भावना व्यक्तिले अनुभूति गर्ने कुरा, निजको चेतना वा मनस्थिति जनाउने शब्द हो, जसमा हामी प्रेम, आनन्द, दुःख, घृणा वा क्रोधको अनुभव गर्छौं । प्रत्येक व्यक्तिको व्यक्तित्वमा एक तर्कसङ्गत र भावानात्मक पाटो रहेको हुन्छ । कुनै व्यक्तिलाई जान्न बुझ्न निजको बौद्धिक र भावनात्मक बनावट बुझ्न आवश्यक हुन्छ ।
हाम्रो दैनन्दिनी कार्यव्यवहारमा हामीसँग दुई सोचाइ राख्ने दुई मस्तिष्क, यो गर्नेकी त्यो गर्ने दुई मन (दोमन) र दुई अलग अलग प्रकारको तर्कसङ्गत र भावनात्मक बुद्धि हुने कुरा हामीले स्वीकार गरिरहेका छौँ । डानियल गोलमेनका लेख र इथिक्स फर सिभिल सर्भिसेज पुस्तकमा उल्लेख भए अनुसार जीवनमा सफलता भावानात्मक र तर्कसङ्गत बुद्धि दुइटैले निर्धारित गर्छ । यसको मापन बुद्धिमत्ता स्तर (आइक्यु) को रूपमा परीक्षण गरेर गर्ने गरिन्छ । हामी सबै साट (स्कलास्टिक एसेसमेन्ट टेस्ट), क्याट (कमन एड्मिसन टेस्ट), जिम्याट (ग्य्राजुएट म्यानेजमेन्ट
एड्मिसन टेस्ट) र जिआरइ (ग्य्राजुएट रेकर्ड एग्जामिनेसन) जस्ता प्रवेश परीक्षाहरूसँग परिचित छौँ । यी सबैले परीक्षार्थीको मौखिक, विश्लेषणात्मक, तार्किक र गणितीय कौशलको परीक्षण गर्छ । यी परीक्षामा प्राप्त अङ्कले परीक्षार्थीको भविष्यको विद्वतवृत्ति (करिअर) निर्धारण गर्छ भन्ने विश्वास गरिन्छ ।
जीवनमा सफलता सुनिश्चित गर्न केवल आइक्यु मात्रै पर्याप्त हुँदैन; सफलता भावनात्मक बुद्धिमत्तामा पनि निर्भर गर्छ । मनोवैज्ञानिक शोधबाट जीवनमा सफलता निर्धारण गर्ने कारकमा आइक्युको योगदान केवल २० प्रतिशत हुन्छ भने भावनात्मक बुद्धिमत्ताले शेष ८० प्रतिशत पूरा गर्छ भन्ने छ । यस प्रकार एउटा राष्ट्रसेवक सफल हुनका लागि आइक्यु र भावनात्मक बुद्धिमत्ताको सन्तुलन हुन आवश्यक छ । राष्ट्रसेवकका जिम्मेवारीमध्ये सेवाग्राहीलाई सन्तुष्ट पार्नु प्रमुख हो र यसका लागि सेवाग्राहीको भावना र व्यवहारको प्रक्रियालाई बुझ्ने, बोध गर्ने गुण अत्यावश्यक हुन्छ । सेवाग्राहीका सबै काम वा चाहनाहरू उतिखेरै, सेवाग्राहीले भनेबमोजिमकै तौरतरिकाले पूरा हुन सक्दैन तर राष्ट्रसेवकले निजलाई सन्तुष्ट पार्ने गरी तार्किक र व्यावहारिक प्रतिक्रिया निजको भावना र व्यवहार बुझेर दिनसक्नु पर्छ । सेवग्राही सन्तुष्ट हुनु पर्छ, प्रेरित हुनु पर्छ र यसका लागि समग्र व्यवस्थामा तारतम्य मिलाउनु पर्छ । भावनात्मक बुद्धिमत्ता स्वयम्को भावनाका साथसाथै अर्काको भावनालाई बोध गर्ने, बुझ्ने क्षमता पनि हो । अर्काको भावना निजको मौखिक र अन्य चालढाल एवं प्रस्तुतिबाट बुझेर आफ्नो भावनाको सटिक आकलन गर्ने क्षमता हो ।
