• ६ पुस २०८१, शनिबार

हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सञ्चालनमा

blog

बागमतीमा बाढीले बगाएको भागमा डाइभर्सन निर्माण गरी पुल सञ्चालनमा आएसँगै कान्ति लोकपथ सुचारु । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, असोज २२ गते । हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सडक खण्ड मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको छ । मकवानपुरको भीमफेदी र ललितपुरको बागमती जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँचमार्ग मर्मत गरेपछि दश दिनपछि कान्ति लोकपथ सञ्चालनमा आएको हो । 

कान्ति लोकपथ भएर सवारीसाधन पूर्णरुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । बाढीले बागमती पुलमा बनेको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाएपछि कान्ति लोकपथ सडक खण्ड पूर्णरुपमा अवरुद्ध बनेको थियो । बगाएको भागमा डाइभर्सन निर्माण मङ्गलवार बिहानबाट सवारीसाधन सञ्चालनमा आएको हो । 

द्रुतमार्ग निर्माण गरिरहेको नेपाली सेनाको सहयोग लिएर मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा ४ वटा ह्युमपाइप हालेर अस्थायी सडक बनाएका हुन् । बागमती नदीमा आएको भीषण बाढीले पुलको दक्षिणतर्फको एउटा स्पान र मकवानपुरतर्फको भाग बगाएको थियो । गत ११ र १२ असोजको अविरल वर्षाले कान्ति लोकपथअन्तर्गत बागमतीमाथिको बगुवा पुलको मकवानपुरतर्फको पहुँचमार्ग बगाउँदा सवारी आवागमनमा समस्या भएको थियो । 

यो सडक खण्ड खुलेपछि सिस्नेरी, फाखेल भीमफेदी सडकखण्ड र त्रिभुवन राजपथमा भएको सवारी चाप कम हुनेछ । पुल र सडक बगाउँदा मकवानपुर र ललितपुरबिचको यातायात सम्पर्क टुटेको थियो । हेटौंडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौं, कुलेखानी-फाखेल-हुमानेभन्ज्याङ-फर्पिङ-काठमाडौ र कुलेखानी-महालक्ष्मीखोला-चखेल-मातातीर्थ-काठमाडौं गरी तीन वटा वैकल्पिक मार्ग आइतबार साँझबाटै सञ्चालनमा आएका थिए । कुलेखानी-मार्खु-चित्लाङ-चन्द्रागिरी-थानकोट सडक भने बुधबारदेखि नै खुलाइएको थियो ।