नेपालमा आफ्नै पहिचान र संरक्षणका लागि अघि बढिरहेको जाति हो कुलुङ । २०७८ सालको जनगणना अनुसार कुलुङ जातिको जनसङ्ख्या ३३ हजार ३८८ छ भने कुलुङ भाषा बोल्नेको सङ्ख्या ४० हजार ४७९ जना रहेको छ ।
सङ्ख्यात्मक रूपमा थोरै र बसाइका हिसाबले पनि थोरै जिल्लामा बसोबास गर्ने कुलुङ जातिको संस्कार र संस्कृतिका बारेमा खासै अभिलेख छैन, अध्ययन पनि भएको छैन । भाषाका बारेमा केही विश्वविद्यालय र केही अनुसन्धानकर्ताले लेखेका बाहेक संस्कार र संस्कृतिका बारेमा कतै लेखिएको देखिँदैन तर कुलुङ जातिको उद्गम थलो सोलुखुम्बुमा छ । जुन क्षेत्रलाई समेटेर बनाइएको स्थानीय तहको नाम महाकुलुङ गाउँपालिका रहेको छ ।
मृतकलाई अति माया गर्ने जाति
कुलुङ जातिमा मृतकलाई धेरै माया गरिन्छ । कुलुङ संस्कार अनुसार मृत्यु संस्कार पनि दुई प्रकारको हुन्छ । अकालमा मरेकालाई कुलुङ भाषामा हिल्सी भनिन्छ । लडेर, सुत्केरी अवस्था, दुर्घटनामा परेर वा आत्महत्या आदिले भएको मृत्युलाई अकाल मृत्यु मानिन्छ । हिल्सीको अर्थ मन्साउन जटिल हुने तथा भूतप्रेत हुने मान्यता छ । त्यसैले अकालमा मरेकालाई चाहिँ माया गरिँदैन । अकालमा मरेकालाई जङ्गल वा खोलामा लगेर गाड्ने चलन छ ।
कालगतिले हुने मृत्युलाई नसी भनिन्छ । नसीभित्र बिरामी भएर उपचार गर्दागर्दै ज्यान गुमाएका, उमेर पुगेर मरेका आदि पर्छन् । कालगतिले ज्यान गुमाएकालाई माया गरेर घरकै करेसाबारीमा गाडिन्छ । त्यति मात्र होइन् मृतकको नाममा चार पुस्ता चेलीको नाममा चिहानको वरिपरि आठ वटा ध्वजा फहराइन्छ । त्यसलाई साङ भनिन्छ ।
शवलाई संस्कार अनुसार गाडिन्छ । करेसामा गाडेर मात्र हुँदैन, एक चन्द्रचव्रm अर्थात् २८ दिन हरेक सूर्योदय र सूर्यास्तमा आठ पटक गन्ती गरेर भात र आठ टुक्रा मासु चढाइरहनु पर्छ । त्यसैले आठलाई कुलुङ जातिमा अशुभ अङ्क मानिन्छ । साथै माथि भने अनुसार जुन चेलीको नाम लिएर ध्वजा फहराइन्छ त्यस चेलीले एक पटक मृतकको घरमा आउनै पर्छ । मृतक परिवारलाई भेट्ने र मृतकलाई दुई पटक घरकाले गरेझैँ मासु र भात उनले चढाउनु पर्छ । जो उनले आफ्नै घरबाट ल्याउनु पर्दछ ।
एक चन्द्र चक्र पूरा भएपछि मात्र अन्तिम संस्कार गरिन्छ । त्यसलाई सिलुम भनिन्छ । सिलुममा सबै मलामी चोख्याउने र साङ काट्ने गरिन्छ भने साङमा नाम लिइएका सबै चेलीको शिर उठाउने गरिन्छ । अन्तिम संस्कार सकिएपछि पनि मृतकको सम्मान सकिँदैन ।
अभागी मृत्यु
कालगतिले नै ज्यान गुमाएको छ तर यस्तोमा पनि कुनै मृत्युलाई अभागी मृत्यु भनिन्छ । त्यो भनेको व्यक्तिको प्रवृत्ति र उसको स्तरले निर्धारण गर्ने होइन, समयले निर्धारण गर्छ । जेठ अन्तिमदेखि असोज पहिलो हप्तासम्म हुने कालगतिको मृत्युलाई पनि अभागी मृत्यु मानिन्छ । यस अवधिमा कामकाज बढी हुने भएर होला ।
