राजनीतिक दल, गठबन्धन तथा सङ्गठनमा हुने शक्ति र सामथ्र्यको भूमिका महत्वपूर्ण हुन्छ । राजनीतिक शक्ति र सामथ्र्य आपसमा अन्तरसम्बन्धित पनि हुन्छन् साथै यी दुवै तत्वले राजनीतिमा ठुलो प्रभाव पार्छन् । वास्तवमा राजनीतिक शक्तिको तागत त्यसको निर्णय गर्ने क्षमता, लागु गर्ने क्षमता र जनसमर्थन हासिल गर्ने क्षमतामा भर पर्छ । साथै राजनीतिक शक्ति कसरी गतिशील भएर काममा अगाडि बढिरहेको छ भन्ने कुराले राजनीतिक शक्ति र सामथ्र्यको मापन गरिरहेको हुन्छ । कुनै पनि राजनीतिक दल, गठबन्धन तथा सङ्गठनको काम गर्न सक्ने क्षमतालाई त्यसको शक्ति भनिन्छ भने निश्चित समयमा काम गर्ने दर तथा निर्णयलाई कार्यान्वयन गर्ने क्षमताको दरलाई सामथ्र्य भनिन्छ । राजनीतिक शक्ति र सामथ्र्यको सही संयोजनले राजनीतिक शक्तिको सफलता र प्रभावलाई निर्धारण गर्छ ।
राजनीतिक कार्य र शक्तिलाई एउटै सिक्काका दुई पाटाका रूपमा पनि हेरिन्छ । राजनीतिक शक्ति र सामथ्र्यको आकलन राजनीतिक बल र त्यसले गर्ने कार्यमा निर्भर हुन्छ । राजनीतिमा शक्ति र सत्ताका लागि तानातान र घचेटाघचेट निरन्तर रूपमा चलिरहने प्रक्रिया हो । एउटा राजनीतिक शक्ति र अर्को राजनीतिक शक्तिबिच आपसमा अन्तर्क्रिया हुन्छ र परिणामस्वरूप त्यहाँ राजनीतिक चाल अर्थात् राजनीतिक हलचल उत्पन्न हुन्छ । त्यसरी सत्ता र शक्तिको प्रतिस्पर्धामा राजनीतिक चाल उत्पन्न गराउन तान्नु वा घचेट्नु नै राजनीतिक बल हो । राजनीतिक बलले राजनीतिक क्षेत्रका हरेक पक्षलाई चालमा बदल्नुका साथै राजनीतिक क्षेत्रको गति परिवर्तनको दरमा फरकपन ल्याउँछ ।
राजनीतिक बलसँग परिमाण र दिशा सुनिश्चित हुन्छ । राजनीतिक शक्तिको गतिमा विभिन्न तत्वले अवरोध खडा गरिरहेका हुन्छन् । त्यस्ता अवरोधलाई परास्त गर्न राजनीतिक शक्तिले परिवर्तनको दरलाई बढाएर निरन्तर रूपमा गतिका साथ अगाडि बढ्न सक्नु पर्छ । राजनीतिक बल राजनीतिक शक्तिको मास र परिवर्तनको दरमा भर पर्छ । उच्च राजनीतिक बलका लागि मास र परिवर्तनको दर दुवै बढाउने क्षमतामा जोड दिनु पर्छ । मास तथा परिवर्तन गराउने क्षमताको दर घट्यो भने बल पनि स्वतः घट्ने हुँदा हरेक राजनीतिक शक्तिले राजनीतिक बल बढाउने प्रमुख तत्वमा ध्यान केन्द्रित गरेर काम गर्नु पर्छ । राजनीतिक बल बढाउन मास सङ्ख्यात्मक रूपमा बढाउँदै लैजानु पर्छ भने मासलाई वैचारिक, सैद्धान्तिक, साङ्गठनिक रूपमा बलियो बनाई जुझारु लडाकुका रूपमा विकास गरी परिवर्तनको दर बढाउने क्षमताको विकास गर्नु पर्छ ।
