• ८ पुस २०८१, सोमबार

निजामती पुरस्कारको साख

blog

अङ्ग्रेजीमा एउटा भनाइ छ ‘अ प्याट अन द ब्याक इज वोर्थ टु अन द हेड’ अर्थात् पछिल्तिर एक पटक धाप मार्दा काममा दोहोरो प्रगति हुन्छ । यस भनाइले सकारात्मक प्रशंसाको शक्ति नकारात्मक दण्डभन्दा महत्वपूर्ण हुन्छ भन्ने जनाउँछ । यसैसाथ आउने ‘क्यारोट एन्ड स्टिक’ कर्मचारीलाई सकारात्मक र नकारात्मक तकनिकीद्वारा काममा बढी दत्तचित्त गराउने उपायका रूपमा आएका छन् । निजी क्षेत्रमा भने अठारौँ शताब्दीको मध्यदेखि सुरु भएको औद्योगिक क्रान्तिपश्चात् दण्ड र पुरस्कारका विषयमा धेरै नै खोज अनुसन्धान र प्रयोगहरू भए । सरकारी कर्मचारीलाई सार्वजनिक स्रोतको उपयोगकर्ता र सरकारको दाहिने हात भएर न्याय र नैतिकता वितरण गर्ने संयन्त्रका रूपमा लिइन्छ । सार्वजनिक प्रशासक पनि मानव भएको र मानवीय चरित्र प्रदर्शन गर्ने भएकाले उनीहरूलाई दिइने प्रोत्साहन, दण्ड र पुरस्कारबारे धेरै खोज र प्रयोग भएका छन् । सार्वजनिक व्यवस्थापनका धेरै सिद्धान्त, उत्प्रेरणाका सिद्धान्तका साथै पछिल्लो समयमा न्यु पब्लिक प्यासनका अवधारणा अगाडि आएका छन् ।

सरकारी वेतनधारी कर्मचारीहरूको उत्प्रेरणाका लागि तलबी व्यवस्थाका साथै वृत्तिपथ र सामाजिक सुरक्षाका व्यवस्था गरिएका हुन्छन् । सरकारी ढुकुटीका आकारको आधारमा उनीहरूको तलब निर्धारण गर्नुपर्ने बाध्यता कर्मचारी उत्प्रेरणाका सन्दर्भमा एउटा सीमा रहेको छ । यद्यपि सिङ्गापुरको आधुनिक विकासको श्रेय योग्यता प्रणालीको कसीमा गरिएको उच्च तलबी व्यवस्था रहेको विज्ञहरूले औँल्याएका छन् । अमेरिका र बेलायत जस्ता विकसित देशहरूमा कार्यजीवन व्यवस्थापन तथा कार्यवातावरणको सन्तुलित व्यवस्था गरी कर्मचारीलाई प्रोत्साहन गरेको देखिन्छ । निजामती सेवाको पुरानो इतिहास भएको चीनमा समेत कार्यसम्पादनमा आधारित तलबी प्रणाली तथा अन्य सुविधाको व्यवस्था गरिएको पाइन्छ । तलबभत्ता वृत्तिपथ र अन्य पेसागत विकासका कार्यक्रिम साथै सार्वजनिक सेवकको कार्यसम्पादन र नवप्रवर्तनका आधारमा विभिन्न पुरस्कार प्रदान गरिन्छ । सेवामा रोल मोडलका रूपमा स्थापित हुन सक्ने व्यक्तिलाई विशेष सम्मान गर्ने गरिन्छ । दीर्घ सेवा पदक, उत्कृष्ट कार्यसम्पादन सम्मान जस्ता कार्यक्रमले कर्मचारीमा उम्दा कार्यशैली र नैतिक निर्माणमा योगदान पुर्‍याउने आशा गरिन्छ ।

नेपालको निजामती सेवामा अवार्डका रूपमा प्रदान गरिँदै आएको निजामती सेवा पुरस्कार बर्सेनि कम्तीमा ४० जनाले पाउँदै आएका छन् । तीन किसिमका पदसोपानमा आधारित यी पुरस्कार प्राप्त गर्न निश्चित सेवाअवधि पूरा गरेपछि कार्यसम्पादन स्तर र अन्य मापदण्ड तोकिएका छन् । यद्यपि यो पुरस्कारप्रति सामाजिक धारणा र सेवारत कतिपय कर्मचारीभित्रै पनि समान धारणा देखिन्न । सर्वोत्कृष्ट निजामती कर्मचारी छनोटमा पनि उदासीनता देखिएको छ । 

