोस्रो भएको छ । खोप कभरेज, मातृशिशुलगायत विभिन्न १८ वटा स्वास्थ्य सूचक मापनका आधारमा कर्णालीका १० वटा कार्यालयमध्ये सुर्खेत प्रथम र डोल्पा दोस्रो भएको छ । स्वास्थ्य निर्देशक डा. खड्काले स्वास्थ्यका सूचकका आधारमा सुर्खेत विगतमा झैँ यस वर्ष पनि प्रथम भएको बताउनुभयो । 

यस्तै दुर्गम जिल्ला हुम्ला र डोल्पा दोस्रो भएको छ भने जुम्ला तेस्रो भएको छ । सोही अवसरमा प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका प्रमुख डा. शङ्कर रिजाललाई पनि सम्मान गरिएको छ । गत बुधबारदेखि शुक्रबारसम्म सञ्चालन भएको प्रदेशका १० वटै जिल्लाबाट स्वास्थ्य सेवा कार्यालय, जनस्वास्थ्य सेवा कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्र तथा स्वास्थ्यसँग सहकार्य गर्ने विकास साझेदारका प्रतिनिधिको सहभागिता रहेको थियो । 

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानसिक स्वास्थ्य समस्यालाई समाधान गर्न अभियानका रूपमा सकारात्मक सोच वृद्धिका लागि सहकार्य गर्न आग्रह गर्नुभएको छ । उहाँले कर्णालीमा जनशक्ति व्यवस्थापनका लागि पनि कर्णाली मोडेलको ‘ओएनएम’ तयार गर्न लागिएको जानकारी दिनुभयो । 

स्वास्थ्य र जनस्वास्थ्यलाई छुट्टाछुट्टै गरी कार्यसम्पादनमा सहज बनाउनुपर्ने भन्दै मन्त्री भण्डारीले स्वास्थ्य शिक्षाका लागि जनचेतनामूलक सन्देश प्रवाह गर्न सबै स्वास्थ्यकर्मीले हरेक दिन सामाजिक सञ्जालबाट सन्देश प्रवाह गर्न सुझाव दिनुभयो । पलिकास्तरमा आधारभूत आयुर्वेद सेवालाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।