राजनीतिक शक्ति सङ्ख्यात्मक रूपमा सानो भए पनि उक्त मासमा परिवर्तन गराउने क्षमताको दर उच्च छ भने राजनीतिक बल मजबुत नै हुन्छ । त्यस्तै मासमा परिवर्तन गराउने क्षमताको दर कमजोर छ भने मासलाई व्यापक रूपमा वृद्धि गर्ने रणनीति लिनु पर्छ । परिवर्तनको एजेन्डाले कुन कुन क्षेत्र र वर्गलाई प्रतिनिधित्व गरिरहेको छ, त्यसले पनि मास वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ । एजेन्डाका कारण कहिलेकाहीँ नसोचेको मास परिवर्तनका लागि अगाडि आउने गर्छन् र उक्त मासमा परिवर्तन गराउने क्षमताको दर पनि उच्च हुने गर्छ । त्यस्तै राजनीतिक बल प्रयोग गर्नुभन्दाअघि अपेक्षा गरिएको मास अगाडि नआउन सक्छ र क्षमता पनि कमजोर हुन सक्छ । त्यस्तो अवस्थामा रणनीति परिवर्तन गरी एजेन्डामा फेरबदल गरेर राजनीतिक बलका लागि मास बढाउने र क्षमता वृद्धि गर्ने काम गर्नु पर्छ । परिवर्तनको परिणामलाई ध्यानमा राखेर बलको सञ्चय गरी विजय हासिल गर्दै राजनीतिक शक्तिहरू अगाडि बढ्नु पर्छ ।
विपरीत राजनीतिक बलविरुद्ध यदि कुनै पनि राजनीतिक शक्तिलाई चालमा ल्याइन्छ भने त्यसलाई राजनीतिक कार्य भनिन्छ । राजनीतिक कार्य हुनका लागि कनै पनि राजनीतिक शक्तिमाथि बल प्रयोग गर्दा त्यसले आफ्नो राजनीतिक स्थान परिवर्तन गरेकै हुनु पर्छ । अन्यथा त्यहाँ कुनै राजनीतिक कार्य हुँदैन । राजनीतिक कार्यका लागि राजनीतिक बलको नै मुख्य भूमिका रहन्छ । बल विपरीत शक्तिभन्दा सधैँ बढी नभई राजनीतिक कार्य सम्भव नै हुँदैन । राजनीतिक कार्य भनेको राजनीतिक शक्तिको रूपान्तरण र राजनीतिक परिवर्तन हो ।
खास गरी यथास्थानमा रहेको राजनीतिक अवस्थाबाट अग्रगमनतिर बढ्न निरन्तर रूपमा प्रयोग भइरहेको विपरीत राजनीतिक बल तथा राजनीतिक अवरोधविरुद्ध राजनीतिक कार्य गरिन्छ । जति नै बल प्रयोग भए पनि विपरीत शक्ति यथास्थानमा नै रहिरहन्छ भने त्यहाँ कुनै कार्य नभई केवल बल मात्र खर्च भइरहेको हुन्छ । विपरीत शक्ति, राजनीतिक व्यवस्था जसका विरुद्ध बल प्रयोग भएको हो, त्यसलाई बलद्वारा स्थान परिवर्तन गर्न सकियो भने त्यहाँ राजनीतिक कार्यले गुणात्मक फड्को मार्दछ । राजनीतिक शक्ति रूपान्तरण भएर राजनीतिक कार्य हुन्छ र एउटा परिणाम दिन्छ ।
कुनै पनि राजनीतिक शक्ति, दल तथा सङ्गठनसँग विशेषतः गतिशील र सञ्चित अवस्था गरी दुई किसिमका शक्ति हुन्छन् । वास्तवमा देश र जनताप्रति समर्पित भएर कानुनी राज्यको अवधारणालाई आत्मसात् गर्दै विचार र सिद्धान्तमा खारिएका दल, गठबन्धन तथा सङ्गठनसँग दुवै किसिमको शक्ति बलियो हुन्छ । समय र परिस्थिति अनुसार गतिशील राजनीतिक शक्तिलाई अझ शक्तिशाली बनाउन सञ्चित राजनीतिक शक्तिलाई गतिशील राजनीतिक शक्तिमा परिणत गरिन्छ । युद्ध, द्वन्द्व, आन्दोलन, चुनावी प्रतिस्पर्धा आदि समयका सम्पूर्ण शक्तिलाई गतिशील राजनीतिक शक्तिमा रूपान्तरण गरिन्छ, जुन राजनीतिक शक्तिले शक्ति सन्तुलनको व्यवस्थापनमा ध्यान दिएर शक्ति परिचालित गर्छ । त्यसले नै दीर्घकालीन सफलता हात पार्ने गर्छ ।
