• १० मंसिर २०८१, सोमबार

सन्दर्भ : विश्व मुटु दिवस

शरीरको ‘पावर हाउस’

blog

मुटु मानव शरीरको ‘पावर हाउस’ हो, जसले रक्तनलीमार्फत रगत पम्प गरेर शरीरका विभिन्न अङ्ग चलायमान बनाउन मिलेर काम गरिरहेको हुन्छ । अव्यवस्थित जीवनशैली, खानपान र तनावलगायतका कारण मुटुमा समस्या देखिन्छ । 

विभिन्न समस्याका आधारमा मुटुमा समस्या छ कि छैन भनेर परीक्षण र पहिचान गर्न सकिन्छ । बिरामी प्रायः छाती दुखेर आउने हुन्छन् भने कोही सामान्य हिँडडुल गर्दा पनि स्याँ–स्याँ हुने समस्या लिएर आएका हुन्छन् । कसैलाई ढुकढुकी बढ्ने पनि हुन्छ । यस्तो अवस्थामा हामी मुटु रोग हो कि भनेर शङ्का गर्छौं । 

मुटु रोग हो कि भनेर प्रारम्भिक रूपमा पत्ता लगाउने प्रक्रिया भनेको इसिजी जाँच नै हो । यसबाट हृदयाघात पनि थाहा हुन्छ । इसिजीबाट थाहा भएन, तर लक्षण छन् भने इको कार्डियोग्राम, टिमएटी, एन्जिओग्राफी, रगत परीक्षणलगायतका माध्यमबाट पत्ता लगाइन्छ । कहिलेकाहीँ बिना लक्षण पनि बिरामीमा मुटुको रोग देखा पर्छ ।

मुटुमा लाग्ने रोग के–के हुन् ?

मुटुमा विभिन्न खालका समस्या आउन सक्छन् । तीमध्ये एउटा हो–कोरोनरी आर्टरी डिजिज । कोलेस्टेरोललगायतका कारण मुटुमा रगत प्रवाह हुने रक्तनलीमा अवरोध हुने समस्या हो यो, जसले गर्दा हृदयाघात हुने जोखिम हुन्छ । अर्को भल्भसम्बन्धी समस्या हुन्छ । कसैको वंशाणुगत रूपमै मुटुमा प्वाल हुने, मुटु कमजोर हुने, धड्कनसम्बन्धी समस्या हुने हुन्छ । बाथ रोगका कारण पनि भल्भहरू खराब हुँदै जान्छन् । यसै गरी, जन्मजात हुने कतिपय मुटुसम्बन्धी समस्या भने पत्ता लाग्न सकिरहेका हुँदैनन् । यस्ता समस्या पछि कुनै कारणवश परीक्षण गर्दा थाहा हुने हुन्छ । कतिपयको भने गर्भमै थाहा भएको हुन्छ । यसरी हेर्दा मुटु रोगलाई जन्मजात मुटु रोग, बाथ मुटु रोग र जीवनशैलीका कारण वयस्क उमेरमा हुने मुटु रोग गरी तीन खालमा विभाजन गर्न सकिन्छ । 

हृदयाघात

मुटु रोगमध्ये हृदयाघात पनि मानव मृत्युको प्रमुख कारण बन्दै आएको छ । मुटुको रक्तनली विभिन्न कारणबाट बोसो अर्थात् कोलेस्टेरोल जमेर साँघुरो हुने गर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । बिस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढ्छ । मुटुमा रगतको प्रवाह पूरै बन्द हुँदा मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ । यो क्रम लम्बिँदै जाँदा मुटुले काम गर्न छाड्छ, जसलाई हृदयाघात भनिन्छ । हृदयाघात हुँदा छातीको बिच भागमा पीडा हुन्छ । स्याँ–स्याँ हुने, पसिना आउने पनि हुन्छ । यस्तो व्यक्तिले समयमा उपचार नपाए तत्काल मृत्यु हुन सक्छ । कतिपय मधुमेहका रोगीमा विना लक्षण पनि हृदयाघात हुने सम्भावना हुन्छ । हृदयाघात भएकाहरूलाई मेडिकल म्यानेज, एन्जिओप्लास्टी तथा ओपन हर्ट सर्जरीका माध्यमबाट उपचार गरिन्छ । 

हार्ट फेल 

हृदयाघात तथा भल्भको समस्याको समयमा उपचार भएन भने मुटुले काम गर्न छाड्छ, जसलाई हार्ट फेल भन्न गरिन्छ, जुन मुटु कमजोर हुँदै गएर काम गर्न छाड्ने अवस्था हो । 

मुटु रोग लाग्ने कारण

विश्वमा नसर्ने रोग महामारीकै रूपमा वृद्धि भइरहेको छ । त्यसमा पनि मुटुजन्य रोगका कारण बर्सेनि दुई करोडभन्दा बढी मानिसको मृत्यु भइहेको पाइन्छ । नेपालमा पनि स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको एक अध्ययन अनुसार ७१ प्रतिशतभन्दा बढी नागरिकको नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ । 

