• २३ पुस २०८१, मङ्गलबार

पोखराको सराङकोटमा निर्माणाधीन पञ्चमुखी गणेशको मूर्ति

blog

पोखराको सराङ्कोटमा निर्माणाधीन पञ्चमुखी गणेशको मूर्ति । तस्बिर : रमेश पोडेल

रमेश  पौडेल
पोखरा, भदौ २९ गते । 
पर्यटकीय एवम् धार्मिक महत्त्व राखेको पोखराको सराङकोटमा पञ्चमुखी गणेशको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिद्वारा निर्माण गर्न लागिएको सो मूर्ति सम्पन्न भएपछि शिव पञ्चमुखी गणेशधामका रूपमा नामाकरण गरिनेछ ।

करिब ८ करोडको लगानी रहेको सो मन्दिरका लागि दक्षिण भारतका कालिगडहरूले मन्दिरको निर्माण गरिरहेको सराङकोट पर्यटन तथा धार्मिक विकास समितिका अध्यक्ष प्रेम बहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार ४६ फिटको मूर्ति रहने सो पञ्चमुखी गणेशको छेउमा कैलाशेश्वर महादेवको शिव मन्दिर रहको छ भने पोखराकै पुम्दीकोटमा रहेको विशाल शिवको मूर्तिले शिव र गणेश भगवान् कुरा गरिरहे जस्तो अनुभूति लिन सकिनेछ ।

क्षेत्र विकास समितिमा रहेको झण्डै एक सय रोपनीभन्दा बढी जग्गामा पञ्चमुखी गणेशको मूर्ति रहेको छ भने शिव मन्दिर, भैरव मन्दिर, भिमकाली मन्दिर, भ्यूटावर र चार–तले सभा हल निर्माण भइसकेका छन् । प्राकृतिक रूपमा आफैँ सिँगारिएको सराङकोट डाँडाबाट पश्चिम–उत्तर हुँदै पूर्वसम्म हिमालयको दृश्यले अलौकिक आनन्द प्राप्त हुन्छ भने पश्चिम–दक्षिणमा पञ्चासे, फेवाताल र पूर्वमा पोखरा उपत्यकाको सुन्दर बस्तीको अवलोकन गर्न सो ठाउँ अति उत्तम भएका अन्य स्थानको खोज गर्न नपर्ने अध्यक्ष जी सिको भनाइ छ । 

प्रदेश सरकार, स्थानीय तह, स्थानीय सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठानको सहयोगमा निर्मित सो मूर्ति सम्पन्न भएपछि सराङकोट क्षेत्र सूर्योदयका लागि मात्र नभई धार्मिक पर्यटनको पनि थप गन्तव्य बन्ने अग्रज उद्योगपति आजाद श्रेष्ठको भनाइ छ ।

मल्लकालीन राजा कुलमण्डन शाहले कुलदेवीका रूपमा मान्दै आउनुभएका भूमीकाली मन्दिर समेत सोही ठाउँमा रहेकाले यसको एतिहासिक महत्त्व रहेको निर्माण समितिका संयोजक एवम् अग्रज व्यवसायी कालु गुरुङ बताउनुहुन्छ ।

पोखरा आउने घुम्न आउने आन्तरिक पर्यटकहरू साथमा अधिकांश भारतीय त्यसमा पनि विशेष गरी दक्षिण भारतका पर्यटकले पञ्चमुखी गणेशधामको दर्शन गरेपछि सिद्धि प्राप्त हुन्छ भन्ने विश्वासका साथ त्यहाँ पुर्दछन् । साथै युरोपियनलगायतका अन्य मुलुकबाट आउने पर्यटकहरू त्यहाँको धार्मिक एवम् प्राकृतिकलगायतका दृश्यमा रमाउने गर्दछन् ।

सराङकोटमा सडक सञ्जालको सहज पहुँच रहेको छ भने सराङकोटलाई प्रवर्द्धन गर्न पोखराको सेदीबाट सराङकोटसम्म पुग्नका लागि विगत तीन वर्षदेखि सञ्चालनमा आएको अन्नपूर्ण केबुलकार आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण भएको पोखराका पर्यटन व्यवसायी एवम् रेस्टुरेन्ट एण्ड बार एसोसिएसन रेवानका अध्यक्ष विश्व पौडेल बताउनुहुन्छ ।

पोखरालाई पर्यटकीय राजधानीका रूपमा घोषणा गरिसकेपछि पोखरामा आउने पर्यटकको बसाइ लम्बाउन प्राकृतिक मात्र नभई भौतिक पूर्वाधारको विकास गर्दै नयाँ गन्तव्य थपिँदै गएमा पर्यटकीय राजधानीले सार्थकता पाउने अध्यक्ष पौडेलको भनाइ छ ।