बुद्धिमत्ता एक आयामी कौशल होइन । विज्ञहरूले सात प्रकारका बुद्धिमत्ताको पहिचान गरेका छन् : तार्किक, भाषागत, स्वतः संवेदनशील, सङ्गीतमय, पारस्परिक भाव र आन्तरिक भाव । अन्तिम दुई वटाले भावनात्मक बुद्धिमत्ताको गठन गर्छन्, जसलाई यस्तो क्षमताको रूपमा परिभाषित गरिएको छ, व्यक्तिमा रहेको यस्तो क्षमता जस्तो कि आफूलाई प्रोत्साहित गर्नु, नैराश्यको क्षणमा पनि आफूलाई प्रेरित गरी राख्नु, आवेगमाथि नियन्त्रण राखिराख्नु, आत्मसंयम बनाई राख्नु, आफ्नो मनस्थितिलाई काबुमा राख्नु, आफ्नो सोचविचार गर्ने क्षमता र भविष्यप्रतिको उमेदलाई आच्छादित नगर्ने गरी तनाव र चिन्तालाई आफूमाथि हाबी हुन नदिनु । यी सबै सकारात्मक गुणहरू हुन्, जसले जीवनलाई लक्ष्य प्राप्ति र पूर्णतातिर डो¥याउँछ । पारस्परिकताको भाव नै त्यस्तो गुण हो, जसबाट अरूलाई अपेक्षाकृत राम्रोसँग बुझ्न सकिन्छ । यस अन्तर्गत अरूलाई प्रेरित गर्ने कुरा, कसरी काम गर्छ, स्वभाव, प्रेरणाहरू, इच्छाहरू र मनोदशा अनुकूल काम गर्ने क्षमता भनेर बुझ्न सकिन्छ । आन्तरिक बुद्धिमत्तामा स्वयम्का बारेमा जागरुकता, स्वयम्को भावना बुझ्ने र हाम्रो व्यवहारलाई प्रभावित गर्ने कारकहरूलाई बुझ्ने क्षमतासमेत पर्छ ।
निजामती कर्मचारी प्रतिस्पर्धात्मक र कठिन लोक सेवाको परीक्षा उत्तीर्ण गरेका हुन्छन् । निजहरूमा उच्चस्तरको बौद्धिक क्षमता हुन्छ । तथापि वास्तविक जीवनमा त्यसको प्रदर्शन अलग प्रकारले हुन्छ । परीक्षाको योग्यताक्रममा उच्चतम भएर पनि पेसागत जीवनमा कतिपय कर्मचारी सफल नभएको पाइन्छ । सेवा प्रवाहको क्रममा सबैभन्दा महत्वपूर्ण गुण भनेको सेवाग्राहीसँग अपेक्षाकृत राम्रो तौरतरिकाले तालमेल मिलाउन सक्ने क्षमता हुनु पर्छ । भावानात्मक बुद्धिमत्ताको अर्थ अरूसँग त्यस्तो व्यवहार गर्नुस् कि अरूले तपाईंलाई गरिदियोस् भन्ने चाहनु हुन्छ । त्यसैले एक कर्मचारीको भावनात्मक बुद्धिमत्ता निजको सफलता निर्धारित गर्ने कारक हो ।
आज कर्पोरेट जगत सफल सङ्गठन प्रबन्धकका अतिरिक्त नेतृत्वकर्तालाई प्राथमिकता दिन्छ । निजामती सेवामा पनि यस्तै मानिसको आवश्यकता छ । आजका निजामती कर्मचारीले केवल याथास्थितिलाई नियन्त्रण र नियमन गर्नेमा सीमित नरही प्रभावी नेतृत्व गर्न सक्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने हुनु पर्छ । भावानात्मक बुद्धिमत्ता एक नेतृत्वकर्ता हुनका लागि मूलभूत पूर्वापेक्षित विशेषता हो । नेतृत्वकर्ताले आफ्नो टिमलाई एक लक्ष्य पूर्तिका लागि प्रेरित गर्न सक्षम हुन पर्छ । टिम समक्ष आफ्नो इमानदारी र सत्यनिष्ठाद्वारा एक दृष्टान्त प्रस्तुत गर्न सक्नु पर्छ र टिम सदस्यले निजलाई रोल मोडल मानुन् । सच्चा नेतृत्वकर्ताले सहभागितामूलक तरिकाबाट काम गर्न सक्नु पर्छ, जसले सहकर्मीहरू आफ्नो विचार प्रस्तुत गर्न प्रोत्साहित होउन् र आमसहमतिमा निर्णयमा पुग्न सकियोस् । यसरी गरिएको निर्णय अक्षरशः कार्यान्वयन गर्न सहकर्मीलाई प्रेरित र प्रोत्साहित गर्ने क्षमता हुनु पर्छ । आफ्ना सहकर्मीहरूलाई प्रेरित र प्रोत्साहित गर्न सक्ने भावनात्मक बुद्धि भएको सच्चा नेतृत्वकर्ता निजामती कर्मचारी आजको आवश्यकता हो ।
