• ११ असोज २०८१, शुक्रबार

बिमा बोर्डले भुक्तानी नगर्दा बेनी अस्पतालमा सेवा प्रभावित

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, असोज ११ गते । बेनी अस्पतालमा असोज ९ गते उपचारका लागि आएकी थासाङ गाउँपालिका–३, मुस्ताङकी ७२ वर्षीय मनदेवी तुलाचनले नियमित खानुपर्ने औषधी अस्पतालको फार्मेसीमा पाउनुभएन । 

प्रेसरको औषधी नियमित रूपमा खाँदै आएकी उहाँले उक्त औषधी किन्न अस्पतालबाट बाहिर निस्कनु पर्‍यो । राष्ट्रिय बिमा बोर्ड अन्तर्गत स्वास्थ्य बिमा कार्यक्रिममा सहभागी उहाँले खाने औषधी बिमाबाटै पाउनुपर्नेमा अस्पतालको फार्मेसीमा नपाएपछि बाहिरको पसलमा किन्नु पर्‍यो । 

जलजला गाउँपालिका–३ की ७० वर्षीय टेककुमारी घर्तीले नियमित रूपमा कोलेस्ट्रोलको औषधी सेवन गर्दै आउनुभएको थियो । स्वास्थ्य बिमा कार्यक्रममा सहभागी उहाँले पहिलो सेवा लिने बेनी अस्पताल नै हो । बेनी अस्पतालको फार्मेसीबाट नियमित रूपमा बिमाबाटै औषधी पाउने गरेकी उहाँले फार्मेसीमा औषधी नभएपछि बाहिर किन्नुपर्ने भयो । अस्पतालबाहिर निस्केर फार्मेसीमा औषधी सोध्दा आठ सय रुपियाँ पर्ने भनेपछि उहाँ औषधी नलिएर फर्कनुभयो । घर्तीले भन्नुभयो, “पहिला त बिमामा पाइन्थ्यो, आज छैन भने । बाहिर किन्नु भन्थे, मसँग पैसा छैन, गाउँ गएर पैसा भयो भने आएर लैजानु पर्ला ।”

स्वास्थ्य बिमा बोर्डले झन्डै नौ महिनादेखि औषधीको बक्यौता अस्पताललाई भुक्तानी नगर्दा यस्तो समस्या भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले बताउनुहुन्छ । जिल्लास्तरीय एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालको फार्मेसी तथा अन्य सेवा कुनै पनि समयमा बन्द हुन सक्ने अवस्थामै पुगिसकेको उहाँको भनाइ छ ।

राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बेनी अस्पताललाई भुक्तानी गर्नुपर्ने रकम लामो समयदेखि भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था नाजुक बन्दै गएकाले कुनै पनि बेला सेवा बन्द हुन सक्ने उहाँले बताउनुभएको हो । पछिल्लो नौ महिनादेखि दुई करोड ७५ लाखभन्दा बढी बक्यौता रकम बिमा बोर्डले भुक्तानी नगर्दा समस्या सिर्जना भएको हो । स्वास्थ्य बिमा कार्यक्रममार्फत लामो समयदेखि भुक्तानी नपाउँदा बिरामीको उपचार तथा औषधी खरिदलगायतका गतिविधि नै ठप्प हुने अवस्थामा पुगेको अस्पतालले जनाएको छ । 

बेनी अस्पतालको फार्मेसी निरीक्षक आशिष श्रेष्ठका अनुसार अस्पतालमा सबैभन्दा बढी प्रयोग हुने नर्मल स्लाइन पनि फार्मेसीले पुर्‍याउनै मुस्किल भएको छ । हजार युनिट माग गर्दा सय युनिट मात्रै पाउने गरेकाले पनि कतिपय अवस्थामा अस्पतालको फार्मेसीले नर्मल स्लाइन पनि बिरामीलाई उपलब्ध गराउन नसकेको उहाँको भनाइ छ ।

बेनी अस्पतालले २०८० पुस महिनायता बिमाबापत कुनै पनि भुक्तानी नपाएको जनाएको छ । धेरै पटक अनुरोध गर्दासमेत बोर्डबाट खासै सकारात्मक जवाफ नआउँदा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “ठुला अस्पतालले नै स्वास्थ्य बिमा बोर्डको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको सेवा नै बन्द गरे । हामीले अझै पनि आन्तरिक स्रोतबाटै सेवा दिइरहेका छौँ, अहिले नियमित सेवामा खर्च धान्न नसक्ने अवस्थामा छ ।”

स्वास्थ्य बिमा प्रक्रियाबाट आएका बिरामीलाई उपलब्ध सुविधा थप प्रभावकारी बनाउन बिमा बोर्डकै कार्यशैलीले समस्या भइरहेको बेनी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अञ्जु थापाले जानकारी दिनुभयो । बिमामार्फत पाउनुपर्ने स्वास्थ्य बिमा कार्यक्रमको रकम समयमै भुक्तानी नपाउँदा अस्पतालको सेवा प्रक्रियामै बाधा परेकाले जिल्लामा रहेको कार्यालयमार्फत ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । बिमा बोर्डले निकासा गरेमा बिमाबाट लिइने सेवाकै लागि सामग्री खरिद गरिने हो, यदि भुक्तानी भएन भने अर्को विकल्प नै नहुने उहाँले सुनाउनुभयो ।

अहिले अस्पतालले आफ्नै आन्तरिक आम्दानीबाट सेवा नियमित सञ्चालन गरिरहेको छ भने करारका स्वास्थ्यकर्मीसहित कर्मचारीको तलब सुविधा, डाक्टरको भत्तालगायतमा सोही खर्च हुँदा आर्थिक व्यवस्थापन गर्न कठिन भएको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट थापाले बताउनुभयो । जिल्लाका स्थानीय तह तथा व्यक्तिगत रूपमा पनि बिमा गर्नेको सङ्ख्या बढिरहेको अवस्थामा बेनी अस्पतालमा दैनिक उपचारमा आउने बिरामीमा ठुलो हिस्सा बिमाका हुन्छन् ।