महिला हिंसाको घटनाले सबै पुरुष पीडक हुन् र पुरुष हिंसाको घटनाले सबै महिला पीडक हुन् भन्न सकिँदैन । यसै गरी एउटा जाति, दल, रङ र देशको मान्छेले हिंसा गर्यो भने त्यो जाति, रङ र देशका मान्छे सबै पीडक वा अपराधी हुँदैनन् । हिंसा परिस्थितिले उब्जिएको अपराध हो, जोसुकैले पनि गर्न सक्छन् । गाउँघरको समाजमा त्यस्ता अपराधका सङ्केत छिटपुट देखिन्छन् । कति रोकिन्छन् पनि कति घट्ने गर्छन्, जुन समाजको विकास सँगै अगाडि बढिरहेका हुन्छन् । किनकि मान्छे भएर त त्यहाँ झगडा हुन्छ, समाज भएर त त्यहाँ अपराध हुन्छ तर सहर र सभ्य समाजमा अपराध छिट्टै बाहिर देखिँदैनन् । एकै पटक विस्फोट हुन्छन् र संसारभरि फैलन्छन् । यो समयको गतिसँगै अगाडि बढिरहेको हुन्छ । यसलाई निर्मूल गर्न सकिँदैन तर न्यूनीकरण गर्न चाहिँ अवश्य सकिन्छ, गर्नु पर्छ । विकसित देशमा भएको एउटा घटना पनि एकै छिनमा विश्वभर नै फैलन्छ भने अविकसित देश वा विकासले पछि परेका देशका कतिपय घटना, घटनासँगै हराएर जान्छन् । विकसित देशमा भएका अपराधका घटनामा (अपवादबाहेक) अपराधी फेला पारिन्छ, समातिन्छ तर विकासोन्मुख देशमा अपराधीले सजिलै उन्मुक्ति पाएको समाचार सुनिन्छ ।
शिक्षाको विकास हुँदै जाँदा समाज वा राष्ट्र सम्पन्न हुँदै जान्छ । त्यहाँ अपराध पनि घट्दै जाने अनुमान गरिन्छ तर परिणाम त्यसरी आउँदैन । विकासका साथै अपराध पनि बढ्ने गर्छन् र त्यस्ता देशको पहिलो दृष्टि नै अपराध नियन्त्रण रहेको हुन्छ । मानव सुरक्षा तथा अपराध नियन्त्रणका लागि ठुलो रकम पनि खर्च भइरहेको हुन्छ । जति विकसित देश छन्, त्यति स्वतन्त्रता पनि हुन्छ । सानो विवादबिच पनि जघन्य अपराध हुने गर्छन् । भर्खरै मात्र हामीले अमेरिकाका केही जघन्य अपराधका समाचार सुनेका थियौँ । अमेरिकाको भर्जिनियामा बस्ने नेपाली महिला ममता काफ्ले हराएको घटना (श्रीमान्ले नै हत्या गरी बेपत्ता पारेको आशङ्का गरिएको), अमेरिकाकै टेक्सास राज्यमा एक अर्की नेपाली महिला मुना पाण्डेको आफ्नै कोठाभित्र गोली हानी हत्या भएको घटना, अमेरिकाकै जर्जिया सहरको एउटा विद्यालयमा त्यहीँकै एउटा विद्यार्थीले गोली चलाउँदै दुई जना विद्यार्थी र दुई जना शिक्षक ठहरै भएको घटना, मेरिल्यान्डको एक स्कुलमा विद्यार्थीले गोली चलाउँदा अर्को विद्यार्थी ठहरै भएको घटना । यी उदाहरण मात्र हुन् । यस्तै गोली काण्डका घटना पनि यहाँ हुने गरेका छन् । विश्वभरमा पनि यस्ता कैयौँ घटना दिनहुँ सुन्छौँ ।