राष्ट्रसेवकमा हुनुपर्ने अर्को गुण आफ्ना दृष्टिकोण र विचारलाई आमसेवाग्राहीसम्म पु¥याउन सक्ने क्षमता र निजहरूको गुनासालाई बुझेर निरूपण गर्न सक्ने खुबी हो । सञ्चार दोहोरो प्रक्रिया हो । कर्मचारीमा राजनीतिक नेतृत्व र सेवाग्राहीसँग प्रभावी ढङ्गले संवाद गर्ने क्षमता हुनु पर्छ । लेखेर र बोलेर सञ्चार गर्न सक्ने क्षमता निजमा हुन पर्छ । सञ्चारको सबैभन्दा महìवपूर्ण पाटो राष्ट्रसेवकको अरूको कुरा सुन्ने र निजको भावना र दृष्टिकोण बोध गर्ने क्षमता हो । यो समानुभूति हो, जुन भावनात्मक बुद्धिमत्ताको अनिवार्य गुण हो । सेवाप्रदायकको रूपमा कर्मचारीले सेवाग्राहीसँग भेट गर्नु पर्छ, निजहरूको गुनासा सुन्नु पर्छ । यस्तो अवस्थामा राष्ट्रसेवकले ठिक वा मनासिब प्रतिक्रिया दिन निजमा भावनात्मक बुद्धिमत्ता विकास गर्न सकेको हुनु पर्छ । गुनासो गर्ने सेवाग्राहीलाई आफ्नो समस्या त्यस बेलाका लागि सबैभन्दा गम्भीर हुन्छ र राष्ट्रसेवकसँग आफ्ना कुरा सुनिदेयोस्, समस्याउपर ध्यान दियोस्, कारबाही गरिने कुरामा आश्वस्त पारियोस् र सुल्झाउनका लागि भरमग्दुर प्रयास गरिने छ भन्ने निजले उम्मेद राख्छ । जागरुकता र समानुभूति भएको राष्ट्रसेवकले मात्र यस्तो गर्न सक्छ ।
एक राष्ट्रसेवकले आफ्नो क्रोध नियन्त्रित गर्न सक्नु पर्छ र आफू तनावमा भएको आभास कदाचित् अरूलाई हुन दिन हुँदैन । यसका लागि उच्चस्तरको आत्मजागरुकता र आत्मनियमनको आवश्यकता पर्छ । हामी धेरै आफूलाई नियन्त्रित गर्न सकिरहेका हुँदैनाँै, आफ्ना कनिष्ठ सहकर्मीप्रति रिस पोख्छौँ र निजहरूको आफूप्रतिको सम्मान र विश्वासलाई गुमाउँछौँ र सामूहिक लक्ष्यमा पुग्न सक्दैनौँ, चुक्छौँ । राष्ट्रसेवकले सबै परिस्थितिमा शान्त र स्थिरचित्त रहनु आवश्यक छ । खास गरी शान्ति सुरक्षाका लागि जिम्मेवारी लिएका राष्ट्रसेवकले हिंस्रक भीडको सामना गर्नु पर्छ । यस्तो अवस्थामा नेतृत्वकर्ता नै तनावग्रस्त भएर आफूलाई नियन्त्रित गर्न नसक्दा स्थिति थप जटिल भएर जान्छ ।
उच्च भावनात्मक बुद्धिमत्ता भएको व्यक्ति शान्त रहन्छ । उल्लिखित सङ्कटको क्षणमा सही निर्णय लिन सक्षम हुन्छ र आफ्ना टिमका सहकर्मीलाई अझ राम्रो गर्ने प्रेरित गर्नमा सक्षम हुन्छ । टिममा टिमका सदस्य हमेसा आफ्नो नेतृत्वकर्ताको मुख ताक्छन् र निजको इसारामा काम गर्छन् । भावानात्मक बुद्धिमत्ताको कमी भएका राष्ट्रसेवकमा आत्मविश्वासको कमी हुन्छ र टिम वर्कमा भएका कमीकमजोरीलाई सहकर्मीको कारणले भएको दोषारोपण गर्ने गर्छन् । यस्तो दोषारोपण बाह्य व्यक्तिको सामु गर्दा त्यसको प्रत्युत्पादक परिणाम हुन्छ । कुनै गल्ती वा कमीकमजोरी हुँदा पनि एकान्तमा सम्झाइ बुझाइ गर्नु भावनात्मक बुद्धिमत्ताको पहिचान हो ।
