• ११ असोज २०८१, शुक्रबार

लोप हुँदै गोलो घर

blog

तम्घास समाचारदाता

तम्घास, असोज ७ गते । पछिल्लो समय पक्की घर निर्माण हुन थालेपछि पुराना र खरले छाएका घरहरू विस्थापित हुन थालेका छन् । कतिपय घरको छानो हटाएर जस्तापाता लगाउन अभियान नै चलाइएको छ । अचेल गाउँघरमा पुराना, खरले छाएका गोलो, घुमाउरो तथा कुँडुले घर विरलै देख्न पाइन्छ । माटोको गारो लगाउने र खरले छाएका त्यस्ता घरमा चिसो समयमा न्यानो हुने र गर्मीको समयमा अन्य घरको तुलनामा गर्मी नहुने बुढापाकाले बताउँदै आएका छन् । 

जिल्लामा लोप हुँदै गएको त्यस्ता खालका घर कालीगण्डकी गाउँपालिका–१ को हर्मीचौर र वडा नम्बर २ अर्वेनीमा बढीमा एक दर्जन मात्रै छन् । यी घर भूकम्पको समयमा समेत सुरक्षित रहेको हर्मीचौरका ८४ वर्षीय खिमानन्द पाण्डेले बताउनुभयो । यी घर अहिले लोप हुँदै गएकाले संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

अन्य घर खरले छाउनभन्दा यस्ता घर छाउन झन्डै दोब्बर बढी खर आवश्यक पर्ने उहाँले बताउनुभयो । एक पटक छाएपछि करिब पाँच वर्षसम्म पानी नचुहिने र चिसो र गर्मीबाट पनि अन्य घरको तुलनामा सुरक्षित रहेको पाण्डेले बताउनुभयो । २०७२ सालमा गएको भूकम्पमा पनि अन्य घरमा ठुलो क्षति भए पनि गोला घर सुरक्षित रहेको उहाँको भनाइ छ ।

गोलो तथा घुमाउरो घर लोप हुँदै गएकाले त्यस्ता घरलाई संरक्षण गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीय युवा तिलक रानाले बताउनुयो । पछिल्लो पुस्तालाई यस्ता घर पनि पहिले हुन्थे भन्ने सिकाउन पनि संरक्षण आवश्यक रहेको उहाँको भनाइ छ । 

यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले यस्ता घर संरक्षण गर्न पालिकाले योजना बनाएको बताउनुभयो । अहिलेको अवस्थामा गोलो तथा घुमाउरो घर विरलै हुने भएकाले पालिकाभित्र रहेका करिब एक दर्जन घरलाई संरक्षण गर्न पालिका लागेको बताउनुभयो । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको जिल्लामा कालीगण्डकीमा मात्रै गोलो घर भएको हुन सक्ने भएकाले यसको संरक्षण गरेरै छाड्ने उहाँले दाबी गर्नुभयो । 

गोलो घर मात्रै नभई पुरानो इतिहास र संस्कृति पनि यस्ता घरसँग जोडिएकाले संरक्षण गर्न र भावी पुस्तालाई सिकाउन पनि पालिका प्रयासरत रहेको उहाँले बताउनुभयो । गत वर्षदेखि नै गोलो घर संरक्षण गर्न योजना बनाए पनि पूरा हुन नसकेकाले चालु आवमा पूरा गरेरै छाड्ने दाबी उहाँले गर्नुभयो ।