• ११ असोज २०८१, शुक्रबार

प्राथमिकताका आधारमा योजना तर्जुमा

blog

धवलागिरि म्याग्दी जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका हो । यो गाउँपालिकाका अध्यक्ष २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रेमप्रसाद पुन निर्वाचित हुनुभयो । स्थानीय तहको प्रमुखका रूपमा उहाँको दोस्रो कार्यकाल हो । स्थानीय सरकारको प्रमुखका रूपमा निर्वाचित पुनसँग गोरखापत्र दैनिकका लागि म्याग्दी समाचारदाता अमृतप्रसाद पौडेलले गर्नुभएको कुराकानी : 

विकासका लागि कस्ता योजना बनाउनुभएको  छ ? 

स्थानीय तहले ठुला ठुला भौतिक विकास निर्माणका कार्य गर्न अलिक गाह्रो हुने रहेछ । आन्तरिक स्रोतको अवस्था राम्रो भएका स्थानीय तहले त भौतिक विकास निर्माणलाई प्राथमिकतामा राख्न सक्छन् । हाम्रो आन्तरिक स्रोत कम भएकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतमा केन्द्रित भएका छौँ । हाम्रो मुख्य केन्द्रविन्दु शिक्षा, स्वास्थ्य, कृषिलगायत मानव संसाधन विकास रहेको छ । यी क्षेत्र विकासका लागि हामीले योजना बनाई काम थालेका छौँ । भौतिक विकासका लागि सङ्घीय र प्रदेश सरकारलाई घचघच्याउनुका साथै गाउँपालिकाका तर्फबाट समेत पूर्वाधार विकासका लागि प्राथमिकीकरणका आधारमा योजना तर्जुमा गरिएको छ । 

गाउँपालिका क्षेत्रभित्र घरजग्गाको राजस्व सङ्कलन भइरहेको छ ? 

गाउँपालिकाले हालसम्म जग्गा वर्गीकरण गरी नसकेकाले पुरानै ढाँचा अब्बल, दोयम, सिम र चहारमा आधारित भई राजस्व सङ्कलन गरिएको छ । आगामी दिनमा वैज्ञानिक वर्गीकरण गरी त्यही अनुरूपको नियम बनाएर अगाडि बढ्ने योजना छ ।

गाउँपालिकालाई समुन्नत बनाउन कस्ता उपाय अपनाउनुभएको छ ? 

विश्वको ध्यान तान्ने धवलागिरि, गुर्जालगायतका हिमाल रहेका यस गाउँपलिकालाई समुन्नत बनाउन हामीले जडीबुटी, पर्यटन, जलविद्युत्लगायतका क्षेत्रको विकास, प्रचारप्रसार गर्नुपर्ने हुन्छ । यहाँ यार्सागुम्बा, पाँचऔले, सतुवा जस्ता महत्वपूर्ण जडीबुटी पाइन्छन् । साथै जङ्गली जनावरतर्फ पनि हाम्रो क्षेत्रमा रातो पाण्डा, नाउर, झारल, डाँफे मुनाललगायतका पशुपन्छी पाइन्छन् । यहाँका प्राकृतिक झरनालगायतका सुन्दरता र पदमार्गको संरक्षण, संवर्धन र प्रचारप्रसार गरी पर्यटकको आकर्षण बढाउने योजनामा छौँ । जडीबुटी निकासी पैठारी गर्ने नीति निर्माणका लागिसमेत पहल गर्दै छौँ । हामीलाई राम्रोसँग थाहा छ, यहाँको आम्दानीको स्रोत प्रकृतिको काखमै छ । 

पर्यटनका माध्यमबाट आन्तरिक आय बढाउन काम भइरहेको छ ?

धवलागिरि गाउँपालिकामा गन्न नसकिने पर्यटकीय स्थान छन्भन्दा फरक पर्दैन । ढोरपाटन सिकार आरक्षणको निश्चित भाग पनि धवलागिरि गाउँपालिकामा पर्छ । बाइसेचौबिसे राज्य हुँदा पर्वत राज्यको राजाको बासस्थान रहेको स्थान ताकमकोट धार्मिक हिसाबले प्रसिद्ध छ । त्यसै गरी खिवाङ कोट, मराङ, भूमेथानलगायत थुप्रै धार्मिक स्थान छन् ।  गाउँपालिकाको नाउरा, बगर, मुदी, गुर्जालगायत थुप्रै ठाउँमा तातोपानीका मूलसमेत छन् । सांस्कृतिक विविधता पनि छ । त्यसैले धवलागिरि गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावना छ । यसको विकासबाट आन्तरिक आय वृद्धिका लागि काम गर्दै छौँ । 

पर्यटक भित्र्याउन प्रचारप्रसार नै चाहिने रहेछ । यसका लागि राष्ट्रियस्तरको सञ्चार माध्यमको साथ चाहिन्छ । पर्यटन पूर्वाधारको व्यवस्थापन जरुरी हुन्छ । 

पदमार्गको मर्मत सम्भार, नक्साङ्कन, सरसफाइ, बास बस्न सफा होमस्टे, तालिम प्राप्त पर्यटक गाइड, सुरक्षाको प्रत्याभूतिलगायत थुप्रै कुरा पर्यटकले आशा गरेका हुन्छन् । हामीले पनि पूर्वाधार निर्माण र विकास गर्न नै दीर्घकालीन रूपमा योजना बनाएर अगाडि बढ्ने हो । हामीले पर्यटक आगमन बढाउन र पर्यटकको बसाइ लम्ब्याउने पनि प्रयास गरिरहेका छौँ । 

शिक्षा र स्वास्थ्य क्षेत्रको विकास योजना बनाउनुभएको छ ?

प्रमुख क्षेत्र भनेकै शिक्षा र स्वास्थ्य हो । हाम्रो सम्पूर्ण शक्ति शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि खर्चिरहेका छौँ । जनता स्वस्थ भई शिक्षित भए भने अन्य कुरा स्वतः विकास हुने हुँदा हामीले स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई नै केन्द्रमा राखेर काम गरिरहेका छौँ । 

जलविद्युत् आयोजना र हिमालको रोयल्टी के कति आउने गरेको छ ? 

हाल धवलागिरि गाउँपालिकामा ठुला जलविद्युत् आयोजना बनिसकेको अवस्था छैन । विद्यमान रहेका स्थानीय साना जलविद्युत् गृहबाट राजस्व सङ्कलन भएको छैन । ठुला आयोजना निर्माण भइरहेका छन् । निकट भविष्यमा जलविद्युत्बाट हामी राम्रो राजस्व सङ्कलन गर्दै छौँ । राजस्व सङ्कलन भएमा पालिकाको विकास गर्न सहज हुने नै छ ।