• ७ मंसिर २०८१, शुक्रबार

ज्येष्ठ नागरिकमा एक्लोपन

blog

सामाजिक अन्तर्क्रिया मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण औषधी हो । आपसी सद्भाव, प्रेम, सहयोग, विश्वास र समझदारीबाट आत्मबल बढ्नुका साथै मनोसामाजिक स्वस्थतासमेत प्राप्त हुन्छ । व्यक्ति व्यक्तिबिचको अन्तर्क्रियामा कमी हुनासाथ अन्तर्मुखी प्रवृत्ति बढ्दै जान्छ भने सामान्य जनजीवनबाट व्यक्ति एकाकी बन्न थाल्छ । सामाजिक, आर्थिक र राजनीतिक द्रुत परिवर्तनले व्यक्तिलाई समायोजन हुन कठिनाइ सिर्जना गरेको अवस्थामा वा उसको जीवनस्तरमा तुरुन्तै ठुलो परिवर्तन आएमा समायोजनजन्य समस्या सिर्जना हुन सक्छ । मानवनिर्मित वा प्राकृतिक जुनसुकै दुर्घटना वा विपत् सृजित समस्याबाट सबैभन्दा बढी जोखिममा बालबालिका, महिला र ज्येष्ठ नागरिक हुने गर्छन् । विपत्ले सिर्जना गरेका समस्या र तिनबाट प्रवाहित हुने परकम्पले उनीहरूका दैनिक जीवनका सामान्य क्रियाकलापमा समेत विचलन ल्याउँछन् । 

बालबालिकामा बढ्दै गएको ग्याजेटप्रतिको मोह र भर्चुअल संसारमा रम्ने प्रवृत्तिले वास्तविक रूपमा एक्लोपन सिर्जना हुँदै गएको छ । उनीहरूको परिवार, नाता सम्बन्ध र वास्तविक इष्टमित्रसँग सम्बन्धविच्छेद भएको छ । यस्तै बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका कारण ज्येष्ठ नागरिक नितान्त एक्लोपन महसुस गर्दै छन् । जीवनको सक्रिय युवावस्थामा विभिन्न काममा संलग्न भई अति व्यस्त हुने व्यक्ति वृद्धावस्थामा प्रवेश गर्नासाथ एकै पटक आर्थिक, सामाजिक र राजनीतिक शक्तिको केन्द्रबाट विस्थापित हुँदै परिधिमा पुग्छ । आफूसँग हुर्केका साथीहरूको अभावका कारण उसमा झनै एकाकीपन थप्दै जान्छ । 

एक्लोपनका कारण निम्तिएका दुर्घटनाबारे भर्खर मात्र सार्वजनिक जापानको समाचारले सबैलाई चिन्तित बनाएको छ । त्यहाँ बितेको छ महिनामा करिब ४० हजार व्यक्तिको एक्लोपनका कारण बेवारिसे मृत्यु भएको आकलन गरिएको छ । पछिल्लो समय बढ्दो सहरीकरण र प्रतिस्पर्धी जनजीवनका कारण नेपाली समाज पनि स्वार्थी बन्दै गएको छ । ज्येष्ठ नागरिकप्रति गर्नुपर्ने जिम्मेवारीबोध गर्नबाट समाज पन्छिँदै गएको छ । खास गरी युवामा विदेशमोह बढ्दै गएको छ । ग्रामीण क्षेत्रका युवा आन्तरिक बसाइँसराइका कारण सहर र सुविधासम्पन्न ठाउँमा केन्द्रित हुन थालेका छन् । बसाइँसराइका कारण उनीहरू नयाँ परिवेशमा समायोजन हुनका लागि व्यस्त जीवनशैली अपनाएका छन्, जसका कारण गाउँघरमा ज्येष्ठ नागरिक अलपत्र पर्न थालेका छन् । छोराछोरी सहरबजार वा विदेशमा बस्ने भएपछि ज्येष्ठ नागरिक नातिनातिनासँग अन्तर्क्रिया गर्दै समय व्यतीत गर्ने सौभाग्यसमेत प्राप्त गर्न सकेका छैनन् । यसले गर्दा उनीहरूमा एकलासे प्रवृत्ति बढ्दै गएको छ । बागलुङबाट वैदेशिक रोजगारीमा गएका युवाले आमाबुबाको काजकिरिया गर्न समयमा आउन नसक्ने भएकाले शव सुरक्षित राख्न सामूहिक रूपमा फ्रिज किनेको समाचारले केही समयअघि ज्येष्ठ नागरिकको वर्तमान अवस्थाबारे झस्काएको थियो । त्यतिखेर आमाबुवाप्रतिको जिम्मेवारी वहन गर्न नसक्ने युवापुस्ता भनी आलोचनासमेत भएको थियो तर वास्तविकता हामी कसैबाट छिप्न सक्ने अवस्था छैन । विदेशमा बसेका छोराछोरी भनेकै समयमा घर आउन नसक्ने भएकैले उनीहरूले विवश भई यसप्रकारको योजना गरेका हुन् । ग्रामीण क्षेत्रमा बसाइँसराइका कारण ज्येष्ठ नागरिक मात्र अलपत्र अवस्थामा बस्ने स्थिति सिर्जना भएको छ । यसले भविष्यमा जापानमा देखिएको जस्तो मृत्यु भएको लामो समय अझ बर्सौंपछि मात्र आमाबुवाका बेवारिसे शव भेटिने अवस्था नआउला भन्न सकिँदैन ।

