• ११ असोज २०८१, शुक्रबार

बुढ्यौली उपचार सेवा बिस अस्पतालमा

blog

घोराही समाचारदाता 

घोराही, असोज ११ गते । ज्येष्ठ नागरिकको सहज उपचार सेवाका लागि लुम्बिनी प्रदेशका २० अस्पतालमा स्वस्थकर बुढ्यौली उपचार सेवा विस्तार भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग र स्वास्थ्य मन्त्रालय, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको सहकार्यमा प्रदेशका १२ जिल्लाका सरकारी अस्पतालमा परियोजना सुरु भएको हो । 

अस्पतालमा ज्येष्ठ नागरिकको उपचार सेवासँगै दैनिक जीवनशैलीलाई व्यवस्थित गर्ने गरी घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै लुम्बिनी प्रदेशका जिल्लामा रहेका सरकारी अस्पतालमा कार्यक्रमले सहयोग गर्ने छ । कार्यक्रम संयोजक तथा ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलले अहिले ज्येष्ठ नागरिकलाई अस्पतालमा दिँदै आएको सेवालाई थप सहज र प्रभावकारी बनाउन कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । प्रतिष्ठानका कार्यक्रम संयोजक तथा ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. कँडेलले परियोजनामार्फत बुढ्यौलीसँग सम्बन्धित उपचार थप प्रभावकारी बनाउने र त्यसका लागि छुट्टै वडा नं. र तालिम प्राप्त जनशक्तिको व्यवस्था गरिने बताउनुभयो । 

लुम्बिनी प्रदेशका एलोपेथिकसँग सम्बन्धित २० अस्पतालमा सेवा विस्तार गरिएको छ । कार्यक्रम पहिलो चरण सेप्टेम्बरदेखि डिसेम्बरसम्म चल्ने र जसमा २० अस्पतालका प्रमुख चिकित्सक र प्रतिनिधिसँग छलफल गरेर ज्येष्ठ नागरिकको उपचार सेवाको सुधारका लागि पहल गरिने छ । कार्यक्रम संयोजक तथा ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. कँडेलले भन्नुभयो, “अहिले पनि प्रतिष्ठानसहित अन्य सरकारी अस्पतालले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएको छ । त्यो सेवालाई अझै कसरी थप प्रभावकारी बनाउन सकिन्छ र सहजै उपचार सेवा पाउनका लागि कार्यक्रमले सहयोग गर्ने छ ।” त्यसका लागि प्रतिष्ठानमा रहेका तालिम प्राप्त जनशक्तिले प्रदेशका १२ वटै जिल्लामा रहेको अस्पतालमा कार्यरत ज्येष्ठ नागरिकको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई तालिम र प्रशिक्षण दिने छ । जसले गर्दा ज्येष्ठ नागरिकसँग उपचार सेवा र कुराकानीमा सहजता ल्याउने अपेक्षा गरिएको छ । 

उहाँका अनुसार यो कार्यक्रमले अस्पतालमा मात्र नभई समुदायमा पुगेर ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य जाँच गर्ने, ज्येष्ठ नागरिकसँगै परिवारका सदस्यसँग अन्तर्क्रिया गर्नेलगायतका काम गरिने छ । जनसङ्ख्याको वृद्धिसँगै उनीहरूलाई सेवा पुर्‍याउन परियोजनाले भूमिका रहने विश्वास गरिएको छ । उहाँले भन्नुभयो, “यो कार्यक्रमले ज्येष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिने प्रणाली विकास गर्ने लक्ष्य राखेको छ, जसले ज्येष्ठ नागरिकलाई अस्पतालमा मात्र सीमित नराखी, उनीहरूको दैनिक जीवनमा समेत सघाउ पुर्‍याउने छ ।”  ज्येष्ठ नागरिक जिल्ला सङ्घ दाङका उपाध्यक्ष हरिप्रसाद पाण्डेयले ज्येष्ठ नागरिक ऐन, २०६३ को कार्यान्वयन अझै पूर्ण रूपमा हुन नसकेको र उपचारमा ५० प्रतिशत छुट हुने व्यवस्था भए पनि यसलाई कार्यान्वयनमा ल्याउन चुनौती रहेको समयमा कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।