मानिस ज्ञानको भोको र जिज्ञासु प्राणी हो । यही भोक र जिज्ञासाको बिचबाट संसारमा प्रतिदिन नवीनतम सिर्जना भइरहेको छ, जसले मानव जीवनलाई परिष्कृत र सहज बनाइरहेको छ । मानव जीवनको विकासव्रmमसँगै ज्ञान हासिल गर्ने परम्परा प्राकृतिक रूपमै विकसित भएको पाइन्छ, जुन समयव्रmमसँगै बढोत्तरी हुँदै आएको छ । स्मृतिमा आधारित ज्ञानलाई लिपिबद्ध गर्ने प्रचलन सुरु भएसँगै सङ्ग्रह गर्ने कार्य पनि सुरु भएको हुनु पर्छ । यस्तो सङ्ग्रह मूलतः व्यक्तिबाट प्रारम्भ भई सामूहिक प्रयास बन्दै अन्ततः पुस्तकालयको आकारमा आइपुगेको हुनु पर्छ । ‘पुस्तकालय’ शब्द ‘पुस्तक’ र ‘आलय’ शब्दको समासद्वारा निर्मित छ; जसको अर्थ हुन्छ– पुस्तकघर । पुस्तकभित्र पढ्ने, पढाउने, पाठ गर्ने गराउने आदि उद्देश्यले तर्क, विचार, भावना, ज्ञानविज्ञान आदिका विषयमा लेखिएका वा छापिएका हुन्छन् । त्यस्ता महìवपूर्ण सन्दर्भहरूको अमूल्य सङ्ग्रह हो, पुस्तकालय । चैतन्य र प्रज्ञाले नै मानिसलाई सामाजिक तथा भाषिक प्राणी बनाएको छ । उसको लागि विचार विनिमय गर्न ज्ञानको आवश्यकता पर्छ । उक्त ज्ञान उसले किताबमा लुकेको खजानाबाट लिन्छ । मौखिक अभिव्यक्तिद्वारा व्यक्त ज्ञान स्मरण नभएमा विलय भएर जान्छ । त्यसकारण लिखित पुस्तकहरू ज्ञानका भण्डार र स्रोत हुन् । हिजोको इतिहास, धर्म, परम्परा, संस्कृति, भूगोल, विज्ञान आदि ज्ञानको सङ्ग्रह नभएको भए आज त्यसमाथि अनुसन्धान हुन सक्थेन । यसो नभएको भए नयाँ ज्ञान र विचार जन्मने थिएन । मानिसहरू पाषाण युगदेखि सूचना प्रविधिको युगसम्म आइपुग्नमा पुस्तक र पुस्तकालयको सर्वाधिक महìवपूर्ण योगदान रहेको देखिन्छ । त्यसैले पुस्तकालय ज्ञानको मुख्य स्रोत हो, आधार हो, ज्ञानको जग हो ।
पुस्तकालय इतिहास : माटोको खबटादेखि डिजिटल
विश्वमा सुमेरियन र मेसोपोटामियनहरूले गिला माटाका खबटा, मैन, जनावरका छाला, बाँसका पट्यास र भाटा आदिमा मानिसले आफ्ना भावना र विचार चित्रात्मक लिपिमा लेखेर राख्थे । तिनै लिपिको सङ्ग्रह नै पुस्तकालय विकासको जग मानिन्छ । युरोपेली देशहरूमा पुनः जागरण अभियानसँगै उन्नाइसौँ शताब्दीयता पुस्तकालयको विकास र विस्तार द्रुत गतिमा भएको पाइन्छ । नेपालमा पुस्तक सङ्ग्रहको इतिहास मल्लकालसँग जोडिन पुग्छ । राजा भूपतिन्द्र मल्लका समयमा भक्तपुरमा सफु कोठा (साकोठा) अर्थात् पुस्तक राख्ने कोठाको चलन सुरु भएको थियो । यसको तिथिमितिको प्रमाण प्राप्त नभए पनि राजा भूपतिन्द्र मल्लको पहलमा सो बनेको पाइन्छ । राष्ट्रिय अभिलेखालयमा रहेको ‘थ्यासफु’ (दैनिकी) मा उल्लेख भए अनुसार विसं ८२९ देखि ८३७ सम्मको अवधिमा मल्लले एक हजार १९० पुस्तक सङ्ग्रह गरी पुस्तक घरमा राख्नुभएको थियो । विसं १८६९ मा तत्कालीन राजा गीर्वाणयुद्धवीरविक्रम शाहका पालामा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा युद्धमा जितेर ल्याइएका सामग्रीलाई सूचीकृत गरेर राख्न एक जना कर्मचारी खटाइएको थियो । विसं १८६९ भदौ १५ गते लालमोहर जारी गरी पण्डित केदारनाथ झालाई पुस्तक चिताई तहबिल र अर्का एक जनालाई टहलुवा पदमा कर्मचारी नियुक्ति गरिएको थियो । त्यही ऐतिहासिक दिनको स्मरणमा नेपालमा विसं २०६५ देखि भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउन थालियो ।