के खोज्छन् ज्येष्ठ नागरिक ? 

भनिन्छ केटाकेटी र बुढाबुढी उस्तै उस्तै हुन् । उनीहरूलाई माया, ममता र उपयुक्त किसिमको खाना चाहिन्छ । केटाकेटी माया र खानाबाटै अरू सम्पूर्ण कुरा बिर्सन्छन् तर ज्येष्ठ नागरिक सानो कुराले पनि आफूलाई अपमानित महसुस गरेमा चिन्तित बन्छन् । यसैले उनीहरू जहिले पनि अरू व्यक्तिबाट माया, आदर र सामाजिक प्रतिष्ठा खोजिरहेका हुन्छन् । यौवन र प्रौढावस्थामा घर र समाजको जिम्मेवारपूर्ण भूमिकामा रहेका वृद्धवृद्धामा आफ्नो हैसियत र शक्ति गुमेकामा अचेतन मनबाटै चिन्तित र हीनताबोध गरिरहेको अवस्थामा हुन्छन् । वृद्धावस्था प्रवेशसँगै उनीहरूको भूमिका केन्द्रबाट क्रमशः परिधिमा पुगेको हुन्छ । मानसिक रूपमा भने विगतको भूमिकाबाट आफूलाई अलग्याउन सकेका हुँदैनन् । यसैले उनीहरू प्रौढ भइसकेका सन्तानलाई समेत सानै देख्छन् । 

अहिलेका वृद्धवृद्धा आफ्ना बुवाआमाको छायाबाट त्रसित थिए । यी वृद्धवृद्धा अहिले छोराछोरीबाट समेत त्रसित छन् । शारीरिक अस्वस्थता र अवस्थाले कमजोर तुल्याए पनि ज्येष्ठ नागरिक आफ्नो गुमेको हैसियत कायमै रहेको भ्रममा हुन्छन् । उनीहरू लामो अनुभवका कारण मानसिक रूपमा महत्वाकाङ्क्षीसमेत हुन्छन् । शारीरिक अवस्थाले मनलाई साथ नदिँदा उनीहरू आफँैप्रति विरक्तिएका हुन्छन् । शारीरिक र पारिवारिक वा सामाजिक शक्ति हराउँदा उनीहरूमा मनोसामाजिक द्वन्द्व र विचलन आएको हुन्छ । यस्तो अवस्थामा उनीहरूले समाज र परिवारबाट आदर र सम्मान खोजिरहेका हुन्छन् । नेपाली समाजमा ‘भैँसी बुढो भए भिर खोज्छ, मान्छे बुढो भए निहुँ खोज्छ’ भन्ने भनाइ प्रचलित छ । ज्येष्ठ नागरिकले आदर, सम्मान र मर्यादाको अपेक्षा गर्ने भएकैले उपयुक्त भनाइ प्रचलनमा आएको अनुमान गर्न सकिन्छ । ज्येष्ठ नागरिकलाई सबैभन्दा ठुलो सहयोग उनीहरूका कुरा सुनिदिने काम हो तर अहिले हाम्रो समाजमा ज्येष्ठ नागरिकका कुरा सुनिदिने व्यक्तिको अभाव बढ्दै गएको छ । छोराछोरी सानै उमेरबाट विद्यालय भर्ना हुने, उनीहरूको सम्बन्ध परिवारका सदस्यसँग भन्दा आफ्ना साथीभाइसँग हुने अनि उमेर बढ्दै गएपछि पेसा व्यवसायको व्यस्तताका कारण ज्येष्ठ नागरिकलाई समय दिनै नसक्ने अवस्थामा पुगेका छन् । छोराछोरीले आर्जन गरेको धनसम्पत्ति र सुख सुविधा ज्येष्ठ नागरिकका लागि पर्याप्त हुन सक्दैन । उनीहरूले घरपरिवारबाट पर्याप्त स्नेह, आदर र ममता खोजिरहेका हुन्छन् । जसको अभावले उनीहरूमा जीवनप्रतिको वितृष्णा बढ्दै जान्छ । 

के गर्ने त ?

