मीना कंडेल
कावासोती, भाद्र २८ गते । नवलपुरमा एक वर्षको अवधिमा ३७ किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वाधार कार्यालयले आफू मातहतका विभिन्न सडक योजनाअन्तर्गत जिल्लामा आर्थिक वर्ष २०८०-८१ मा ३७ किमी सडक कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कावासोती नगरपालिकाले पूर्वाधार विकास अन्तर्गत आर्थिक वर्ष २०८०-८१ मा ५.८ किलोमिटर सडक कालोपत्रे गरेको छ । सडक कालोपत्रे, पिसिसी र ग्राभेल गर्ने कार्यसँगै कावासोती नगरपालिकाको रुप फेरिएको छ । गाउँका भित्रि सडक विस्तार गर्न सडक स्तरोन्नति तथा कालोपत्रेलाई प्राथमिकता दिएको नगरप्रमुख विष्णु भुसालले बताउनुभयो।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला राज पौडेलले नगरभित्रका १७ वटा वडाहरूमा गत आर्थिक वर्ष जम्मा पाँच हजार आठ सय तीन मिटर सडक कालोपत्रे गरिएको बताउनुभयो । सडक कालोपत्र, स्तरोन्नती , खानेपानी, ढल तथा सिँचाइ कुलो निर्माण, खोला तटबन्ध, विद्यालयका भवन निर्माण तथा मर्मत, धार्मिकस्थल निर्माण तथा मर्मत, पार्क तथा खेल मैदान निर्माण, पर्यटकीय पूर्वाधारमा निर्माण लगायतका क्षेत्रमा कार्य गरेको उहाँले बताउनुभयो ।
गत आर्थिक वर्ष कावासोती नगरभित्र ३.६ किलोमिटर बाटोमा मोजाएक टायल विच्छाइएको छ । वडा नं. २, ३, ६, ७, ८, ११, १६ र १७ मा मोजाएक टायर विच्छाइएको हो । ९.३६ किलोमिटर बाटो ग्राभेल गरिएको छ भने २६.७ किलोमिटर बाटो मर्मत गरिएको छ । गत आवमा एक सय ९३ मिटर बरावरको बाटो ढलान गरिएको छ । वडा नं. १ मा ६५ मिटर र वडा नं. ९ मा एक सय २८ मिटर बाटो ढलान गरिएको हो ।
पूर्वाधार विकास शाखाका सव इन्जिनियर रञ्जित केसीले गत आर्थिक वर्षमा कावासोती नगरपालिकाभित्र ४५ वटा कल्भर्ट निर्माण गरिएको बताउनुभयो । वडा नं.५ मा ९ वटा, वडा नं. ६ र ९ मा ५-५ वटा, वडा नं.१६ मा ४ वटा, वडा नं. १२ र १७ मा २-२ वटा, वडा नं. १, ३, ४, ७, ८ र १५ मा १÷१ वटा कल्भर्ट निर्माण गरिएको बताउनुभयो । गत आर्थिक वर्षमा सडक तथा अन्य पूर्वाधार शाखा मार्फत कुल २६ करोड ८४ लाख ७९ हजार दुई सय ३२ रुपियाँ बराबरको कार्य सम्पन्न गरिएको उहाँले बताउनुभयो ।