• ११ असोज २०८१, शुक्रबार

सङ्घर्ष र बलिदानको सम्झना र सम्मान : प्रदेश प्रमुख भट्ट

blog

सन्तोष सृुवेदी
कास्की, असोज ३ गते ।
 गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

बिहीबार दिवसको शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजहरूप्रति सम्मान प्रकट गर्नुभएको हो ।

नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरुप २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान पनि उहाँले गर्नुभयो ।

‘‘वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ । हाम्रो संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना साकार बनाउन समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ ।,’’ भट्टले भन्नुभएको छ, ‘‘उक्त लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा ऊर्जाशील युवाशक्ति सहित मानवीय संशोधनको दिगो सदुपयोग गर्दै कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको विकास मार्फत स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्नु आजको आवश्यकता हो । संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरूको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्दछ ।’’

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्न आवश्यक रहेकोमा जोड दिँदै उहाँले थप्नुभयो , ‘‘देशको हित र जनताको उन्नति भन्दा ठुलो हाम्रो कुनै लक्ष्य हुन सक्दैन । यही भावनाबाट उत्प्रेरित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरूले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु ।’’

संविधानको कार्यान्वयन मार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मान्यता र मूल्य प्रणालीलाई राष्ट्रिय जीवनपद्धति बनाउन संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ ले हामी सबैमा नयाँ उत्साह प्रदान गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।