वर्तमान समाज र सामाजिक संरचनामा युवापुस्ता अति व्यस्त हुनुपर्ने बाध्यात्मक अवस्था छ । घर छोडेर कार्यक्षेत्रमा खट्नुपर्ने बाध्यताका कारण चाहेर पनि उनीहरू ज्येष्ठ नागरिकका कुरा सुन्न सक्ने अवस्थामा छैनन् । समाजले पनि परम्परागत नैतिक मूल्य मान्यतालाई कम महत्व दिई आर्थिक अवस्थाका आधारमा सम्बन्धलाई परिभाषित गर्ने भाष्य स्थापित गरेको छ । यसले गर्दा ज्येष्ठ नागरिकले न घरबाट न त समाजबाट आदर र सम्मान प्राप्त गर्न सकेका छन् । उनीहरूका कुरा सुनिदिने, अन्तर्क्रिया, सहयोग आदर र प्रेम गर्ने कामको अभावले ज्येष्ठ नागरिकले आफू पनि समाजको सदस्य हुँ भन्ने सामाजिक सम्बन्धको अनुभूति गर्न पाएका छैनन् । आफ्ना बाल्यकालीन साथीहरूसमेत गुमाएका वा उनीहरूबाट टाढा हुनु परेका ज्येष्ठ नागरिक व्यस्त युवापुस्ता तथा ग्याजेटप्रेमी नातिनातिना पुस्ताले बेवास्ता गरिदिँदा उनीहरूको मानसिक स्वास्थ्य बिग्रँदै गएको छ । यसैले सम्भव भएसम्म संयुक्त परिवारमा रहने, ज्येष्ठ नागरिकलाई समान उमेरका अन्य नागरिकसँग अन्तर्क्रिया गर्नका लागि वातावरण सिर्जना गरिदिने, शारीरिक र मानसिक स्वास्थ्य सुरक्षाका लागि योग तथा आध्यात्मिक साधनाको वातावरण सिर्जना गरिदिने, हजुरबा हजुरआमासँग नाति पुस्ता खेल्ने, कुराकानी गर्ने वातावरण बनाउने हो भने ज्येष्ठ नागरिकले भोग्दै आएको एकलकाटे पीडा न्यूनीकरण हुन्छ । 

वास्तवमा ज्येष्ठ नागरिक अनुभवका खानी, सामाजिक मूल्य मान्यता एवं विकास निर्माणका जिउँदो इतिहास, स्थानीय सिप, प्रविधि, विश्वास र विचारका सशक्त संवाहक हुन् । अर्थमुखी वर्तमान समाजले उनीहरूका मूल्यलाई उचित स्थान दिन सकेको छैन । यस्तो परिस्थितिमा परिवारका सदस्यले ज्येष्ठ नागरिक घर र समाजमा रमाउने वातावरण सिर्जना गर्न तत्परता देखाउनु पर्छ । यसले सामाजिक मूल्य मान्यता हस्तान्तरण गर्न मात्र होइन, ज्येष्ठ नागरिकका अनुभवसिद्ध महत्वपूर्ण विधि पद्धति र सिद्धान्तहरू ग्रहण गर्नका लागि समेत सहयोग पुग्छ । ज्येष्ठ नागरिकलाई सम्पूर्ण रूपमा निवृत्त वा आश्रित व्यक्तिका रूपमा मात्र चित्रण नगरेर उनीहरूसँग भएको अथाह ज्ञान, अनुभव र अभ्यासलाई नयाँ पुस्तामा स्थानान्तरण गर्ने उपयुक्त वातावरण सिर्जना गरे ज्येष्ठ नागरिक वास्तवमै समाजका गौरवपूर्ण सम्पदा बन्न सक्छन् । पारिवारिक र सामाजिक सम्मिलनले उनीहरूको जीवनप्रतिको दृष्टिकोण बदलिन सक्छ अनि जापानमा जस्तै बेवारिसे भई मृत्युवरण गर्ने अवस्था आउन दिँदैन ।  

Author

प्रेमनारायण भुसाल