• ११ असोज २०८१, शुक्रबार

पर्यटन दिवसमा ‘भिजिट बन्दीपुर’ घोषणा

blog

बन्दीपुरमा घुम्न आएका पर्यटक । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज ११ गते । पहाडकी रानी उपनामले चिनिएको तनहुँस्थित बन्दीपुरलाई  ‘भिजिट बन्दीपुर–२०२५’ घोषणा गरिएको छ । पर्यटन दिवसको अवसरमा बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्धनका लागि घोषणा गरेको हो । 

आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्र्याउने उद्देश्यले घोषणा गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । बन्दीपुरको सुन्दरता बारेमा देशमा विभिन्न ठाउँमा पुगेर घुम्न जाऔं भनेर  गत वर्ष निम्ता गरिसकिएकाले बन्दीपुर भ्रमण वर्ष घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।

बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भइरहेकाले यसको थप प्रचारप्रसार गर्न भ्रमण वर्ष घोषणा गरिएको उहाँले बाउनुभयो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले भिजिट बन्दीपुर–२०२५ मा वर्षभरी यहाँ पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रम गरिने बताउनुभयो । 

समूहमा आउनेलाई आवास, खानामा छुटको व्यवस्था गरिएको उहाँले बताउनुभयो । पर्यटन प्रवर्धनकै क्रममा आगामी माघ महिनामा बन्दीपुरमा अन्तर्राष्ट्रिय साइक्लिङ प्रतियोगिता गरिने उहाँले जानकारी दिनुभयो ।  

हातैले छोएजस्तो लाग्ने हिमशृङ्खलाहरु, दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, प्याराग्लाइडिङ, चट्टाङ्ग आरोहणलगायतले पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।

२०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा स्थानान्तरण भएपछि सुनसान बनेको बन्दीपुर पर्यटनको माध्यमबाट चहलपहल बढेको छ । पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले पहिलो पटक बन्दीपुरमा ‘बन्दीपुर माउन्टेन रिसोर्ट सञ्चालनमा ल्याएपछि पर्यटकीय क्षेत्रको रुपमा विकास हुन मद्दत पुगेको स्थानीय गोवर्धन भट्टराले जानकारी दिनुभयो । 

काठमाडौं, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रको बिचमा बन्दीपुर छ । पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर छ । पृथ्वीराजमार्गमा रहेको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली पक्की सडकको यात्रा गरी पुग्न सकिन्छ । बन्दीपुरमा केवलकार सञ्चालन गरिएको छ । 

पर्यटकलाई थप सहज रुपमा यात्रा गर्न डुम्रे बजारनजिक रहेको ठुलो ढुङ्गोबाट बन्दीपुर जोड्ने केवलकार सञ्चालन गरिएको छ ।