कावासोती समाचारदाता
कावासोती, भदौ १८ गते । नवलपुरका द्वन्द्वपीडित परिवारले १० वर्षे सशस्त्र द्वन्द्वबाट प्रभावितले अझै पनि न्याय पाउन नसकेको बताएका छन् । कलिलो उमेरमा विवाहमा बाँधिनुभएका कावासोती–२ का पार्वती सिग्देल आफ्नो श्रीमान् बेपत्ता भएपछि पर्खेर बसेको ३० वर्ष पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लास नदेख्दासम्म सास छ कि भन्ने आस हुँदो रहेछ ।” समाजका अगुवाले अब श्रीमान् फर्कंदैनन् भन्दा आफ्नो मनले नमान्ने उहाँ बताउनुहुन्छ ।
देवचुली नगरपालिका–१५ की उत्तरकुमारी रानाभाटकी छोरी सम्पर्कविहीन भएको २६ वर्षभन्दा बढी भयो । २०५५ सालमा बेपत्ता भएकी १७ वर्षीय छोरी टीका रानाभाट अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन । गाउँमा छोरीको कुशको शव बनाएर किरिया गर भनेर आवाज उठिरहने भए पनि फर्किने आसमा रहेको रानाभाट बताउनुहुन्छ ।
कावासोती–४, हसौरामा बसोबास गर्दै आउनुभएका चीनबहादुर गुरुङ र उहाँकी श्रीमती दुवै जना सशस्त्र द्वन्द्वमा परेर घाइते हुनुभएको छ । माओवादीको जनमुक्ति सेनामा रहँदा घाइते चीनबहादुरको शरीरमा गोलीका छर्रा अझ पनि छन् । उहाँलाई हिँडडुल गर्न र काम गर्न नसक्दा आफू एक्लैले ज्याला मजदुरी गरी जीवनयापन गरेको श्रीमती लालमती गुरुङले बताउनुभयो । दुई छोरी र एक छोरा रहेको उहाँको परिवारलाई राज्यबाट अहिलेसम्म पनि केही सहयोग नपाएको गुनासो गर्नुभयो ।
बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगमा भएको तथ्याङ्क अनुसार नवलपुरमा २५ घरपरिवार रहेको बताइएको छ । द्वन्द्वपीडित महिला सञ्जाल नवलपुरका अध्यक्ष पार्वती सिग्देलले बसाइँ सरेर आएका तीन जना, सञ्जालको सम्पर्कमा २६ जना र एक जना केही समयअगाडि बेपत्ता भएको गरी ३० जना रहेको बताउनुभयो । सञ्जालले प्राप्त गरेको तथ्याङ्क अनुसार १०२ सहिद परिवार, राजपत्रमा ३५ जना राष्ट्रिय सहिद घोषणा गरिएका छन् । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार सत्यनिरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी परेका छन् । व्यक्ति हत्यामा १० हजार ८५८ जना, अपहरण तथा शारीरिक बन्धकमा चार हजार ३१६, शारीरिक तथा मानसिक यातना १९ हजार ८७४, बलात्कार तथा यौनजन्य हिंसा ३१४ रहेको जनाइएको छ ।
विनयीत्रिवेणी–२ का स्थानीय हरि खड्काले २०७१ माघ २७ गते सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोग गठन भएको भए पनि काम हुन नसकेको बताउनुभयो । सहिद, बेपत्ता परिवारको अवस्था के छ कसरी जीवन निर्वाह भएको छ भन्नेबारे सरकारले ध्यान पु¥याउन नसकेको उहाँको भनाइ छ ।
सहिद, बेपत्ता, अपाङ्गता, विस्थापित, कुटपिट, शारीरिक तथा मानसिक यातना, बलात्कार, यौनहिंसा, जेलनेललगायत विभिन्न किसिमका यातना भोगेका व्यक्तिले न्याय पाउन नसकेको बताइएको छ । अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवस मनाइरहँदा यो दिवसमा मात्र भन्दा पनि सरकारले बेपत्ता परिवारप्रति चासो दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सम्पर्कविहीन भएका परिवार आउँछन् भन्ने सबैको आशा भने मरेको छैन ।