• १९ पुस २०८१, शुक्रबार

शिक्षामा लगानी भवन ठडिँदै, गुणस्तर खस्किँदै

blog

ललित बसेल

सुर्खेत, असोज २४ गते । कर्णाली प्रदेशमा शिक्षाको लगानी क्षमता विकास, तालिम, प्रशिक्षणभन्दा पनि पूर्वाधारमा बढी गर्ने गरिएको छ । गुणस्तरीय शिक्षाका लागि आवश्यक तालिम, प्रशिक्षण, स्रोत सामग्रीलगायत कक्षाकोठाभित्रको अवस्था सुधार्नुभन्दा विद्यालय भवन र कक्षाकोठा बनाउनेतर्फ लगानी बढी हुन गरेको छ । 

सङ्घीयता कार्यान्वयन भएपछिका आर्थिक वर्षमा विद्यालय भवनमा धेरै जसो रकम खर्च भएको देखिन्छ । आव २०७५/७६ देखि २०८०/८१ सम्म पाँच वर्षको अवधिमा कर्णालीमा ६९१ वटा विद्यालय भवन निर्माण भएका छन् । शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार पाँच वर्षको अवधिमा कर्णालीमा ६९१ भवनमा दुई हजार ४०५ वटा कक्षाकोठा निर्माण भएका छन् । निर्देशनालयका निर्देशक दीपा हमालले विद्यालय भवन बनाउन पाँच लाखदेखि ५० लाखको बजेट विनियोजन गर्ने गरिएको बताउनुभयो । दुईकोठे, चारकोठे र छकोठे भवनको माग आउने गरेको भए पनि धेरै जसो दुई र चारकोठे भवन निर्माणका लागि बजेट पुग्ने गरेको छ । 

ती भवन बनाउनका लागि ३० लाखमाथिको भए टेन्डर प्रव्रिmयाबाट बन्ने र ३० लाखमुनिको भए विद्यालय व्यवस्थापन समिति वा उपभोक्ता समितिमार्फत बनाइने निर्देशक हमालले बताउनुभयो । यो वर्ष ३० लाखमाथिको टेन्डर हुन बाँकी १८ वटा विद्यालय भवन छन् भने ३० लाखभन्दा कमका १५ वटा विद्यालयको सम्झौता हुन बाँकी छ । बजेट सङ्घीय वा प्रदेश सरकारबाट आउने गरेको छ । विगतमा निर्देशनालयले भवन निर्माणको निगरानीको काम गरेको हुँदा यस वर्षदेखि सो भवनको जिम्मेवारी स्थानीय तहलाई गएको उहाँले जनाउनुभयो । भवन निर्माण वा मर्मतको छनोटको अधिकार निर्देशनालयलाई नभएको हमालको भनाइ छ । 

उहाँले शिक्षाको लगानी पूर्वाधारमा धेरै बढी मात्रामा भएको बताउनुभयो । विद्यालयले माग भवनकै गर्ने हुँदा पूर्वाधार बढी केन्द्रित भएको भन्दै उहाँले गुणस्तरीय शिक्षा बनाउनेतर्फ सबैको चासो कम हुँदै गएको दाबी गर्नुभयो । 

विद्यालय भवन बने पनि अझै पनि शौचालय, खानेपानीको अभाव रहेको छ । निर्देशक हमालले विद्यालयको कक्षाकोठाभित्रको अवस्था सुधार्नभन्दा पनि भवन मात्रै माग हुने र शौचालय तथा खानेपानीको क्षेत्रमा पनि बेवास्ता हुने गरेको जानकारी दिनुभयो । 

निर्देशनालयको तथ्याङ्क अनुसार विद्यालय शिक्षा परीक्षा (एसइई) मा कर्णालीको उपलब्धि ६० प्रतिशत छ । कर्णालीमा विद्यालय खोल्ने होडबाजी, जनशक्ति कमी, स्रोत र विद्यार्थीको अभावले कर्णालीको शैक्षिक अवस्था जटिल हुँदै गएको छ । स्रोत र जनशक्ति नहुँदा अहिले विद्यालय गाभ्ने अभियान थालिएको छ । लगानी दुर्गममा पनि जाने तर विद्यार्थी सुगमतिर आउँदा विद्यार्थी थेग्न नसकिने अवस्था छ । अभिभावकले पनि चासो नदिँदा शैक्षिक सुधार हुन नसकेको आफूले पाएको निर्देशक हमालले बताउनुभयो । 

कर्णालीमा दुई हजार ९८३ वटा सामुदायिक र २५० वटा संस्थागत गरी कुल तीन हजार २३३ वटा विद्यालय छन् । ती विद्यालयमा सामुदायिकतर्फ एक हजार ८७८ जना र संस्थागततर्फ एक हजार ८४८ गरी १३ हजार ७२६ जना शिक्षक कार्यरत छन् । यहाँ दुई लाख ५६ हजार १४२ जना छात्र र दुई लाख ५४ हजार ९७२ छात्रा गरी कुल पाँच लाख ११ हजार ११५ जना विद्यार्थी अध्ययनरत रहेको निर्देशनालयले जनाएको छ ।