उच्च रक्तचाप, मधुमेह तथा उच्च कोलेस्टेरोल भएकाहरू, बढी धूमपान गर्ने तथा परिवारका अरू सदस्यलाई मुटु रोग भएकाहरू मुटु रोगको जोखिममा पर्छन् । आजकाल अव्यवस्थित जीवनशैली, खानपान र तनावले पनि मुटु रोग निम्त्याइरहेको छ । प्राकृतिक खानपानको परम्परा हटिसकेको छ । पहिला गाउँघरमा बस्थ्यौँ, काम गथ्र्यौं, त्यसक्रममा शारीरिक अभ्यास हुन्थ्यो । आजकल शारीरिक अभ्यास एकदम कम छ । कार्यालय पनि गाडीमा जाने, कुर्सीमा बसेर काम गर्ने र शारीरिक क्रियाकलाप नहुने गरेको छ तर पनि हाम्रो खानपिन उस्तै छ । चिल्लो बढी भएको खानेकुराहरू खाने, रेस्टुराँमा खाने, जङ्कफुड बढी खाने चलन छ । त्यसले पनि मुटु रोग निम्त्याइरहेको छ । 

कुन उमेर समूहका लागि मुटु रोग लाग्छ ? 

पहिले ४० वर्ष नाघेकामा मुटु रोग देखिने गथ्र्यो । आजकाल यो नै उमेर समूहका लागि मुटु रोग लाग्छ भन्ने छैन । अचेल १८ वर्षकै युवालाई पनि मुटु रोग लागेर एन्जिओप्लास्टी गर्नुपरेका उदाहरण छन् । त्यसैले यो उमेर समूहका लाई मुटु रोग लाग्दैन भनेर ढु्क्क भएर बस्न मिल्दैन । 

नेपालमा उपचार सुविधा 

नेपालमा मुटु रोगका लागि लगभग सबै उपचार सेवा उपलब्ध भइसकेका छन् । नर्भिक अस्पतालमा पनि भारतसहित युरोप, अमेरिकामा उपलब्ध अत्याधुनिक उपचार प्रविधि उपलब्ध छ र समयमै उपचार हुन्छ । विदेशमा मुटुको रोग पत्ता नलागेकामा समेत मुटु रोग पत्ता लगाएर उपचार गरेर पठाइएका उदाहरण छन् नेपालमा । केही समयअघि बेल्जियममा बस्ने नेपाली छाती दुख्ने समस्या लिएर डाक्टरकहाँ गएछन् । डाक्टरले अरू कुनै समस्या नभएको, बरु मानसिक तनावका कारण छाती दुखेको हुन सक्ने भन्दै फिर्ता पठाइदिएछन् । ती व्यक्ति नेपाल आएपछि एन्जिओग्राफी गरेर हेर्दा रक्तनलीमा ९९ प्रतिशत अवरोध भइसकेको रहेछ । त्यसपछि एन्जिओप्लास्टी गरेर सफल उपचारपछि उनी युरोप फर्किए । यसले पनि विदेशमा समेत नहुने उपचार सुविधा नेपालमा छ भन्न सकिन्छ । 

मुटु कसरी जोगाउने ? 

मुटुका बिरामीले विशेषगरी तीन वटा कुरामा ध्यान दिनु पर्छ । खानपान, शारीरिक अभ्यास र मुड । मुड अर्थात् तनावरहित जीवन । खानपानमा चिल्लो, रातो मासु्, चिनी खानुहुन्न । मैदाजन्य खाद्यपदार्थ सकेसम्म खाँदै खानुहुन्न । 

यस्तै, कम्तीमा पनि आधा घण्टा नियमित शारीरिक क्रियाकलाप गर्नु पर्छ । तनावमुक्त जीवन बाँच्न सिक्नु पर्छ । धेरै महत्वाकाङ्क्षा राखेर तनाव लिने काम गर्नु हुन्न । नत्र त्यसले रोग निम्त्याउँछ । यस्तै, मुटु नियमित जाँच गर्नु पर्छ । 

हिँडडुल पनि चेकअप जस्तै हो । एकातिर शारीरिक अभ्यास हुन्छ भने अर्कोतिर हिँडडुल गर्दा छाती दुख्छ, देब्रे हात भारी हुन्छ, दाँत दुखे जस्तो हुन्छ, स्याँ–स्याँ हुन्छ भने मुटु रोग लागेको हो कि भन्ने सोचेर नजिकैको स्वास्थ्य संस्थामा गएर जचाउनु पर्छ । 

–डा. राजभण्डारी वरिष्ठ मुटुरोग विशेषज्ञ हुनुहुन्छ ।   

Author

डा.शेखर राजभण्डारी