प्रजातन्त्रसँग जोडिएको पुस्तकालय साइनो
नेपालमा पुस्तकालयको विकासक्रम केलाउँदा त्यो नेपाली प्रजातान्त्रिक आन्दोलनसँग समेत गाँसिन पुग्छ । विसं १९०३ पश्चात् निरन्तर तत्कालीन राज्यसत्ताले जनताको अधिकारमाथि अङ्कुश लगाउँदै चेतना र चैतन्यको मार्ग बन्देज गरेकोमा विसं १९८७ मा केही युवाले पुस्तकालय खोल्न गरेका प्रयत्न, त्यसमाथि राज्यसत्ताले लिएको दमनकारी नीति ‘लाइब्रेरी पर्व’ का रूपमा नेपाली इतिहासमा परिचित छ । पुस्तकमार्फत चेतना जागृत गरेको अभियोगमा प्राणदण्ड पाएका सुब्बा कृष्णलाल अधिकारी र उहाँको कृति ‘मकैको खेती’ होस्, विसं २००४ मा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीले पाठशालामा भूगोल र इतिहास जस्ता विषय समावेश गर्न माग गर्दै गरेको ‘जयतु संस्कृतम् आन्दोलन’ होस् वा विसं २००७ सालको प्रगतिवादी साहित्यिक आन्दोलन या त पञ्चायतको कालरात्रिमा रूपान्तरणको आलोक बाल्न साहित्यकार, सञ्चारकर्मी र सङ्गीतकारले थालेको आयामेली आन्दोलन (२०२०)– यी सबैको गन्तव्य स्वतन्त्रतामार्फत चैतन्यको खोजी नै हो ।
यसै गरी राल्फा आन्दोलन (२०२४), बुट पालिस अभियान (२०३१), लीलालेखन आन्दोलन (२०३४), भोक कविता आन्दोलन (२०३९), जनआन्दोलन कविता (२०४६) तथा पछिल्ला दशकमा गणतन्त्रको प्राप्तिका खातिर चलाइएका लोकतान्त्रिक गणतन्त्रवादी साहित्यिक आन्दोलन (२०५७), गणतान्त्रिक कविता आन्दोलन (२०६१), लोकतान्त्रिक साहित्यिक आन्दोलन (२०६२), फाँसीवादविरुद्ध साहित्यिक आन्दोलन (२०६३), गणतान्त्रिक सांस्कृतिक आन्दोलन (२०६३) यी सबै अभियान र आन्दोलनले पुस्तक र पुस्तकमार्फत चेतना र चैतन्यको विस्तारसँगै सामाजिक रूपान्तरणमार्फत पुस्तौँपुस्ताको स्वतन्त्रता र नागरिक सर्वोच्चताको अभिलाषालाई जोड्ने सेतुको काम गरेका छन् ।
इतिहासका विभिन्न कालखण्डमा चेतनाको दावानल बाल्दै नेपाली समाजमा चेतनाको प्रकाशपुञ्ज छर्न खुलेका सहरी तथा ग्रामीण क्षेत्रमा रहेका सबै खाले पुस्तकालय राणाशासन, पञ्चायती राज र माओवादी द्वन्द्वको निसानामा परिरहे । तथापि नेपाली समाजको ज्ञान प्राप्तिको हुटहुटी र चेतना विकासको तृष्णालाई कोही कसैले निर्बल तुल्याउन सकेन । परिणामतः पुस्तकालय स्थापना र विस्तारले झन् झन् गति लिन थाल्यो ।
बढ्दो पुस्तकालय क्रेज