राष्ट्रसेवकलाई सेवाग्राहीले अभिमानी, घमण्डी, असंवेदनशील र यदाकदा असभ्य भन्ने गर्छन् । यी सबै नकारात्मक गुण हुन्, जसले राष्ट्रसेवकमा भावनात्मक बुद्धिको कमीलाई उजागर पार्छ । राष्ट्रको सर्वसञ्चित कोषबाट मेहनताना पाउने र जनसेवा गर्ने कसम खाएका राष्ट्रसेवक हमेशा विनम्रता, सज्जनता र संवेनशीलताले सेवाप्रवाहमा दत्तचित्त रहनु पर्छ । राष्ट्रसेवक नागरिकको सेवक हो, सेवक भएर सेवा प्रवाह गर्नु पर्छ, हाकिमी रबाफ, फूर्ति र बडप्पन देखाउने होइन । यसका लागि आत्मसंयम, सत्यनिष्ठा र सहानुभूतिको आवश्यकता पर्छ र यी सबै भावनात्मक बुद्धिका गुणहरू हुन् ।
उच्च भावनात्मक बुद्धिमत्ता भएको राष्ट्रसेवक हमेसा अरूको तारिफ गर्न तत्पर हुन्छ । हाम्रो प्रणालीमा अरूको कुरा काट्नु, आलोचना गर्नु र समय बिताउनु सामान्य मानिन्छ, प्रशंसा गर्नमा सदैव कञ्जुस्याँइ गरिन्छ । ईष्र्या, द्वेष जस्ता निकृष्ट भावनाले व्यक्तिमा तनाव ल्याउँछ, व्यक्तिलाई अलोकप्रिय बनाउँछ र अन्ततः राष्ट्रसेवकको प्रदर्शनलाई प्रभावित पार्छ । खास गरी राजनीतिक नेतृत्वसँगै रहेर काम गर्नुपर्ने राष्ट्रसेवकले संयमता अपनाउनु पर्छ । राजनीतिक नेतृत्वसँग परस्पर संवादलाई ठिक तरीकाले सम्हाल्नका लागि भावनात्मक परिपक्वताको आवश्यकता धेरै पर्छ । जनप्रतिनिधिलाई उच्च आदर गर्नु र देखाउनु पर्छ तर कानुनको शासन र संविधान र जनप्रतिनिधिले निर्माण गरेको ऐनका प्रति आफ्नो निष्ठालाई पनि अन्यथा गर्नु हुँदैन । यस्तो अवस्थामा उच्च स्तरको भावनात्मक बुद्धिमत्ताको आवश्यकता पर्छ । जनप्रतिनिधि गलत गर्छन्, निर्वाचन क्षेत्रलाई मात्र ध्यान केन्द्रित गर्छन् भन्ने धारणा राख्नु हुँदैन । नेतृत्वको भनाइलाई ध्यानपूर्वक सुनेर बुझेर समाधानका विकल्प दिने जिम्मेवारी राष्ट्रसेवकमा रहन्छ ।
सार्वजनिक सेवा प्रवाहमा गरिब, निरक्षर, निमुखा, महिला, बालबालिका र अल्पसङ्ख्यक लैङ्गिक वर्ग र समुदायप्रति संवेदनशीलता नदेखाउनु निम्नस्तरको भावानात्मक बुद्धिमत्ताको सङ्केत हो । राष्ट्रसेवकमा सहानुभूति र करुणाको अभाव हुनु दुर्भाग्य हो । राष्ट्रसेवक आफूले गरेको व्यवहारलाई सेवाग्राहीले कस्तो महसुस गरिरहेको छ भन्ने कुरा बुझ्न सक्षम हुनु पर्छ । यो भनेको आफूलाई उक्त सेवाग्राहीको स्थानमा राखेर हेर्नु हो, यदि म सेवाग्राहीको ठाउँमा भएको भए कस्तो महसुस गर्ने थिएँ वा के अपेक्षा राख्ने थिएँ ? सेवाग्राहीको भावना अनुरूप प्रतिक्रिया देखाइएको छ भने निजसँग सम्बन्ध विकास गर्न मद्दत पुग्छ । उच्च आइक्यु भएको राष्ट्रसेवकको व्यवहार परिपक्व, शान्त, आत्मविश्वासी र अरूको अप्ठ्यारोलाई आफ्नै सरह बुझ्ने हुन्छ । आजको आवश्यकता सेवाप्रवाह नागरिक अनुकूल हुनु पर्छ र निर्णय लिने प्रक्रियालाई विकेन्द्रित गरिनु पर्छ ।