कुलुङ जातिभित्र एउटा उखान चर्चित छ, ‘इपा इमा सिसो लिकलेइसम्म सिबोआ देपाम्ना काम मम छुवे ।’ यसमा इपा भनेको बुवा, इमा भनेको आमा, सिसो भनेको मरे पनि, लिकलेइसम्म भनेको चार दिनसम्म, सिबोआ देपाम्ना भनेको स्याल्लाले छोपेर र काम मम छुवे भनेको काम गर्नु पर्छ भन्ने अर्थ लाग्छ ।
कामको सिजनमा आफ्नै आमाबुवाको मृत्यु भए पनि मृत्यु संस्कार गर्न छोडेर काममा जोतिनु पर्छ भन्ने मान्यता प्रचलित छ । त्यसैले त्यसबेलाको मृत्युलाई अभागी मानिन्छ तर त्यो उखानमा नै सीमित छ । मृत्यु भइहालेमा उखानमा भने जस्तो चलन अहिले छैन ।
तोस
बर्सातको समयमा कुलुङ जातिमा धेरै कुरा बार्नु पर्छ । त्यो ठ्याक्कै महिनाले नै निर्धारण त गर्दैन तर जेठबाटै सुरु हुन्छ किनभने संस्कार बन्देज गर्नका लागि तोस पूजा गरिन्छ । त्यसपछि धेरै कुरा बारिन्छ । कुलुङ जातिले वर्षमा तीन पटक तोस पूजा गर्छन् । जेठमा गरिने तोसलाई यनाम तोस, असोजमा गरिनेलाई थो तोस र फागुनमा गरिने तोसलाई जी तोस भन्ने गरिन्छ । यी तोसमध्ये जी तोसमा अनिकाल नलागेर सहकाल लागोस्, अन्नपात तथा बालीनाली सप्रियोस् भनेर भूमि पुज्ने गरिन्छ ।
जेठ र असोजमा गरिने तोसले भने संस्कार बन्द गर्ने तथा खुलाउने काम गर्छ । जेठको अन्तिम हप्ता गरिने तोसले संस्कार बन्द गर्छ भने असोजमा गरिने तोसले संस्कार खुलाउने काम । त्यसैले कुलुङ जातिभित्र असार, साउन र भदौ महिना बन्देज महिनाका रूपमा चिनिन्छ ।
त्यसैले जेठको तोसपछि मरेकाहरू धर्मात्मा होइनन् भन्ने मानसिकता हुन्छ । जेठको तोसपछि मृतकको दाहसंस्कार हुँदा सामान्य तरिकाले गाड्ने गरिन्छ । एक चन्द्र चव्रm अर्थात् २८ दिनसम्म चिहान पाल्ने काम गरिँदैन । अन्तिम संस्कार त गरिन्छ तर हिउँद लागेर गरिन्छ । वर्षमा काम धेरै गर्नुपर्ने भएकाले माया गरेर दैनिक पाल्ने भनेर चिहानमा मासुभात चढाउने गरिँदैन । केही नगरे पनि गाड्न चाहिँ करेसाबारीमै गाडिन्छ ।
त्यस्तै जेठको तोसदेखि असोज पहिलो हप्तासम्म विवाह गरिँदैन । कुनै विवाह गर्नैपर्ने परिस्थिति आइलागेमा सामान्य साइनो फेरेर बेहुली भिœयाउने गरिन्छ । जब असोजको तोस हुन्छ तब साइत हेरेर कुलुङले धुमधामका साथ विवाह संस्कार गर्छन् । त्यति मात्र नभई वर्षाको समयमा कुलुङ जातिले खानसमेत बार्नुपर्छ । किनिमा, भटमास, पिँडालु र कर्कलो खान पाइँदैन । साथै ढ्याङ्ग्रो, बाँसुरी, हर्गेल र शङ्ख बजाउनु हुँदैन, कचुर खन्नु हुँदैन । केसम्म हुन्छ भने अकालमा कसैको मृत्यु भएमा अनिवार्य रूपमा धामीझाँक्री बोलाउनु पर्छ । उक्त कार्यमा कचुर (एक प्रकारको जङ्गली वनस्पति) अनिवार्य हुन्छ तर वर्र्षामा त्यसरी गरिने बाध्यात्मक कार्यमा कचुरको सट्टा अदुवा प्रयोग गर्ने गरिन्छ ।