समय र प्रविधिको विकासक्रमसँगै फेरिएको परिस्थितिले पुस्तकालयको स्वरूपमा परिवर्तन आउन सक्छ । यद्यपि यसको सान्दर्भिकता र आवश्यकता भने सदासर्वदा रहिरहने छ । जतिसुकै पुस्तकप्रेमी पाठक किन नहोस्, उसलाई सबै पुस्तक किनेर साध्य पनि हुँदैन र कतिपय बहुमूल्य पुस्तक किन्न खोज्दा पनि पाठकले नपाउने परिस्थिति बन्छ । त्यस्तो परिस्थितिमा पाठकको ज्ञानतृष्णा मेट्न पुस्तकालयले गुरुगहन दायित्व निर्वाह गरेका हुन्छन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेका ‘मुनामदन’ र ‘शाकुन्तल’ को मूल्यमा कहिल्यै खिया लाग्दैन; न त सेक्सपियरले लेखेका ‘ह्याम्लेट’ र ‘रोमियो जुलियट’ नै कहिल्यै पुराना हुन्छन् । त्यसैले त यस्ता मूल्यवान् पुस्तकको सङ्ग्रह गर्नुपर्नेमा जोड दिँदै सुप्रसिद्ध वैज्ञानिक हेनरी डेभिड थोरो भन्छन्, “पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन ।” अनि अङ्ग्रेजी कवि कार्लाइल भन्छन्, “पुस्तकहरूको सङ्कलन नै आजको युगको वास्तविक विद्यालय हो ।” डा. रिकार्ड वमवरजरका अनुसार पढाइ भनेको एउटा रमाइलो आनन्ददायी अनुभव र ज्ञानमा पस्ने मुख्य ढोका हो । राम्रा र असल पुस्तक पढ्नाले मानिसलाई विभिन्न समस्या एवं चिन्ताबाट मुक्ति दिलाई साहस र प्रेरणा भर्छन् । यसर्थ पनि पुस्तकालयको सान्दर्भिकता बढ्दो क्रममा छ । त्यसैले त विश्वविख्यात नाटककार जर्ज बनार्ड सा भन्छन्, “विचारको युद्धमा पुस्तक अस्त्र बराबर हुन्छ ।”
पुस्तकालय एक, व्यथा अनेक
शिक्षा मन्त्रालयले शान्ति भोलेन्टियर एसोसिएसन र रिड नेपालको सहकार्यमा २०७८/७९ मा गरेको सर्वेक्षण अनुरूप देशभरि सामुदायिकस्तरमा खोलिएका ६८१ पुस्तकालय बन्द भएको पाइएको छ । विसं १९७४ देखि २०७८/७९ मा खुलेका ९२८ पुस्तकालयमध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको सङ्ख्या २२७ मात्रै छ ।
विसं २०१३ मा तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले भारत भ्रमणको समयमा त्यहाँस्थित राष्ट्रिय पुस्तकालयबाट प्रभावित भई नेपालमा सोही वर्ष तत्कालीन राजगुरु हेमराज पाण्डेका निजी सङ््कलन खरिद गरी राष्ट्रिय पुस्तकालय स्थापना गर्नुभएको थियो । हाल यो पुस्तकालय २०७२ सालको भूकम्पका कारण जीर्ण अवस्थामा रहेको छ, जसको पुनर्निर्माण नेपाली पुस्तकालयको क्षेत्रमा नौलो आयाम हुन सक्छ । पठन संस्कृति प्रवर्धन तथा खोज÷अनुसन्धानमा विद्यार्थीको अभिरुचि वृद्धि गर्ने उद्देश्यसहित विद्यालय र क्याम्पस तहमा स्थापित शैक्षिक पुस्तकालयहरूको सङ्ख्यात्मक अवस्था राम्रो रहे पनि गुणात्मक र प्रयोगात्मक अवस्था भने सन्तोषजनक रहेको पाइँदैन । ज्ञान, सिप र अनुभवको पुस्तान्तरणका निम्ति पुस्तकालयको अवस्थामा गुणात्मक परिवर्तनसहित नवपुस्तामाझ पठन संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो ।
इतिहासले चिन्छ, कानुनले चिन्दैन
