हिउँदमा दैलो बन्द गरेर छाडिएका घरहरू खुला छन् अहिले । कात्तिक/मङ्सिरदेखि माघ/फागुनसम्म मरेको सर्प जस्ता सुनसान बाटाघाटामा चहलपहल छ । बाउबाजेका पालाको ग्रामीण जीवनको वास्तविक अनुभूति गर्न पाउँछन् सहरबजारमा हुर्केका नवपुस्ताले यतिखेर ढोरपाटनमा । यतिखेर मनाङ–मुस्ताङको प्राकृतिक छटाको वैकल्पिक दर्शनीय गन्तव्य हो बागलुङको ढोरपाटन । पोखरा–बागलुङ हुँदै होस् वा भैरहवा, बुटवलबाट मोटर वा मोटरसाइकल चढेर पुग्न सुलुत्त परेको पाटन (समथर भूमि) र सिमलकाँडे डाँडाहरूबिचमा पशु चरन खर्क (ढोर) का घाँसे चौर (बुकी) को समष्टि ढोरपाटन । डाँडाबिचमा एउटा पाखो हराभरा अर्को पाखो सुनौला रङको निर्जर जस्तो । हिउँदमा हिउँ पर्ने, जम्ने लेक तलको फाँट/चौर वर्षमा अनेक रङका वनफूलले ढपक्कै ढाक्छ । हिउँदमा माथि लेकतिर चढेपछि सेतो टोपी लगाएका नेपाली शीर जस्ता हिमचुली र बर्खामा वनफूलको प्राकृतिक बगैँचा हेर्न पाइन्छ, ढोरपाटन पुग्दा ।
ढोरपाटन दुई हजार आठ सय मिटरभन्दा बढी उचाइमा रहेको जलजलादेखि निसेलढोरसम्मको खोर जस्तो एउटा उपत्यका । पूर्व म्याग्दी, जलजलातिरबाट उत्तरतर्फ आई निसेलढोरबाट पश्चिमतिर लागी भेरी बन्ने उत्तरगङ्गा खोलाको जलाधार क्षेत्र । काठ, ढुङ्गा, माटोबाट निर्मित होचा घरहरू । यहाँको बस्ती मौसमी हो, फागुन लागेपछि आलु खेतीपाती लगाउने मानिसहरू आउने, जाडोमा घरगोठमा ताला लगाएर वस्तुभाउ, सम्पत्तिसहित तल बोबाङतिर झर्ने । हरेक परिवारको जग्गा र घर यहाँ र तल बोबाङ गाउँतिर हुन्छन् । अहिले आलु, स्याउलगायतको उब्जनी थान्कोबान्को लगाएर अब बोबाङतिर झर्नेहरूको लस्कर देखिन्छ ।
सत्र वर्षअघि हिँडेर पुग्नुपर्ने ढोरपाटनमा विसं २०७० पछि चारपाङ्ग्रे सवारीसाधन छिरे । ढुङ्गाको पर्खाल र काठको छाना भएका दुई हजार पाँच सय घरधुरी जाडो सुरु भएपछि एकाध कुरुवाबाहेक सबै तल धुजी खोलातिरको घरजग्गामा पुग्थे, अहिले हिउँले ढाकिँदा पनि बस्ती शून्य हुँदैन । बरु होटेल व्यवसायी पर्यटक पाहुनाको प्रतीक्षामा रहन्छन् । पक्की घर बनेका छन् । न्याना होटल, घरबास सञ्चालन भएका छन् । उतिखेर आठ/दस हजार घोडा/खच्चड थिए अहिले सडक सुविधाका कारण त्यो व्यवसाय घटेर दुई सयको हाराहारीमा मात्र घोडा/खच्चड छन् । पहिले यहाँस्थित तिब्बती शरणार्थी क्याम्पका तिब्बतीले नै धेरै घोडा/खच्चड पाल्थे तर अहिले ती शरणार्थी पनि धेरै अन्तै गए । जसले घोडा पालेका छन् पर्यटन प्रवर्धन हुँदै गरेको देखेर आम्दानीको विश्वासमा छन् ।
पहिले बस्ती जस्तै विद्यालय पनि अस्थायी थिए अहिले निजी स्कुलसमेत छन् । यही नगर अस्पताल निर्माणाधीन छ । खानेपानी सुविधा छ भरपर्दो विद्युत् आवश्यक छ । विसं २०४०/४२ तिर चीनको सहयोगमा पोखरा–सुर्खेत राजमार्ग बन्ने योजनाको चर्चा भएपछि मात्र व्यक्तिले जग्गा दर्ता गरी ढुङ्गाको पर्खाल र काठले जग्गा घेरेर राखिएको यो ठाउँ ढोरपाटन सिकार आरक्षको मुख्य आकर्षण नाउरका सिकारीको गन्तव्यबाट आन्तरिक पर्यटकको गन्तव्य हो । पहिला स्थानीयलगायत म्याग्दी, रुकुमका पशुपालकको चरिचरन खर्क, पशुबाटै लिइने आम्दानी । अब पर्यटक खर्क र पर्यटन नै मुख्य आयस्रोत उन्मुख छ । ढोरपाटन पर्यटन प्रवर्धन विकास संस्था, होटेल रेस्टुरेन्ट व्यवसायी सङ्घ जस्ता सङ्गठित प्रयास सक्रिय छन् ।
