• २६ पुस २०८१, शुक्रबार

सुकेटारमा तीन महिनापछि उडान सुरु

blog

ताप्लेजुङको सुकेटार विमानस्थल नेपाल वायुसेवा निगमको उडान सुरु । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ १९ गते ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान सुरु भएको छ । प्रतिकूल मौसमका कारण उडान बन्द भएको तीन महिनाभन्दा बढी समयपछि सुकेटारमा नेपाल वायुसेवा निगमले उडान सुरु गरेको हो ।

मौसममा सुधार आउन थालेसँगै बुधबारदेखि उडान सुरु भएको ताप्लेजुङस्थित नेपाल वायुसेवा निगमको स्टेसन कार्यालय इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिनुभयो । इन्चार्ज कार्कीका अनुसार नेपाल वायुसेवा निगमले ताप्लेजुङका लागि पछिल्लो केही साता अघिदेखि नै उडान तालिका राखेको भए पनि मौसम उपयुक्त नहुँदा उडान भएको थिएन ।

मौसममा पूर्ण सुधार आइनसकेको भए पनि बुधबार भने निगमको उडान गर्न सफल भएको उहाँले बताउनुभयो । अब निगमको तालिकाअनुसार यही भदौ ३० गते (सेप्टेम्बर १५) सम्म हप्ताको एकदिन बुधबार र त्यसपछि यात्रुको चापलाई हेरेर सुकेटारमा उडान सञ्चालन गर्ने निगमको तयारी रहेको पनि कार्कीले जानकारी दिनुभयो ।

बर्खायाम सुरु भएपछि गत जेठ ११ गतेदेखि सुकेटार विमानस्थलमा उडान बन्द भएको थियो । करिब तीन महिना आठ दिनपछि उडान सुरु भएको र जिल्लास्थित स्टेसन कार्यालयका अनुसार बुधबार पहिलो उडान भएकाले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ दुवैतर्फ विमानको पूर्ण क्षमतामा यात्रु थिएनन् । आउँदो उडानका लागि भने यात्रुले सम्पर्क गरिरहेका स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो ।

उडान सुरु भएपछि नजिकिएको दसैँ तिहारजस्ता चाडपर्व र पर्यटकीय मौसम पनि सुरु भएकाले यात्रुलाई सुविधा हुने अपेक्षा गरिएको छ । निगमले नियमित उडान सञ्चालन गरेर ताप्लेजुङ आउने पर्यटक तथा सर्वसाधारण यात्रुलाई सुविधा दिनुपर्ने जिल्लावासीको भनाइ रहेको छ ।

यता सुकेटार विमानस्थलमा एकमात्र नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले उडान भर्दै आएको छ । निगमका अनुसार ताप्लेजुङ–काठमाडौँका लागि पछिल्लो भाडादर भने प्रतिव्यक्ति नौ हजार ४७६ रुपियाँ छ ।