विश्व इतिहासमा सर्वप्रथम बेलायतमा सन् १८५० मा पुस्तकालय ऐन पारित भएको देखिन्छ । संयुक्त राज्य अमेरिकामा १९ औँ शताब्दीमा विभिन्न कानुनमार्फत सार्वजनिक पुस्तकालय स्थापना गरिएको थियो । छिमेकी मुलुक भारतका २० भन्दा बढी राज्यले प्रदेश सार्वजनिक पुस्तकालय ऐन निर्माण गरी कार्यान्वयन गरेको पाइन्छ । सन् १९९४ मा युनेस्कोले सार्वजनिक पुस्तकालय घोषणापत्र जारी गरेको थियो । यसले पुस्तकालय ऐनको अपरिहार्यतामा जोड दिएको छ ।
नेपालमा आजसम्म पुस्तकालयसम्बन्धी ऐन, नियम बनेको छैन । पुस्तकालयको इतिहासमा विसं १८६९ को पुस्तक चिताइ तहबिलको नाममा जारी भएको लालमोहरलाई पहिलो नियमका रूपमा लिइने गरिन्छ । यसपछि नेपालको पहिलो राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन–२०११ देखि यसपछिका प्रतिवेदन, पञ्चवर्षीय योजनाहरू र स्थानीय स्वायत्त शासन ऐन २०५५ मा समेत सार्वजनिक तथा सामुदायिक पुस्तकालयबारे उल्लेख गरिएको पाइन्छ । पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति, २०६४ र पुस्तकालय तथा सूचना व्यवस्थान निर्देशिका, २०६९ सार्वजनिक तथा सामुदायिक पुस्तकालय लक्षित नीति र निर्देशिका हुन् । नेपालको संविधान २०७२ को भाग ४ को राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व शीर्षक अन्तर्गत धारा ५१ ज (४) मा ‘नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र र पुस्तकालयको स्थापना र प्रवर्धन गर्ने’ उल्लेख गरिएको छ । राज्यका विभिन्न अङ्गका अधिकारलाई विभिन्न धारा र अनुसूचीमा समावेश गरी स्पष्ट पारिएको छ; जस अनुसार अनुसूची ६ अन्तर्गत प्रदेशको सूची (ङ) मा ‘प्रदेश पुस्तकालय’ बारे उल्लेख गरिएको छ ।
यसबाहेक स्थानीय सरकार सञ्चालन ऐन, २०७४; नेपाल कानुन आयोग, २०७४ र राष्ट्रिय शिक्षा नीति, २०७६ मा पनि स्थानीय तहमा सार्वजनिक पुस्तकालय सञ्चालन गर्नुपर्ने कुरा औँल्याइएको पाइन्छ तर ऐन, नियमबिनाको नीति र निर्देशिका सरकारी देखावटी कागज मात्र भएको र पुस्तकालय पेसाकर्मीले जति प्रयास गरे पनि कार्यान्वयन गर्न नसकिएकाले सबैभन्दा पहिले ऐन, कानुनको खाँचो खड्किएको छ ।
नेपालमा पुस्तकालयको स्थापना, सञ्चालन र व्यवस्थापनसम्बन्धी स्पष्ट ऐन, कानुनको अभावका कारण पुस्तकालयलाई गैरसरकारी संस्थाका रूपमा दर्ता गरी प्रत्येक वर्ष सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा नवीकरण गर्नुपर्ने अवस्था छ । नेपालमा जति पनि पुस्तकालय सञ्चालनमा छन्, ती सबै आआफ्ना तरिकाले बिनाकानुनी आधार चलेका छन् । यसका कारण पुस्तकालयले प्रदान गर्नुपर्ने सेवामा एकरूपता तथा दिगो व्यवस्थापन गरी सर्वसाधारणका लागि पुस्तकालयको पहुँच सरल, सहज र सर्वसुलभ बनाउन सकिएको छैन ।
बदलिँदो परिवेशमा पुस्तकालयको सार्थकता
