• १५ असोज २०८१, मङ्गलबार

संयुक्त सरकारको साझा कार्यक्रम

blog

सन्तोष सुवेदी 

कास्की, असोज १५ गते । गण्डकी प्रदेश सरकारले जनभावना अनुरूप प्रभावकारी रूपमा सञ्चालन गरी ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’ को सोचलाई मूर्त रूप दिने सङ्कल्पसहित साझा कार्यक्रम बनाएको छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच गत भदौ १७ गते संयुक्त सरकार गठन भएको सन्दर्भमा साझा कार्यक्रम बनाइएको हो ।

समुन्नत प्रदेशका लागि प्रभावकारी सार्वजनिक सेवाको मूल मर्मलाई आत्मसात् गर्दै नीतिगत एवं संरचनात्मक सुधार गरी सेवा प्रवाहलाई चुस्त, गुणस्तरीय र नतिजामुखी बनाइने उल्लेख गरिएको छ । कोरलादेखि त्रिवेणीसम्मको सडक निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइने छ । व्यापारिक प्रयोजनका लागि आवश्यक पूर्वाधारसहित छिमेकी राष्ट्रसँगको सीमानाका नियमित गर्न विशेष पहल गरिने समावेश गरिएको छ । 

“स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ र पहुँचयोग्य बनाउन स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै स्वास्थ्य पूर्वाधार निर्माण तथा जनशक्तिको क्षमता विकासलाई जोड दिइने छ । स्वास्थ्य सचेतना कार्यक्रम विस्तार गरी निरोगी प्रदेशको अवधारणालाई सार्थक तुल्याउन विशेष योगदान पुर्‍याइने छ । 

डायलासिस सेवाका लागि प्रतीक्षारत बिरामीलाई शून्यमा राखिने छ । प्रदेशका ११ वटै जिल्ला अस्पतालको क्रमशः क्षमता विस्तार गर्दै लगिने छ । सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सुविधा पुर्‍याइने छ । सरकारद्वारा निःशुल्क उपलब्ध हुने औषधीको कमी हुन नदिई वितरणलाई प्रभावकारी बनाइने छ,” कार्यक्रममा भनिएको छ । 

सदाचारयुक्त गण्डकी प्रदेश अभियानलाई सार्थक बनाउन भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति कडाइका साथ लागु गरिने छ । कानुनको नजरमा सबै समान हुने सिद्धान्त र जुनसुकै ओहोदाको भए पनि गलत कर्म गर्ने अवश्य दण्डित हुने छन् भन्ने मान्यता स्थापित गरिने छ । सवारी दुर्घटना न्यूनीकरणका लागि पुराना सवारीसाधनको समुचित व्यवस्थापन, पूर्वाधारमा सुधार र यातायात क्षेत्रका जनशक्तिको व्यवहारजन्य शिल्प एवं क्षमता विकास गर्नुका साथै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।

 सुरक्षित यातायात सेवाका लागि आधुनिक ट्राफिक प्रणालीको विस्तार र वैकल्पिक मार्गको स्तरोन्नति गरिने छ । यातायात सेवालाई थप सहज र सर्वसुलभ बनाउन ‘राइड सेयरिङ’ जस्ता सेवालाई कानुनद्वारा व्यवस्थित गरी सञ्चालन गरिने छ । 

आन्तरिक पर्यटन प्रवर्धनका लागि पहिले घरदेश अनि परदेश कार्यक्रम सञ्चालन गरिने छ । नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधीकरण, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहणको प्रवर्धन,  पर्यटकको सेवा तथा तथा सुविधा विकास र विस्तार गरिने छ ।  सार्वजनिक निजी साझेदारीमार्फत पर्यटकीय पूर्वाधार निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ र प्रचारप्रसारमा जोड दिइने छ । 

पर्यटनको समग्र विकासमार्फत आर्थिक विकास र रोजगारी वृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माण र नयाँ पर्यटकीय गन्तव्यको खोजी, व्यवस्थापन एवं प्रचारप्रसार गरिने छ । साथै प्रादेशिक पर्यटन गुरुयोजना तयार गरी क्रमशः कार्यान्वयनमा लगिने छ । पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको सन्दर्भमा ‘पोखरा जाऔँ प्रकृति र संस्कृतिसँग रमाऔँ’ भन्ने मूल मर्मका साथ पर्यटन पूर्वाधार विकासमा विशेष जोड दिइने बताइएको छ ।