• ११ असोज २०८१, शुक्रबार

एसिक सम्मेलन सम्पन्न

हरित वित्तमार्फत आर्थिक विकासमा जोड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ८ गते । एसियाका कर्जा तथा निक्षेप सुरक्षण संस्थाको ३६ औँ सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलनमा साना तथा मझौला उद्यमको प्रवर्धन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्ने प्रतिबद्धता सहभागीले जनाएका छन् । 

सोमबारको दसौँ तथा अन्तिम सत्रको ‘इनोभेटिभ सोलुसन्स : फाइनान्सिङ फर नेचर’ विषयमा सहभागीले हरित वित्तमार्फत आर्थिक विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए । 

छलफलमा कृषि विकास बैङ्कका नायब महाप्रबन्धक बाबुकाजी थापाले हरित वित्त र पर्यावरण संरक्षण आर्थिक लाभको नयाँ एकीकृत वित्तीय ढाँचा भएको बताउनुभयो । नेपालका बैङ्क तथा वित्तीय संस्थाले कृषि र वनमा आधारित उद्यममा केन्द्रित रही हरित वित्तलाई बढावा दिने उपायमा काम गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालको कृषि क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै उहाँले बैङ्कहरूले वनमा आधारित र कृषिसँग सम्बन्धित उद्यममा लगानी गर्न हिचकिचाउने गरेको दाबी गर्नुभयो । 

बिजनेस अक्सिजनका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले नेपालमा साना तथा मझौला उद्योगको वृद्धिले नेपाली जनताको जीविकोपार्जनमा परिवर्तन ल्याएको र राष्ट्रिय अर्थतन्त्रको बलियो खम्बा बनेको बताउनुभयो । अन्य क्षेत्रमा लगानी गर्नुभन्दा यस्ता क्षेत्रमा लगानीको जोखिम मोल्न लगानीकर्ता बढी तयार हुने भएकाले ‘ब्लेन्डेड फाइनान्स’ आवश्यक रहेको पाण्डेको तर्क थियो । 

विश्व बैङ्कका निजी क्षेत्रका प्रमुख विशेषज्ञ नतासा कपिलले साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । ऊर्जा किफायती प्रविधि अपनाउनुपर्नेमा उहाँको जोड थियो । “साना तथा मझौला उद्योगले राष्ट्रिय इकोसिस्टममा महìवपूर्ण भूमिका खेलिरहेका छन्,” उहाँले भन्नुभयो, “आधुनिक प्रविधिको प्रयोगले उनीहरूको उत्पादकत्व बढाउन सक्छ ।”

शुक्रबारदेखि राजधानीमा सुरु भएको एसिक सम्मेलनमा १६ वटा देशका कर्जा तथा निक्षेप सुरक्षण संस्थाका प्रतिनिधि सहभागी थिए । 

आर्थिक विकासका लागि नवप्रवर्तन भन्ने नाराका साथ सुरु गरिएको सम्मेलनमा विभिन्न १० वटा विषयमा छलफल भएको थियो । नेपालले ३० वर्षपछि यो सम्मेलन आयोजना गरेको हो ।