समयको विकासव्रmमसँगै अब पुस्तकालय केवल पुस्तकघर मात्रै रहेनन् । सूचना, चेतना र चैतन्यको जगमा पुस्तकालय आविष्कार, अन्वेषण, नवप्रवर्तन हुँदै रूपान्तरणको केन्द्र बन्दै छन् र बन्नु पनि पर्छ । सूचनाको संसारमा ज्ञान सामग्रीको विस्तारित र परिमार्जित स्वरूपलाई विभिन्न माध्यमबाट सङ्कलन गरी व्यवस्थित ढङ्गबाट संरक्षण गरिएको सूचना भण्डार नै आजका पुस्तकालय हुन्; जुन मूलतः सही समयमा सही पाठकलाई सही सूचना प्रदान गर्नु भन्ने मर्ममा केन्द्रित छन् । परम्परागत पाण्डुलिपि, पुस्तक, लेखरचना, पत्रपत्रिका सङ्गृहीत हुँदै आएकामा प्रविधिको विकास र बढ्दो प्रभावसँगै विद्युतीय, श्रव्य÷दृश्य, डिजिटल, भर्चुअल पुस्तकालय आदि अवधारणा विकसित भइरहेका छन् । पुस्तकालयहरू वास्तवमै सामाजिक मेलमिलाप, नीतिगत तथा वैचारिक केन्द्र, सांस्कृतिक एवं ऐतिहासिक घर, तालिम केन्द्र हुन् ।
सन् १६९५ देखि १९७५ को अवधिमा सूचना सम्प्रेषणमा कम्प्युटरको प्रयोग भएको थियो । नेपालमा पहिलो पटक २०६६ सालदेखि साझा शिक्षा ई पाटी र नेपाल पुस्तकालय फाउन्डेसनले विद्युतीय पुस्तकालय ई लाइब्रेरीको सुरुवात गरेको पाइन्छ । सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ । बिनाइन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पका रूपमा विद्युतीय पुस्तकालयको प्रयोग बढ्न थालेको हो । पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्प्युटर, ल्यापटप, आइप्याड, ट्याब्लेट, किन्डल र मोबाइल) को प्रयोगबाट पुस्तक पढ्न सकिने प्रणाली नै विद्युतीय पुस्तकालय हुन् । सफ्टवेयरको माध्यमबाट कम्प्युटरमा पुस्तकलाई डिजिटलाइज गरेर राखिएको हुन्छ । ती डिजिटाइज भर्सनका पुस्तक कम्प्युटरमा राखिएका विद्युतीय पुस्तकालयमा गएर पढ्न सकिन्छ । कम्प्युटरमा आफैँ कुन किताब पढ्न खोजेको हो, त्यो किताबको नाम टाइप गरेर पुस्तक खोजी पढ्ने व्यवस्था विद्युतीय पुस्तकालयमा रहेको हुन्छ ।
मिश्रित पुस्तकालयको अवधारणाले एकै ठाउँमा ई लाइब्रेरीका साथसाथै परम्परागत पुस्तकालयको ढाँचालाई पनि अघि बढाउनुपर्ने मान्यता राख्छ । यसबाट पाठकले एकातिर नवीनतम प्रविधि उपयोग गरी ज्ञान र सूचनामा आफ्नो पहुँच विस्तार गर्छन् भने अर्कातिर उसले पुस्तक, लेखरचनाको भौतिक स्पर्श गरी ज्ञान र सूचनामा आफ्नो पहुँच बढाई पढ्दाको आनन्दानुभूति पनि महसुस गर्छ । एउटा किताबलाई धेरै जनाले पढ्न सकिने, समयको व्यवस्थापनमा सहजता, पुस्तकालय चहारिरहनुपर्ने झन्झटबाट मुक्ति, चौबिसै घण्टा आफूले चाहेको पुस्तक चाहेको समयमा विद्युतीय माध्यमबाट पढ्न सकिने भएकाले ई लाइब्रेरी दिनप्रतिदिन लोकप्रिय बन्दै गइरहेको छ ।
पछिल्लो पुस्तालाई अघिल्लोको सगुन
समयको विकासव्रmमसँगै परिवर्तन शाश्वत पक्ष हो । यही परिवर्तनको जगमा इतिहासको मर्म निर्माण भएको छ । त्यो हो– हस्तान्तरण र पुस्तान्तरण । त्यसमा पनि मान्छे प्राकृतिक रूपमै चेतनशील र जिज्ञासु प्राणी भएकैले नयाँ नयाँ अन्वेषणमा आफूलाई समर्पित गर्नु उसको स्वभाव हो । समयको एक विन्दुमा एउटा विषयको खोज, आविष्कार वा स्थापना हुन्छ । अर्को विन्दुमा त्यो हस्तान्तरण र पुस्तान्तरण हुन्छ, जहाँबाट त्यो समय र सन्दर्भसँगै रूपान्तरित र परिमार्जित हुन्छ ।