वार्षिक रूपमा प्रदान गरिने निजामती सेवा पुरस्कार निजामती सेवा दिवसका दिन पारेर प्रदान गरिन्छ । निजामती सेवा नियमावलीको नियम ११६(क) मा यसका आधारहरू निर्धारित गरिएका छन्, जसमा कार्यसम्पादन मूल्याङ्कन; कार्यदक्षता र कार्यक्षमता; ज्येष्ठता लगनशीलता, कर्तव्यनिष्ठता र व्यावसायिक दक्षता जस्ता पूर्वाधार आवश्यक भएको देखिन्छ । नियमावलीकै अनुसूचीले यी पूर्वाधारलाई थप फराकिलो पार्न कोसिस गरे पनि समावेशीकृत प्रावधानसमेत राखेको देखिन्छ । यी सबै आधार, मापदण्डका साथै पुरस्कार सिफारिस गर्ने काविल संयन्त्र पनि रहेको छ जसले यी आधारहरूको गहिराइ पर्गेल्ने र नैतिक निर्णय गर्ने जिम्मेवारी पाएको छ ।

पुरस्कार वितरणको झन्डै २० वर्षे अवधिमा यसको सकारात्मक प्रभावको परीक्षण गर्नुपर्ने आवश्यकता छ । पाउनेहरूको कार्यसम्पादनले त्यस कार्यालय वा कार्यसम्पादनमा नै फरक धार वा नवप्रवर्तनको डोरी निर्माण गरेको पनि खासै देखिन्न । निजामती कानुनमा राखिएका मापदण्ड अनुसार सर्वोत्कृष्ट कर्मचारी छनोट नभएको अवस्थाले उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउनेहरूले पनि केही न केही मापदण्ड पूरा गर्न सकेका छैनन् भन्ने देखिन्छ । कर्मचारीहरूबाट राज्यको उच्चतम अपेक्षा पूरा हुन सकेको छैन भन्ने पनि बुझिन्छ । 

निजामती सेवा पुरस्कारलाई ओजपूर्ण र जनस्वीकार्य बनाउन यसको छनोट प्रणालीलाई थप वस्तुनिष्ठ बनाउन पनि आवश्यक छ । यसको पहिलो सर्त कुनै पनि किसिमको आरक्षित प्रावधान पुरस्कार प्रदान गरिने मापदण्डबाट हटाइनु पर्छ । निजामती सेवामा प्रवेश गरिसकेपछि सबै जना एक समान धरातलमा विराजमान छन् । क्षेत्र, लिङ्ग, भेग, जातका आधारमा पुरस्कार आरक्षित गरिनु हुँदैन । शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिले समेत नवप्रवर्तन गर्न उत्तिकै सक्छन्, नवप्रवर्तन शरीरले होइन दिमागले गर्ने कार्य हो । सार्वजनिक सेवा प्रवाहमा नवप्रवर्तन गर्न सक्ने व्यक्तिको नैतिकतामाथि पनि खासै प्रश्न गरिरहनु पर्दैन । सार्वजनिक प्रशासनका मामिलामा कलम चलाउनेहरूले ३६० वा ७२० डिग्री कार्यसम्पादन मूल्याङ्कन प्रणालीका बारेमा उल्लेख गरिरहेका छन् । हामीले यो कार्यसम्पादन मूल्याङ्कन प्रणालीलाई सबै किसिमको प्रोत्साहनको आधार बनाउन सके अझै महत्वपूर्ण खुट्किला पार गर्न सकिने छ । यसैका आधारमा कुनै व्यक्तिलाई पुरस्कारका निम्ति छनोट गर्न सकिने छ ।

