• २६ पुस २०८१, शुक्रबार

सिद्धबाबा सुरुङमार्ग ‘एक सय दिनमै छिचोलिने छ’

blog

बुटवल समाचारदाता

बुटवल, भदौ १७ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास निर्माणको काम सरकारको पहिलो प्राथमिकतामा रहेकाले अब निर्माणको काम तीव्र रूपमा अघि बढ्ने बताउनुभएको छ । मन्त्री दाहालले पुराना आयोजनाको भुक्तानीको काम छिटै सम्पन्न गरी अर्को महिनादेखि विकास निर्माणको काम सुरु हुने बताउनुभयो । प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले पुराना योजनाको भुक्तानीमा केही ढिलाइ भएको उल्लेख गर्दै सरकारले निर्माण व्यवसायीको बक्यौता भुक्तानीका लागि पहल गरिरहेको उल्लेख गर्नुभयो ।   

उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलद्वारा निर्माण व्यवसायीको बक्यौता रकम छिटो भुक्तानी गरेर विकास निर्माणको काम छिटो अघि बढाउने प्रतिबद्धता व्यक्त भएकाले अर्को महिनादेखि निर्माणको कामले गति लिन्छ ।” 

उहाँले राजस्व सङ्कलनमा केही कमी आएका कारण पुराना योजनाको भुक्तानीमा ढिलाइ भएको स्वीकार गर्नुभयो । सरकारले नयाँ योजना अघि बढाउने भन्दा पनि पुराना योजना सम्पन्न गर्नेतर्फ ध्यान दिएको बताउँदै मन्त्री दाहालले पुराना योजनाको भुक्तानीपछि नयाँ योजनाको काम पनि तीव्र हुने उल्लेख गर्नुभयो । मन्त्री दाहालले बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको कामको प्रगतिका विषयमा पनि जानकारी लिनुभएको छ । उहाँले सिद्धबाबा सुरुङमार्गको काम एक सय दिनभित्रै छिचोलिन (ब्रेक थ्रु) हुने गरी काम छिटो गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको बताउनुभयो । 

सिद्धबाबा सुरुङमार्ग निर्माणको काम निर्धारित मितिभन्दाअगावै सकिने अवस्था देखिएको बताउँदै मन्त्री दाहालले निर्माण कम्पनीले गरिरहेको कामले आशा जगाएको उल्लेख गर्नुभयो । नारायणगढ–बुटवल सडक विस्तारको काममा ढिलासुस्ती भइरहेको बताउँदै मन्त्री दाहालले अब निर्धारित समयमा काम सम्पन्न नगरे ठेक्का तोड्ने जानकारी निर्माण कम्पनीलाई दिइएको स्पष्ट गर्नुभयो ।