• २५ पुस २०८१, बिहिबार

धार्चे पहिरोमा ज्यान गुमाउने परिवारलाई दुई लाख ५० हजार राहत

blog

गुणबहादुर रोका 

सुलीकोट, भदौ २७ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरो परी ज्यान गुमाउने परिवारले राहत रकम पाउने भएका छन् । गोरखाको जिल्ला विपद् व्यवस्थापन कोषबाट जनही २ लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । 

उहाँका अनुसार बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा मृतकका परिवार वा नजिकका हकदारलाई राहत रकम उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो । गत साउन १३ गते धार्चेको रेसेफाँटमा गएको भीषण पहिरोमा परी एकै घरका ३ जना सहित ५ जनाको ज्यान गएको थियो भने २ जना गम्भीर घाइते भएका थिए । 

पहिरो परी ज्यान गुमाउनेहरूमा एकै घरका ३ जना सहित ५ जनाको परिवारलाई राहत स्वरूप रकम उपलब्ध गराउने निर्णय भएको विपद् व्यवस्थापन समितिका संयोजक दाहालले बताउनुभयो । पहिरोमा परी ज्यान गुमाउनेहरूमा धार्चे गाउँपालिका-५ का ३७ वर्षीया जीत बहादुर गुरुङ, उहाँका ६० वर्षीया बुबा सुलाल कान्छा गुरुङ, जीतबहादुरको श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, सोही ठाउँका ३३ वर्षीय रमेश गुरुङ र आरुघाट गाउँपालिकाका – ८ का २४ वर्षीया रमेश परियारको मृत्यु भएको थियो । 

विपद् व्यवस्थापन समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार एकै घर परिवारका ३ जना भएकाले उहाँहरूको लागि एकमुष्ट ५ लाख ५० हजार दिने निर्णय भएको छ भने मृतक रमेश गुरुङ र रमेश परियारको हकवाला आफन्तलाई २ लाख ५० हजारका दरले राहत दिने निर्णय भएको उहाँको भनाइ छ । 

सोही पहिरोमा परी गम्भीर घाइते भएका ३५ वर्षीया दिलीप गुरुङ र ३० वर्षीया छम बहादुर गुरुङलाई निःशुल्क उपचारको व्यवस्था गरिदिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौँलाई पत्राचार गर्ने निर्णय भएको विपद् व्यवस्थापन समिति गोरखाका संयोजक भोला दाहालले बताउनुभयो ।