काठमाडौं, भदौ ३० गते । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ११ मा रहेको एन.आर. कलेज १८ औं वार्षिकोत्सवमा अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।
कलेजले कविता, हाजिरी जवाफ, निबन्ध प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल विद्यार्थीलाई पदक तथा सम्मानपत्र प्रदान गरेको छ ।
कलेज व्यवस्थापन सञ्चालक समितिका अध्यक्ष चित्रवर ध्वज थापा, तारकेश्वर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कविराज बस्नेत, क्याम्पस प्रमुख राजिप धिताल, पूर्व क्याम्पस प्रमुख धनलाल महर्जनलगायतले विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रम बोल्ने वक्ताहरुले विद्यार्थीको विदेश पलायन रोक्नका लागि अबको शिक्षा प्रविधिमैत्री र जीवनोपयोगी हुनुपर्नेमा जोड दिनुभयो ।
सञ्चालक समितिका अध्यक्ष थापाले कलेजमा अनुसन्धानको पाटोलाई अगाडि बढाउन विश्वविद्यालय अनुदान आयोगसँग सहकार्य भइरहेको छ भन्नुभयो ।
कलेजको सञ्चालक समितिका सदस्य एवम वडा ११ का अध्यक्ष बस्नेतले कलेजको विकास प्रयासमा वडाले सक्दो सहयोग गर्दै आएको र अब पनि त्यसलाई निरन्तरता दिने छ भन्नुभयो ।
क्याम्पस प्रमुख धितालले अन्य कलेजमा विद्यार्थी भर्नाको सङ्ख्या घटेको चर्चा भए पनि एनआर कलेजमा हरेक वर्ष चार सयको हाराहारीमा विद्यार्थी भर्ना भइरहेका र यो वर्ष अझ बढ्ने व्यक्त गर्नुभयो ।
उहाँले त्रिभुवन विश्वविद्यालय अनुदान आयोग, प्रदेश सरकार र तारकेश्वर नगरपालिकाको अनुदान सहयोगमा कलेजलाई डिजिटल युगमा प्रवेश गराउने कार्य तीव्र गतिमा अगाडि बढेको बताउनु भयो । उहाँले गुणस्तरीय शिक्षा, नतिजामुखी परिणाम र विद्यार्थीलाई उन्नत शिक्षा दिन कलेज क्रियाशील रहेको जानकारी दिनुभयो ।
यसैगरी, पूर्व क्याम्पस प्रमुख महर्जनले पब्लिक क्याम्पस संघले आकर्षक सुविधाहरु दिने गरी कलेज, शिक्षक, विद्यार्थी लक्षित कार्यक्रम ल्याएकाले त्यसमा सहभागी हुन कलेज प्रशासनलाई आग्रह गर्नुभयो ।
कलेज व्यवस्थापन सञ्चालक समितिका अध्यक्ष चित्रवर ध्वज थापाको अध्यक्षतामा आयाेजित कार्यक्रममा सहायक क्याम्पस प्रमुख उमेश सेडाइ, प्राज्ञिक प्रमुख प्राध्यापक श्यामकृष्ण विष्ट, मानविकी विभागीय प्रमुख कृष्णराज कट्टेल, एनआर कलेज पूर्व विद्यार्थी समाजका प्रतिनिधि परोपकार अधिकारी, विद्यार्थी नेता अर्जुन खड्कालगायतले शिक्षाको गुणस्तर बढाउन अझै प्रयास गरिनुपर्ने, उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने सबै विद्यार्थीलाई सम्मान गर्नुपर्ने, युग सुहाउँदो शिक्षाका लागि नयाँ नयाँ कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।