• २८ पुस २०८१, आइतबार

दिगो आर्थिक सुधारमा जोड

blog

काठमाडौँ, भदौ १८ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसँग भेट गरी दिगो आर्थिक सुधारका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराएको छ । 

सोमबार भएको भेटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा सुधार देखिए पनि तीव्र र दिगो विकासका लागि सरकारले गठन गर्ने भनिएको उच्चस्तरीय आर्थिक सुधार आयोगले विशेष ध्यान दिनुपर्ने र यसमा महासङ्घले सघाउने धारणा राख्नुभयो । “महासङ्घको आग्रहमा नयाँ चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक छ,” उहाँले भन्नुभयो, “अर्थतन्त्रको दिगो सुधारका लागि नीतिगत सुधारमा काम गर्नु पर्छ ।” निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरी कानुन बनेकोतर्फ अध्यक्ष ढकालले मुख्य सचिव अर्यालको ध्यानाकर्षण गराउँदै यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गर्नुभयो । 

निजी क्षेत्रको मर्यादाक्रमका लागि महासङ्घले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रूपमा लिन पनि मुख्य सचिव अर्यालसमक्ष आग्रह गर्नुभयो । सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाई सुशासनको प्रत्याभूति दिलाउनु पनि आवश्यक रहेको उहाँको भनाइ थियो ।

भेटमा मुख्य सचिव अर्यालले निजी क्षेत्रको महत्व आफूले बुझेको र लगानी प्रोत्साहित हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटोछिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिनुभयो ।

उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउनेसम्बन्धी कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।