त्यति मात्र होइन अरू कुरा पनि बन्देज छ । जस्तै वर्षामा मार्चा, घरपालुवा जनावर र घर लिप्ने माटो बोक्न प्रतिबन्ध लाग्छ । यसरी हेर्दा जेठको तोसपछि कुलुङ जातिमा स्वतन्त्रता छैन । यो आफ्नै संस्कारले बनाएको बन्देज हो । यो अझै पनि कायम छ ।
वर्षाभरको बन्देजको अन्त्य असोज पहिलो हप्ता हुने तोसले खुला गर्दछ । जब असोज लाग्छ तब गाउँटोलमा एक किसिमको उल्लास छाउँछ । भदौ अन्तिम हप्तातिरैबाट अब तोस हुने भो भनेर चर्चा सुरु हुन्छ । असोजको पहिलो हप्ता नै तोस गर्ने गरिन्छ । किनभने वर्षाको बन्देजलाई सकेसम्म छोट्याउन भन्दै छिटै तोस गरिन्छ । उक्त तोसलाई नै थो तोस भनिन्छ ।
तोस गर्दा सबै मृतात्मालाई पुजारीले बोलाउने गर्छन् । त्यसैले मृत्यु भएका घरबाट एक चोक्टा मासु लैजानुपर्छ । जसलाई छप्छौ भनिन्छ ।
त्यस्तै शङ्ख, हर्गेल र बाँसुरी बजाउने, कचुर काट्ने र बोक्ने बाटो खुल्छ । माटो र घरपालुवा जनावर बोक्न पाइन्छ । बन्देज गरिएका सबै खाना खान पाइन्छ । त्यसैले जब असोजको थो तोस हुन्छ तब कुलुङ जातिभित्र स्वतन्त्रता मिल्छ । गरिँदै आएका सबै संस्कार गर्न पाइन्छ । सबै खानेकुरा खान मिल्छ । त्यसैले तोस कुलुङ जातिको भूमि पूजा मात्र होइन कुलुङ जातिलाई संस्कारभित्र बाँध्ने र खुला गर्ने काम पनि तोसले गर्दछ ।
किराँत कुलुङ समुदायमा मृत्युपश्चात् आफ्नै करेसाबारीमा शवलाई समाधिस्थ गर्ने चलनलाई सामान्य मानिन्छ । आफ्नो मान्छेलाई मृत्युपछि माया दिइन्छ । जसका कारण प्रत्येक घरनजिक चिहान छ । यो एउटा टोलको कथा होइन, पूरै कुलुङ समुदायका गाउँबस्तीको हो । परापूर्वकालदेखि नै मृतकलाई घरछेउमा गाड्ने चलन चलिआएको छ । आफ्नै निजी जमिनमा दाहसंस्कार गर्ने परम्पराका कारण कुलुङ समुदायको बसोबास रहेका गाउँमा एकान्तमा लगेर दाहसंस्कार गर्ने चलन छैन ।
अर्को कुरा मनोविज्ञानको पनि हो । बुढाबुढीहरू उमेर बढ्दै गएपछि घरबाहिर जान चाहँदैनन् । त्यसैले धेरैजसोले वृद्धावस्थामा अस्पताल नलैजानु भनेर छोराछोरीलाई भन्छन् । बुढाबुढीहरू जटिल रोगले च्यापेपछि आफ्नो मृत्यु आफ्नै भूमिमा होस् भन्ने चाहन्छन् । गरिन्जेल गरियो मरेर जाँदा केही लैजान नपाए पनि आफ्नै निजी जग्गा थिच्न पाउँ भनेर अस्पताल गएकाहरूले पनि मलाई घरै फर्काएर गाड्नु भनेर अन्तिम इच्छा जाहेर गर्ने गरेका हुन्छन् ।
त्यसैले कुलुङ जातिमा जग्गाविहीन मान्छे पाउन गाह्रो छ । गाउँमा कोही अति खराब अवस्थामा पुगे पनि, ऋणमा डुबे पनि सानो करेसा जोगाइदिने चलन छ । जुन काम समाजले नै तय गर्ने हो । सबै चल अचल सम्पत्ति बेच्नु परे पनि मर्ने बेला गाड्ने ठाउँ चाहिन्छ भनेर एक टुक्रा जग्गा समाजले नै जोगाएर बेच्न दिँदैन ।