• २७ पुस २०८१, शनिबार

दोलखामा पूर्वाधार विकास कार्यालय स्थापना

blog

पूर्वाधार विकास कार्यालय । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट ,भदौ १९ गते । दोलखामा पूर्वाधार विकास कार्यालयको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सो कार्यालय दोलखामा पनि स्थापना गरिएको हो । 

पूर्वाधार कार्यालय दोलखाको प्रमुखमा हरि प्रसाद ओझा तोकिनुभएको थियो । कार्यालय स्थापना भएसँगै विकास निर्माणसँग सम्बन्धित कामका लागि सेवाग्राहीले एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने दोलखावासीको बाध्यता अन्त्य भएको हो ।

आफ्नै जिल्लामा कार्यालय नभएपछि सडक, पुल, झोलुङ्गे पुल लगायत विकास निर्माणसँग सम्बन्धित कामका लागि सेवाग्राही अर्को जिल्लामा जानुपर्ने अवस्था रहेको थियो । सिन्धुपाल्चोक जिल्लाको चौतारास्थित पूर्वाधार विकास कार्यालयले सिन्धुपाल्चोक र दोलखा गरी गरी दुई जिल्ला हेर्ने ग¥थ्यो ।

बाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सङ्घीयताको कार्यान्वयनपछि जनताको घर आँगनबाटै सेवा प्रवाह गर्ने भनिए तापनि जनताले विगतमा भन्दा झन् बढी सास्ती पाएकोले जिल्लामै पूर्वाधार कार्यालय स्थापना गरिएको बताउनभयो । प्रदेश सरकारका कार्यालय नहुँदा सेवा सेवा लिन अरू जिल्ला जानुपर्ने गुनासो आएको र अनावश्यक दुःख बेहोर्नुपर्ने भएकाले जिल्लामा अरू प्रदेश सरकारका कार्यालय पनि स्थापना गर्ने योजना रहेको मन्त्री काफ्लेले बताउनुभयो । सरकारले विकास निर्माण सम्बन्धी कामको प्रमुख जिम्मेवारी रहेको पूर्वाधार विकास कार्यालयको सेवा विस्तार गर्न लागेको उहाँको भनाइ छ ।

नयाँ आर्थिक वर्षबाट सेवाग्राही सेवा लिनका लागि एक जिल्लाबाट अर्को जिल्लामा जान नपर्ने गरी भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालयको व्यवस्थापन गरिएको हो । पूर्वाधार तथा विकास निर्माणसम्बन्धी सेवा लिनका लागि अब भने सहज हुने कार्यालय प्रमुख ओझाले बताउनुभयो ।

कार्यालयमा १२ जनाको दरबन्दी कायम गरिएको छ । कर्मचारी आउने क्रम जारी छ कार्यालयलाई व्यवस्थापन गरेर छिटै नै विकास निर्माणका काम अगाडी बढाउने उहाँले बताउनुभयो ।

ओझाले भन्नुभयो, "दोलखामा जिल्लामा सञ्चालित विकास योजनाका फाइलहरू सिन्धुपाल्चोकबाट ल्याउने प्रक्रिया सुरु भैसकेको छ । चालू आर्थिक वर्षका सम्पूर्ण कार्यक्रम कार्यान्वयन दोलखाबाट नै हुन्छ । क्रमागत योजनाहरूका फाइल पनि ल्याएर त्यसको अनुगमन सुरु गर्छौँ ।" बागमतीको भौतिक पूर्वाधार विकास मन्त्रालयले जिल्लाका चालू आर्थिक वर्षका कार्यक्रमहरू पठाइसकेको छ। बजेट भाषणबाट पारित भएका कार्यक्रमहरू सबै जिल्ला आइसकेको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको पूर्वाधार विकास अन्तर्गत सडक, मोटरेबल तथा झोलुङ्गे पुल लगायतको पूर्वाधार निर्माण तथा सुधारका क्षेत्रमा काम हुने बताइएको छ ।