• १६ भदौ २०८१, आइतबार

खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन्छौँ : मन्त्री चौधरी

blog

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरूलाई पुरस्कार वितरण कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, भदौ १३ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिने बताउनुभएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरूलाई पुरस्कार वितरण कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री चौधरीले विश्वका अन्य देशहरूले खेल क्षेत्रलाई उच्च महत्त्व दिँदा नेपालले भने अझै खेल क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको जिकिर गर्नुभयो ।

उहाँले खेलाडीहरूलाई खेल क्षेत्रमा टिकाइरहन र अझ प्रतिस्पर्धा बढाउन राज्यले नीतिगत र व्यवहारिक रूपमा सहजता प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले खेलाडी र निजका सन्ततिका लागि राज्यबाट सेवा सुविधा उपलब्ध गराउन प्रयास जारी रहेको पनि जानकारी दिनुभयो ।

‘‘विश्वका मुलुकहरूले खेलकुद क्षेत्रको विकास, ठुलो लगानी गरी उच्च प्राथमिकता दिँदै गर्दा नेपाल खेलकुद क्षेत्रमा अझै प्राथमिकता पाउन नसकेको यथार्थ छ । खेलकुदलाई कहिले पनि प्राथमिकता दिइरहेको छैन । त्यसैले खेलाडीहरूलाई खेल क्षेत्रमा टिकाइरहन र अझ प्रतिस्पर्धा बढाउन राज्यको तर्फबाट नीतिगत र व्यवहारगत रूपमा लाग्नुपर्छ ।,’’ मन्त्री चौधरीले भन्नुभयो, ‘‘खेलाडी र निजका सन्ततिका लागि राज्यबाट सेवा सुविधा उपलब्ध गराउन विभागीय मन्त्रीको हैसियतले मैले इमान्दारीतापूर्वक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’’

मन्त्री चौधरीले खेलाडी र उनीहरूका परिवारलाई स्वास्थ्य, शिक्षा, रोजगार र अन्य सुविधाहरू कसरी उपलब्ध गराउने भन्ने सन्दर्भमा छिट्टै नै कार्यक्रम घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो ।