• १६ भदौ २०८१, आइतबार

राजनीतिक कार्यक्रममा बालबालिका

blog

कालीकोट समाचारदाता

कालीकोट, भदौ १६ गते । राजनीतिक दलहरूले आफ्ना कार्यक्रमलाई सफल पार्न बालबालिकाको प्रयोगलाई बढाएका छन् । जुम्ला जिल्लाको सिँजामा सुरु भएको नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको जिल्ला सम्मेलनमा जुम्ला जिल्लाका विभिन्न विद्यालयबाट बालबालिकालाई गाडी रिजर्भ गरेर सहभागी गराइएको छ । जुम्लाका सबै पालिकामा रहेका आधारभूत तथा माध्यमिक विद्यालयका विद्यार्थीलाई सम्मेलनमा सहभागी गराइएको हो । 

विद्यालय बन्द गरेर अनेरास्ववियु क्रान्तिकारीले जिल्ला सम्मेलन सफल पार्नका लागि विद्यार्थीलाई सार्वजनिक बसमार्फत सिँजा पु¥याएको हो । तातोपानी गाउँपालिकाका नागरिक समाज सञ्जालका संयोजक प्रेमबहादुर अधिकारीले राजनीतिक दलमा आबद्ध विद्यार्थी सङ्गठनले बालबालिकालाई आफ्नो अधिकारका लागि भन्दै कार्यक्रममा लिने गरेको बताउनुभयो । उहाँले माथिल्लो तहका नेतालाई भेट्ने कोसिस गरेको बताउँदै एकाएक सार्वजनिक बसका छतमा विद्यार्थीलाई जोखिमपूर्ण रूपमा कार्यक्रममा लिइरहेको देखेपछि  रोक्ने प्रयास गर्दा पनि रोक्न नसकिएको बताउनुभयो । 

बालबालिकासम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ मा बालबालिकाविरुद्धको कसुरको व्यवस्था गरिएको छ । ऐनको दफा ६६ मा कुनै पनि बालबालिकालाई राजनीतिक प्रयोजनका लागि सङ्गठित गर्ने वा हडताल, बन्द, चक्काजाम, धर्ना र जुलुसमा सहभागी गराउन नहुने उल्लेख छ । यसको उल्लङ्घन गरेमा ७५ हजार रुपियाँ जरिबाना र तीन वर्ष कैद सजाय हुने उल्लेख छ तर राजनीतिक दलका भ्रातृ सङ्गठनले प्रायः आफ्ना भेला, जुलुसमा बालबालिकाको प्रयोग गर्ने गरेका छन् ।