ज्ञान, चेतना, प्रज्ञा र सूचनाको मुहान पुस्तकालय आफैँमा हस्तान्तरण र पुस्तान्तरणको केन्द्र हो । पुस्तकालयको स्वरूप र अवधारणा नै सूचना र ज्ञानको विस्तारसँग जोडिएको छ । विश्वमा सुमेरियन र मेसोपोटामियनहरूले गिला माटाका खबटा, मैन, जनावरका छाला, बाँसका पट्यास र भाटा आदिमा आरम्भ गरेको भावना र चित्रको सङ्ग्रह पुस्तकालयको स्वरूप ग्रहण गर्दै आजको मितिमा आइपुग्दा एउटै उपकरणमा कैद हुने विन्दुमा आइपुगेको छ ।
पुस्तकालय शताब्दीऔँदेखि ज्ञान र संस्कृतिको धरोहरका रूपमा उभिएको छ । यसले आदिम सभ्यताको युगदेखि आजपर्यन्त ज्ञानको संरक्षण र प्रसार गर्ने अनन्त अवधारणालाई मूर्त रूप दिएको छ । समयव्रmम र त्यससँगै विकसित हुँदै आएको परिवेश र परिस्थितिलाई आत्मसात् गर्दै अन्वेषण र बौद्धिक उन्नयनलाई बढावा दिने महìवपूर्ण जिम्मेवारी हरेक पुस्ताका लागि उत्तिकै अपरिहार्य छ । त्यसैले इतिहासभरि पुस्तकालयहरूले भूत, वर्तमान र भविष्यबिच पुलका रूपमा सेवा गर्दै आएका छन् । तिनले मानवताको सामूहिक ज्ञान, दुर्लभ पाण्डुलिपि, ऐतिहासिक कागजात र विभिन्न सांस्कृतिक खजाना सुरक्षित गरिदिएका छन् ।
पुस्तकालयले आदिम ठेलीहरूदेखि आधुनिक ई पुस्तकसम्म भूत, वर्तमान र भविष्यलाई निरन्तर जोडिरहेको हुन्छ; जहाँ जिज्ञासु दिमागले अन्वेषण गर्न, सिक्न र स्वविवेक आर्जन गरी अगाडि बढ्न सक्छ । पुस्तकका पानामार्फत ज्ञानको दावानल बाल्दै इतिहासको बोधसहित सुगम वर्तमानको निर्माण गरी समृद्ध भविष्यको मार्ग पहिल्याउन सक्छ । पुस्तकालय ज्ञानसागर हो; जहाँ व्यक्तिहरू आजीवन स्वाध्ययनमा तल्लीन हुन सक्छन् । हरेक पुस्ताका लागि पुस्तकालयले ज्ञानको स्थायी मूल्य दिन्छ । मानवीय सम्बन्धको शक्तिलाई जीवन्तता प्रदान गर्दै हरपल समृद्ध बनाउन उत्प्रेरित गरिराख्छ ।
आज पुस्तकालयमा सङ्ग्रह गरिएका कालिदासका अभिज्ञान ‘शाकुन्तल’, ‘मेघदूत’; ग्रिक कवि होमरका ‘इलियड’ र ‘ओडेसी’ महाकाव्य; भारवी, माघ, दण्डी जस्ता पूर्वीय साहित्यकारका कृति, पूर्वीय धार्मिक ग्रन्थ ‘वेद’, ‘रामायण’ र ‘महाभारत’, पाश्चात्यजगत्का पुस्तकालयमा ज्ञानका स्रोत र गरिमाका रूपमा सजिनु पुराना पुस्ताको ज्ञान नयाँ पुस्तालाई पनि आवश्यक मानेर नै हो । अन्यथा ‘बाइबल’, ‘त्रिपिटक’, ‘धम्मपद’, ‘कुरान’ माथि किन अनुसन्धाता घोत्लिन्थे होला र ? व्रmोचे, वाइरन, किटस र सेलीको शैलीमा किन मानिस रमाउँदै छन् । देवकोटा, लेखनाथ, पारिजात र समका कृति किन अनुवाद हँुदै छन् । ‘शिरीषको फूल’ (द ब्लु मिमोसा) अमेरिकामा पढिनु त्यसभित्र रहेको ‘स्व’ अर्थात् अस्तित्वको खोजी हो । यसर्थ पुस्तौँपुस्ताका लागि पुस्तकालय एक कालजयी अवधारणा हो ।