• २३ पुस २०८१, मङ्गलबार

दुर्घटनाबाट जोगाउने सुरक्षा बार जीर्ण

blog

दुर्घटना रोक्न लगाइएको फलामे सुरक्षा बार । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, कात्तिक ३ गते । सुर्खेत–जुम्ला कर्णाली राजमार्गको जोखिमयुक्त सडकखण्डमा सवारीसाधनको दुर्घटना रोक्न लगाइएको फलामे बार जीर्ण बन्दै गएका छन् । सहायक सडक निर्माण गर्ने क्रममा र बेला बेला झर्ने पहिरोका कारणले फलामे बार जीर्ण हुँदै गएको हो । फलामे बार जीर्ण हुँदै गएपछि कर्णाली राजमार्गमा थप जोखिम बढेको छ । 

सडक डिभिजन कार्यालय जुम्लाले फलामे बार लगाएर दुर्घटना रोक्ने प्रयास गरेको थियो । सुर्खेत जिल्लाको कल्यानकाँधदेखि जुम्ला सदरमुकामसम्म फलामे बार लगाइएको छ । कर्णाली राजमार्गको स्तरोन्नतिसँगै रात्रिकालीन यातायात सञ्चालनमा आउन थालेपछि दुर्घटना हुन थालेको सरकारले सोचेपछि रातिको समयमा यस राजमार्गभित्र यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ तर पनि दुर्घटना नरोकिएपछि फलामे बार लगाएर दुर्घटना रोक्ने प्रयास गरिएको थियो । अहिले त्यही सुरक्षा बार कतै पहिरोले बगाएको छ भने कतै सडकमा थुप्रो परेको माटो हटाउने क्रममा निर्माण व्यवसायीको लापर्बाहीले भाँच्चिसकेका छन् । 

साँघुरो बाटो, पुराना थोत्रा यातायातका साधन, क्षमताभन्दा बढी यात्रुको चाप र चालकको चरम लापर्बाहीले नै बढी दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । कर्णाली राजमार्गको बाटो निकै साँघुरो छ, यसैमा क्षमताभन्दा बढी यात्रु बोक्ने र मालवाहक गाडीले पनि सामानको भार निकै पार्ने भएकाले दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालय कालीकोटका इन्चार्ज प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले बताउनुभयो । उहाँले जति सचेतीकरणका कार्यक्रम सञ्चालन गरे पनि यस राजमार्गमा सञ्चालन हुने गाडीचालक र गाडीमालिकले अटेर गर्दै आएको उहाँले बताउनुभयो । 

सरकारले कर्णाली राजमार्गमा हुने दुर्घटना रोक्नका लागि सडक कालोपत्रे, मोडको स्तरोन्नति, पर्खाल र कहालीलाग्दो भिरमा फलामे बार लगाएको छ । फलामे सुरक्षा बारले गर्दा चालकदेखि यात्रुले पनि सुरक्षित भएको महसुस गर्न थालेका थिए । पहिला आँखा घुमेर रिङ्गटा लाग्ने भिर देख्दा सातो जाने यस राजमार्गमा फलामे सेफ्टिबारले गर्दा केही सुरक्षित महसुस हुने गरेको चालक बताउँछन् तर अहिले त्यही सुरक्षा बार  पनि नहुँदा पहिलेको जस्तै त्रास बढेको छ । खाँडाचक्र नगरपालिका–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले घुम्ती र भिरालो ठाउँमा फलामे सुरक्षा बारले दुर्घटना हुनबाट जोगाउने गरेको भए पनि तिनै सुरक्षा बार जीर्ण हुँदा त्रास बढ्दै गएको बताउनुभयो । विगतमा सुरक्षा बार नहुँदा दैलेखको कल्यान, किट्टु र कालीकोटको सेरावाडास्थित बिर्तामोड, जुम्लाको रारालिहीमा ठुला दुर्घटना भएका थिए । जसबाट ठुलो धनजनको क्षति भएको थियो । कर्णाली राजमार्गलाई कालमार्गको संज्ञा दिइएको थियो ।