सञ्चित राजनीतिक शक्ति भनेको सधैँ तयार अवस्थामा रहने तर आवश्यकताका आधारमा मात्र प्रयोग गरिने शक्ति हो । सञ्चित राजनीतिक शक्ति दल, गठबन्धन तथा सङ्गठनको राजनीतिक उचाइमा निर्भर गर्छ । स्थायित्व र शान्तिको समयमा स्थिर रूपले सञ्चित भएर रहिरहन्छ तर राजनीतिक तरलताको अवस्थामा राजनीतिक स्थायित्वका लागि जुनसुकै बेला पनि गतिशील शक्तिमा परिणत हुने क्षमता राख्छ । यदि कुनै राजनीतिक शक्तिको उचाइ शून्य छ भने त्यस राजनीतिक शक्तिको सञ्चित शक्ति पनि शून्य नै हुन्छ । सञ्चित शक्तिलाई शक्तिको भण्डार पनि भनिन्छ ।
राजनीतिक शक्तिहरूको काम गर्ने दर वा शक्ति परिवर्तनको दरलाई सामथ्र्यका रूपमा लिइन्छ । जुन राजनीतिक शक्तिहरू देश र जनताको हितका लागि नयाँ नयाँ परिवर्तनकारी काम गर्दै जनतामाझ लोकप्रिय हुन्छन्, तिनीहरूको सामथ्र्य बढ्दै जान्छ । देश र जनताको हितविपरीत अलोकप्रिय काम गर्ने शक्तिहरूको सामथ्र्य घट्दै जान्छ । देश र जनताको हितमा प्रयोग गरिएको सामथ्र्र्य जनताको भरोसाको केन्द्र बन्दै राजनीतिक रूपले दिगो स्थायित्व प्राप्त गर्न सफल हुन्छ । राजनीतिक सामथ्र्यको तागत भनेको जति कम समयमा बढी काम गर्न सक्छ, त्यति नै बढी हुने गर्छ ।
जनता सधैँ राष्ट्र तथा जनहितमा इमानदारीका साथ पारदर्शी ढङ्गले काम गर्ने क्षमतावान् सामथ्र्य भएको राजनीतिक शक्तिका पक्षमा हुन्छन् । त्यसैले क्षमतावान् राजनीतिक शक्ति बन्नका लागि पार्टी नेतृत्व, कार्यकर्ता र जनताबिचको त्रिकोणात्मक सम्बन्ध अत्यन्त मजबुत हुनु आवश्यक छ । कुनै पनि राजनीतिक शक्तिले आफ्नो राजनीतिक बल अर्को राजनीतिक शक्तिविरुद्ध प्रयोग गर्छ । परिवर्तनका लागि बल प्रयोग गर्दा त्यहाँ परिकल्पना नै नगरिएका अवरोध पनि सिर्जना हुने गर्छन् । त्यसैले अगाडि आउने र आउन सक्ने अवरोधबारे पूर्वजानकारी राख्ने, सम्भावित अवरोधको आकलन गर्ने र अवरोधलाई कमजोर बनाउने विविध किसिमका रणनीति कार्यान्वयनमा लैजानु पर्छ । कहिलेकाहीँ आकस्मिक रूपमा नसोचेका अवरोध पनि आउने गर्छन् । त्यस्तो अवस्थामा राजनीतिक शक्तिले राजनीतिक बलको मूल्याङ्कन गरी मासमा क्षति नपुग्ने रणनीतिका साथ ठोस निर्णय तत्कालै लिन सक्नु पर्छ ।
सशक्त अवरोधले बलको दिशालाई परिवर्तन पनि गरिदिन्छ । बल कमजोर भए पछाडि हट्नुपर्ने हुन सक्छ र बल मजबुत भए थप उपलब्धि र परिवर्तनमा निर्धारित दिशामा अगाडि बढ्न सक्ने सामथ्र्यको विकास हुन्छ । शक्ति सञ्चयका लागि गठबन्धन गरिने, मोर्चाको निर्माण गरिने, आफ्नो पक्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन जुटाउने आदि विविध कार्य र विपरीत शक्तिविरुद्ध बल प्रयोग गरिन्छ ।