निजामती सेवा पुरस्कारमा कार्यक्षेत्रगत विविधीकरण गर्न सकिन्छ । जस्तै– नीतिगत क्रियाकलापमा उल्लेख्य योगदान गर्नेहरूबाट; स्ट्रिट लेभल ब्युरोक्रेसीमा रहेर जनतासँग सेवा प्रदान गर्नेहरू मध्येबाट; आइटी वा इन्जिनियरिङ क्षेत्रमा नवप्रवर्तनीय कार्य गर्नेहरूबाट; कार्यालयीय प्रमुख, निकाय वा विभागीय प्रमुख तथा मन्त्रालयमा उत्कृष्ट नेतृत्व क्षमता प्रदर्शन गर्नेहरूबाट, विपत् तथा अन्य सङ्कटहरूमा ज्यानको बाजी लगाएर काम गर्नेहरूबाट उत्कृष्ट कर्मचारी छनोट गर्दा कार्यक्षेत्रगत रूपमा प्रभावकारी हुने देखिन्छ । त्यस्तै गरी निजामती सेवा पुरस्कारका अलावा निश्चित अवधि सेवा गरेपछि दीर्घसेवा सम्मान प्रदान गर्न सकिन्छ । कर्मचारीको अन्य गलत पक्षहरूमा कुनै किसिमको अभिलेख नभएमा निश्चित अवधि पुग्नासाथ दीर्घसेवा सम्मान प्रदान गर्न सकिन्छ । खर्चका लागि मितव्ययी हुन प्रमाणपत्र मात्र प्रदान गर्न पनि सकिन्छ । यही सम्मानका लागि ऊ जागिरे जीवनभर उत्तरदायी र जवाफदेही बन्न सक्छ । गोरखापत्र संस्थानलगायतका सरकारी सङ्गठनले यस्तो प्रोत्साहन प्रणाली अपनाएको देखिन्छ ।

कार्यसम्पादनका आधारमा निजामती सेवाका पुरस्कार प्रदान गरिएपछि पुरस्कृतहरूको प्रभावकारी उपयोग गर्न पनि आवश्यक छ । पुरस्कार प्राप्तिपश्चात् उनीहरूको क्षमता र व्यक्तित्वको पूर्णतय उपयोग गरिनु पर्छ । उनीहरूले कुन कार्यसफलताका कारण पुरस्कार पाएका हुन् त्यो तरिका अरू कर्मचारीले पनि उपयोग गर्ने गरी कार्य गर्न आवश्यक छ । यसका लागि उनीहरूलाई प्लेटफर्म र कार्यक्षेत्र उपलब्ध गराउन आवश्यक छ । पुरस्कारपश्चात् नै पुरस्कृतहरूको ‘जब इनरिचमेन्ट’ गरिनु पर्छ । उनीहरूको पदस्थापन परिवर्तन गरेर वा थप जिम्मेवारी प्रदान गरेर अरू सामान्यभन्दा उनीहरूलाई फरक ढङ्गबाट जिम्मेवार बनाइनु पर्छ ।

निजामती सेवाको कार्यसम्पादनमा धेरै नै जनगुनासाहरू छन् । कार्यसम्पादन स्तर कमजोर भएको भनेर माथिल्लो तहबाट सुधारका लागि निर्देशनहरू पनि प्रशस्त आएका छन् । कतिपय यस्ता सेवाप्रदायक निकाय छन्, जसको सेवाप्रवाहमा सदैव जनगुनासो र आलोचना सुन्न पाइन्छ । महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजुको अवस्था बढी भएका कार्यालयसमेत सुधारका पर्खाइमा रहेका छन् । अब त्यस्ता कार्यालय वा सेवा प्रदायक निकायमा हालसम्म निजामती पुरस्कार विजेताको समूहलाई कार्यजिम्मेवारी प्रदान गर्न वा नेतृत्व प्रदान गर्न आवश्यक देखिन्छ । जस्तै, गुनासो आइरहने यातायात कार्यालयहरू, वैदेशिक रोजगार सम्बन्धित कार्यालयहरू, अध्यागमन जस्ता कार्यक्षेत्रमा हालसम्म पुरस्कार प्राप्त गर्नेहरूको सकेसम्म समूह नै बनाएर वा समूह बनाउन असम्भव भए पुरस्कार विजेताको नेतृत्व प्रदान गर्न आवश्यक छ । जनतासँग भिजेर कार्य गर्नुपर्ने स्थानीय तहमा उत्कृष्ट कर्मचारीले संविधानको मर्मबमोजिम थप नवप्रवर्तनीय ढङ्गबाट कार्यसम्पादन गर्न सक्छन् । यस कार्यले सरकारलाई दुई प्रकारको फाइदा हुने छ । पहिलो सबै आदर्श मापदण्डमा उत्कृष्ट भएर पुरस्कार प्राप्त व्यक्तिको ‘जब इनरिचमेन्ट’ को माध्यमबाट थप प्रोत्साहन हुने छ । दोस्रो हालसम्म हामीले प्रदान गरेको निजामती सेवा पुरस्कारको नीतिगत मूल्याङ्कनसमेत हुने छ । यसबाट निजामती सेवा पुरस्कारको विविधीकरण, छनोट विधि र प्रभावकारिता परीक्षणमा आगामी बाटो तय गर्न सहयोग पुग्ने छ । 

Author

पुण्यप्रसाद भट्टराई