अन्य अपराधको तुलनामा हत्या अपराधलाई जघन्य अपराध मानिन्छ । धेरै जसो हत्या अपराध आपसी विवादबाट जन्म हुन्छ भने केही लोभलालचबाट जन्म हुन्छ । आपसी विवादबाटै जन्मिने अपराध नियन्त्रण गर्न सकिन्छ तर निर्मूल गर्न सकिँदैन । कतिपय अपराध समय र परिस्थितिले जन्माउँछ । अर्थात् अपराध गर्न प्रेरित गर्छ भने कतिपय अपराध मान्छेको मस्तिष्क वा सोचले जन्माउँछ । यो एक किसिमको पागलपन हो, जसको पहिचान भए उपचार गरेर केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । एउटा तथ्याङ्क अनुसार अहिले विश्वमा सबैभन्दा बढी अपराध हुने देशमा (प्रतिएक लाख जनामा) भेनेजुएलामा ८२.१, पपुवा न्युगिनीमा ८०.४, अफगानिस्तानमा ७८.४ जनाले अपराध गर्छन् । हाइटी, साउथ अफ्रिका, होन्डुरस, ट्रिनियाड एन्ड टोब्याको, सिरिया, गुयाना तथा पेरु देश अपराध हुने देशको माथिल्लो सूचीमा पर्छन् । त्यस्तै चिनमा ६०.८० (२६ औँ), अमेरिका ४९.२० (५७ औँ) भारत ४४.४० (८० औँ) र नेपाल ३७.५० (९७ औँ) जनाले अपराध गर्ने सूची रहेको छ । त्यसै गरी सबैभन्दा कम अपराध हुने देशमा (प्रतिएक लाख जनामा) आइसल्यान्ड ११.१२, डेनमार्क १.३१, आयरल्यान्ड १.३१ छन् भने न्युजिल्यान्ड, अस्ट्रिया, सिङ्गापुर, पोर्चुगल, स्लोभेनिया, जापान तथा स्विट्जरल्यान्ड पनि कम अपराध हुने देशको सूचीमा पर्छन् । अमेरिकामा २०२२ को रेकर्ड अनुसार सबैभन्दा बढी अपराध हुने राज्यमा क्यालिफोर्निया, टेक्सास र इलिनोए क्रमशः पहिलो, दोस्रो र तेस्रो सूचीमा पर्छन् भने कम अपराध हुने राज्यमा भरमोन्ट, रोडेआइल्यान्ड र आयोमी क्रमशः पहिलो दोस्रो र तेस्रोमा पर्छन् ।
एउटा रेकर्ड अनुसार विश्वमा महिलाभन्दा पुरुष नै बढी अपराधमा संलग्न भएको देखिन्छ । विशेष गरी हत्या, बलात्कार तथा डकैती जस्ता हिंसात्मक अपराधमा पुरुषको संलग्नता बढी छ । आर्थिक अपराध जस्तो चोरी, ठगी, तस्करी तथा सङ्गठित अपराधमा भने महिलाको संलग्नता बिस्तारै बढ्दै गएको देखिन्छ । अपराध कम हुने देशमा कडा कानुन तथा हातहतियारको निगरानी तथा नियन्त्रण रहेको छ । त्यहाँ नैतिक शिक्षा दिइनुका साथै रोजगारीको पनि उचित व्यवस्था छ । प्रविधिको उपयोग तथा न्याय सम्पादन प्रणालीसमेत बलियो छ । यो नै अपराध नियन्त्रणको आधार हो । देशमा भएको गरिबी कुशासन, अराजकता, राजनीतिक अस्थिरता पनि अपराधको उत्प्रेरक तìवका रूपमा लिन सकिन्छ ।
अमेरिका, चीन, भारत जस्ता विकसित देश पनि अपराधको सूचीमा नेपालभन्दा माथि नै देखिन्छन् । अपराधको रेकर्ड हेर्दा कुनै लिङ्ग, जाति, धर्म, स्थान र विकसित अविकसित देशविशेषको बढी वा घटी देखिएला तर त्यो अपराधको मापन होइन, यो त एउटा अपराध गर्ने मान्छेभित्र भएको हिंसात्मक प्रवृत्ति तथा पागलपन वा अहङ्कार, रिसराग, द्वेष र लालचले गर्ने गर्छ । अपराधलाई दीर्घकालमा आध्यात्मिक तथा नैतिक शिक्षाको ज्ञानबाट समेत केही मात्रामा नियन्त्रण गर्न सकिन्छ तर कडा कानुन, शान्ति सुव्यवस्था तथा निष्पक्ष न्याय प्रणाली नै अन्तिम उपाय हो । त्यसको विकल्प अहिलेसम्म कहीँ देखिएको छैन ।