• १६ भदौ २०८१, आइतबार

सबै पाठ्यक्रमलाई परिमार्जन गर्छौँ : मन्त्री भट्टराई

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेसन एण्ड इम्प्लइमेन्ट लिङ्केज’ मा बोल्नुहुँदै ।

काठमाडौँ, भदौ १३ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्नेगरी अगाडि बढेको बताउनुभएको छ ।

बिहीबार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेसन एण्ड इम्प्लइमेन्ट लिङ्केज’ मा बोल्नुहुँदै मन्त्री भट्टराईले विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालय लागि परेको जानकारी दिनुभयो । उहाँले राष्ट्रलाई योगदान दिनसक्ने जनशक्ति तयार गर्नेगरी पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।

शिक्षामन्त्री भट्टराईले भन्नुभयो, ‘‘अब शिक्षा मन्त्रालयले हाम्रो पाठ्यक्रमलाई पूरै परिमार्जन गर्नुपर्छ चाहे त्यो जनरल एजुकेसनको होस् । चाहे त्यो साइन्सको होस्, चाहे टेक्निकल एजुकेसनको होस् । सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले नै अगाडी बढेका छौँ ।’

राष्ट्रलाई योगदान दिन सक्ने जनशक्तिले नै अन्तर्राष्ट्रिय बजारमा योगदान दिन सक्ने उहाँको भनाइ छ । उहाँले सिटीइभिटीलाई पुनः संरचना गर्नका लागि काम अगाडि बढाइएको भन्दै यसको पाठ्यक्रम र पुनः संरचनाका लागि आवश्यक काम गर्न दुई वटा समूह बनाएर जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।

‘‘सिटीइभिटीलाई हामीले पुनः संरचना गर्नुपर्छ । २०४५ सालको आवश्यकता आज २०८१ सालसम्म आइपुग्दा त्यही संस्थागत मूल्य, त्यही नीति । जसलाई अहिले पनि हामीले ऐनलाई खास संशोधन गरेका छैनौँ । नयाँ ढङ्गले निर्माण गरेका छैनौँ । त्यही नीतिबाट मार्गनिर्देशन छौँ । सिटीइभिटीलाई पुनः संरचना गर्ने सोचेँ । सिटीइभिटीलाई अहिलेको अवस्थामा यसको पाठ्यक्रम र पुनः संरचनाका लागि दुई वटा टिम बनाएर जिम्मेवारी दिएका छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘पाठ्यक्रममा उद्यमशीलतामा काम गरिरहेको हाम्रो पङ्क्तिलाई कसरी जोड्ने ? हामीले हिजोसम्म भन्ने गरेऊ, नेपालीहरू पढ्ने यहाँ । तर अन्तर्राष्ट्रिय श्रम बजारमा जान सक्षम जनशक्ति तयार गर्छौ । त्यहाँ नै हामी गलत भयौँ ।’’

उहाँले शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय र श्रम मन्त्रालयका बिच समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा भनेको ज्ञान मात्रै नभई सिप, कला र उद्यमशीलता पनि हो भन्ने कुरा स्थापित गर्नुपर्ने बताउनुभयो ।