जलजलाको डिल होस् वा चार हजार मिटर उचाइमा रहेको फुर्से टीकाधारा देउरालीमा पुगेर पूर्वोत्तर हेर्दा वाह ! सामुन्ने देखिन्छन् पुठा, चुरेन, मानापाथी, धवलागिरि, नीलगिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ«े हिमशृङ्खला । आँखाको नजर तल पार्दा कालीगण्डकी जलाधारका लुलाङ, लुम्चुङ, फल्ले, दरबाङ, मालढुङ्गातिरका पाखेबस्ती, हरिया फाँटपाखा, अनि ४० डिग्री तानेर पहाडका अन्तिम बस्तीसम्म पुर्याइँदै गरेका सडक रेखाहरू । खर्कहरूमा चर्दै गरेका भेडाबाख्रा, भैँसी, घोडाको लस्कर मनहर्षक दृश्य हुन्छ ।
२०५२ पहिले मुस्ताङ गएका विदेशी पर्यटक हिमाल पार गरेर यहाँ आउँथे र यही बाटो डोल्पा पुग्थे । सशस्त्र द्वन्द्व सुरु भएपछि असुरक्षाका कारण पर्यटक आउन हिँड्न छाडे । शान्ति प्रक्रिया सुरु भएपछि ‘गुरिल्ला ट्र्याक’ भनेर पदमार्ग घोषणा गरियो तर पर्यटन व्यवसायीले यता पर्यटक पठाएका छैनन् । बरु पोखरा, बुटवल, भैरहवातिरबाट आन्तरिक पर्यटक आउने गरेका छन् । सानाठुला गरी २५ वटा होटेल/होमस्टे छन् । भदौ अन्तिमदेखि मङ्सिरसम्म भरिभराउ हुन्छन् यी होटेल । दैनिक तीन सय जनाको आवतजावत चल्छ । तीमध्ये ८० प्रतिशत उपत्यकामा रमाउँछन्, २० प्रतिशत जलजलातिर पुगेर हिमाली दृश्यावलोकन गर्छन् ।
यहाँ जलजला होस् वा डखर्क, फुर्से टीकाधारा लेकतिर जान होस्, घोडचढी सुविधा छ । ढोरपाटनको एउटा मज्जा घोडचढी पनि हो । जलजला वा डखर्कतिर जाँदा होस् वा उपत्यकामै रमाउँदा घोडा सवारीको साधन बन्छ । बहुसङ्ख्यक दलित, मगर अनि बाहुन, क्षेत्रीको समाज रहेको ढोरपाटन उपत्यका सामाजिक, भाषिक, पर्यावरणीय अध्ययनको ठाउँ पनि हो ।
मौसमी बसाइ हुने गरेको ढोरपाटनमा यतिखेर बसाइँसराइको समय आएकाले अरू वस्तुभाउ डोर्याउँदै भारी बोकेर धुजी खोला, बोबाङतिर झरे पनि बस्तीको रखबारी गर्ने, आगन्तुकलाई स्वागत गर्नेहरू यहीँ हुन्छन् । पछिल्लो समय त केही रूपान्तरकारी युवा यहीँ बसेर इलम पौरख देखाइरहेका छन् । होटेल व्यवसायी सङ्घ, पर्यटन प्रवर्धन विकास संस्थालगायत स्थापना गरेर सङ्गठित रूपमा पर्यटन विकासमा लागेका छन् जीवन पुन, कुशल विक, वेगबहादुर विक, सीता भारलगायतका सचेत युवा । यी सामाजिक कार्यकर्ताको राजनीतिक निराशा तर व्यावसायिक आशाका कुरा सुन्दा लाग्छ, पर्यटनले समाज रूपान्तरण गर्न सक्छ । स्याउ खेती, टनेल खेतीको सुरुवात भइसकेको यहाँ युवाको विदेश रुचिका कारण पशुपालन घट्दो छ तर राज्यले खर्क पशुपालनलाई पनि अनुदान, घरेलु उद्यम र पर्यटनको प्रवर्धन गर्दा युवाले समृद्धि यहीँ देख्न थाल्ने छन् ।