• ९ मंसिर २०८१, आइतबार

विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुनु हुँदैन : नेता महर

blog

नैनसिंह महर । फाइल तस्बिर

काठमाडौँ, भदौ १९ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुन नहुने बताउनुभएको छ । 

नेपाल प्राध्यापक सङ्घसँगको कार्यक्रममा सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयले देशभरका दर्जनौँ क्याम्पसलाई सम्बन्धन दिइरहेको प्रति इङ्गित गर्दै महरले पहिला विश्वविद्यालय आफैँमा व्यवस्थित हुनुपर्ने बताउनुभएको हो । 

‘‘देशभित्र प्रादेशिक रूपमै विश्वविद्यालय खोल्ने लहर चलेको छ। प्रादेशिक स्तरमा खुलेका विश्वविद्यालयले लक्ष्य र उद्देश्य विमुख भएर सम्बन्धन वितरण गर्ने कार्य भइरहेको छ। उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी घट्दै गएको अवस्थामा प्रादेशिक तह‌मा विश्वविद्यालय विस्तार गर्दै जानुको औचित्यमाथि प्रश्न उठेको छ ।  आफ्नो क्षमता वृद्धि नगरी संरचना मात्र विस्तार गर्ने विषय उपयुक्त हुँदैन,’’ महरले भन्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुनुहुन्छ। यस्तो लापरबाहीमा कुलपति जानकार भएको हो भने अचम्म मान्नुपर्छ। राज्यले कति विश्वविद्यालय आवश्यक छन् भन्ने कुरा र विश्वविद्यालयले सम्बन्धनलगायत सवाललाई अगाडि बढाउँदा शिक्षा नीति एवं वर्तमान संविधान‌को उद्देश्य मनन गरिनुपर्छ ।’’

लोककल्याणकारी राज्यमा शिक्षा राज्यको दायित्व भएकाले सोही अनुरूप सरोकारवाला अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ। विश्वविद्यालयको उद्देश्य राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्नु भएकाले त्यसैमा केन्द्रित हुन पनि उहाँले सुझाव दिनुभयो ।

विद्यमान उच्च शिक्षा प्रणाली राज्यको दायित्वबाट बाहिर जान थालेको र विश्वविद्यालयबाट उत्पादित जनशक्ति विदेशीका लागि उत्पादन गरेजस्तो देखिएको महरको टिप्पणी छ। उच्च शिक्षामा विद्यमान समस्या समाधानका लागि सरकारसहित सरोकारवाला सबै निकाय गम्भीर र जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।