चन्द्र पन्दाक
ताप्लेजुङ, असोज २५ गते। दसैँको महानवमीको दिन लिम्बू समुदायको इतिहासको प्रतीकको रुपमा रहेको निशान प्रदर्शन गरिएको छ। नेपालीहरुको साझा चाडपर्वको रुपमा स्थापित हुँदै गएको दसैँ पर्वको अवसरमा निशान प्रदर्शन गर्ने गरिन्छ।
खासगरी नेपाली हिन्दूहरुको प्रमुख पर्व दसैँलाई वडादसैँ पनि भन्ने गरिएको छ। यही वडा दसैँको महानवमीको दिन लिम्बू समुदायको इतिहास बोकेको ऐतिहासिक ‘निशान’ प्रदर्शन गर्ने अर्थात नचाइने गरिन्छ। शुक्रबार पाँचथरको याङ्वरक गाँउपालिका–४ थर्पुमा भव्य रुपमा निशान प्रदर्शन गरिएको छ।
थर्पुसहित पूर्व क्षेत्रअन्तर्गत तेह्रथुमको छथरथुम र धनकुटा जिल्लामा मात्र निशान प्रदर्शन गर्ने गरिएको छ। लिम्बू समुदायका पछिल्लो अर्थात नयाँ पुस्तामाझ आफ्नो इतिहासलाई जीवित राख्नेतर्फ प्रेरित गर्न निशान प्रदर्शनलाई निरन्तरता दिँदै आएको बताइएको छ। निशान प्रदर्शनसहित थर्पूको कालिका भगवती मन्दिर परिसरमा निशान प्रदर्शनसँगै निशान मेलाका नाममा भव्य मेला लाग्ने गर्दछ।
निशान मेलामा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम लगायतका जिल्लाबाट सहभागी हुने गरेका छन्। राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरण युद्धको झल्को दिनेगरी निशान प्रदर्शन गर्ने गरिएको स्थानीय अगुवा बताउँछन्। थर्पूको कालिका भगवती धाम जुनस्थललाई ५२ मौलोका रुपमा पनि चिन्ने गरिन्छ। दसैँको महानवमीको दिन यहाँ निशान प्रदर्शन गर्नुका साथै अन्य मनोरञ्जनात्मक गतिविधिसमेत आयोजना गर्ने गरिएको छ। लिम्बूको इतिहासको प्रतीक निशानसँगै नगरा, दमाहा बाजा साथै युद्धकालीन समयमा प्रयोग भएका विभिन्न किसिमका ऐतिहासिक हातहतियारसमेत प्रदर्शन गर्ने गरिन्छ।
नेपाल एकीकरणका समयमा राजा पृथ्वीनारायण शाहले पल्लो किराँतका लिम्बूहरूलाई उपहार स्वरूप श्रीजङ्ग र कम्फु नामको दुई वटा निशान छाडेको भन्ने भनाइ छ। पृथ्वीनारायण शाहले उपहार स्वरूप छाडेको सोही निशानको प्रतीक पूर्वमा बसोबास गर्दैआएका लिम्बू समुदायले दसैँको नवमीका दिन प्रदर्शन गर्ने गरेका छन्।
विक्रम सम्वत् १८८० तिर शासकीय अधिकार हस्तान्तरण गर्ने क्रममा पृथ्वीनारायण शाहले श्री कम्फु र श्री जङ्ग नामको निशान प्रदान गर्नुभएको बताइन्छ।
हाल थर्पुको कालिका धाम परिसरमा पर्यटकीय स्थलका रुपमा स्थापित गर्न याङ्वरक गाउँपालिकाले पोखरी व्यवस्थापनसँगै विभिन्न संरचनासमेत निर्माण गरेको छ। पर्यटकलाई आकर्षित गर्न गाउँपालिकाले पोखरीको सौन्दर्यीकरण, विश्रामस्थल, पाटीपौवालगायतका संरचना बनाएको छ। उक्त संरचनाका कारण निशान मेलामा मेला भर्नेहरु थप केन्द्रित हुनुकासाथै भीडभाड बद्दै गएको पाइएको छ।