• १७ भदौ २०८१, सोमबार

पत्रकारितामा मोतीराम भट्टको योगदानको चर्चा

blog

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागद्वारा आज आयोजित कार्यक्रमका अतिथिहरु ।

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ १७ गते । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग काठमाडौँले १५९ औँ मोती जयन्तीको अवसरमा साहित्यिक पत्रकारितामा उहाँले खेल्नुभएको योगदानबारेमा चर्चा गरेको छ ।  

मोतीराम भट्टले साहित्यिक, समालोचनात्मक विधामा गर्नुभएको योगदानको चर्चा हुने गरे पनि पत्रकारिता क्षेत्रमा उहाँले गरेको योगदानको पनि सँगसँगै चर्चा हुन आवश्यक रहेको वक्ताहरूले सुझाव दिनुभयो । 

भारतको बनारसमा बसेर ‘गोरखा भारत जीवन’ नेपाली भाषाको साहित्यिक पत्रिका प्रकाशन गरी उहाँले पहिलो पटक नेपालीभाषी पत्रिका प्रकाशन गरेको विज्ञहरूको भनाइ छ । सोहीअनुसार भट्टलाई प्रथम नेपालीभाषी पत्रकार भन्नुपर्ने बुझाइ विज्ञहरूको छ । 

भट्टले वि.सं. १९३८ मा उहाँले ‘गोरखा भारत जीवन’ पत्रिका प्रकाशन गर्नुभएको थियो । उहाँले प्रकाशन गर्नुभएको त्यही पत्रिका नेपाली भाषाको पहिलो पत्रिकाको रूपमा चित्रण गरिन्छ । भट्टको वि.सं. १९२३ भदौ २५ गते कुसेऔंसीका दिन जन्म भएको थियो । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्यले मोतीराम भट्ट बहुआयामिक व्यक्तित्व रहनुभएको र उहाँको योगदानको जति चर्चा गरे पनि कम हुने बताउनुभयो । पत्रकारितामा चित्रकला र सौन्दर्यीकरणको पनि आवश्यकता रहेको छ भन्दै उहाँले पत्रिकालाई आकर्षक बनाउन चित्रकलाको महत्त्व रहेको बताउनुभयो । भट्टले चित्रकला तथा शृङ्गारिकतालाई समेत प्राथमिकता दिनुभएको उहाँले स्मरण गर्नुभयो ।

मानविकी तथा सामाजिक शास्त्र सङ्काय डिनको कार्यालयका सहायक डिन प्रा.डा. गोविन्द सुकुम शर्माले मोतीरामले अनुसन्धानको क्षेत्रमा पनि अतुलनीय योगदान दिनुभएको उल्लेख गर्नुभयो । कति लामो आयु बाँच्यो भन्दा पनि छाेटो समयमा कति धेरै योगदान दियो भन्ने विषयले महत्त्व राख्छ भन्दै भट्ट ३० वर्ष मात्र बाँचेर नेपाल र नेपालीका लागि ठुलो योगदान दिएको चर्चा गर्नुभयो । 

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. कुन्दन अर्यालले पत्रकारिता प्रवर्धनका लागि खुला समाजको खाँचो रहेको चर्चा गर्नुहुँदै जुनसुकै विधाबाट पनि सञ्चारको काम हुनेगरेको बताउनुभयो । मुद्रण आफैमा एक किसिमको क्रान्ति भएको चर्चा गर्दै उहाँले त्यतिबेला मोतीराम भट्टले गर्नुभएको प्रकाशन एक किसिमको क्रान्ति नै थियो, भन्नुभयो ।  


भट्टको साहित्यिक योगदानको चर्चा धेरै भए पनि पत्रकारितामा दिनुभएको योगदान ओझेलमा परेको भन्दै डा. अर्यालले यसलाई उजागर गर्न विभागले पहिलो पटक कार्यक्रम आयोजना गरेको जानकारी गराउनुभयो । पत्रकारिता गर्न यसको सीप, ज्ञान र अवधारणा जान्न आवश्यक छ, भन्नुभयो । 

वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेले भानुभक्तको जीवनी लेखेर उहाँलाई चिनाउने काम मोतीराम भट्टले गर्नुभएकाले उहाँको स्थान भानुभक्तभन्दा माथि रहेको चर्चा गर्नुभयो । मोतीरामको सिर्जनात्मक शैली र सोचबारे थप अनुसन्धानको खाँचो उहाँले औँल्याउनुभयो ।  

त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्रमुख प्रा.डा. कृष्णप्रसाद न्यौपानेले मोतीराम भट्टले नेपाली साहित्यिक वाङमय क्षेत्रको श्रीवृद्धिमा अतुलनीय योगदान दिनुभएको चर्चा गर्नुभयो । आफ्नो जीवनकालमा उहाँले थुप्रै प्रकाशनको काम गरेर मुद्रण क्षेत्रलाई प्रवर्धन गर्नुभएको थियो भन्दै नेपालमा गजल भित्र्याउन पनि भट्टको योगदान अग्रणी रहेको बताउनुभयो । 

रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका नेपाली भाषा प्रमुख डा. विदुला घिमिरेले मोतीरामले उर्दू र फारसी भाषाबाट नेपालीमा उल्था गरी नेपालमा गजल विधा भित्र्याएको बताउनुभयो । भट्ट युगले जन्माएको महापुरुष भएको बताउनुभयो ।

पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. कुन्दन अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उप–प्राध्यापक डा. देवराज अर्याल, उप–प्राध्यापक डा. घमराज लुइँटेलले मोतीराम भट्टको विविध योगदानबारे चर्चा गर्नुभएको थियो ।