• १६ भदौ २०८१, आइतबार

आन्तरिक पर्यटकको रोजाइ बन्दै रेसुङ्गा पार्क

blog

रेसुङगा पार्कमा रमाउँदै अवलोकनकर्ता । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, भदौ १२ गते ।
रेसुङगा पार्क यतिबेला आन्तरिक पर्यटकरुको प्रमुख रोजाइमा पर्ने गरेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको गर्जुरामा निर्माण भएको पार्कमा शनिबार र अन्य बिदाका दिनहरुमा बालबालिकासहित घुम्न जाने प्रमुख स्थल बन्ने गरेको छ । केही महिना पहिले सुनसान रहेको पार्क अवलोकन गर्न आउनेको सङ्ख्या दैनिक बढ्दै गएकोे रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

रेसुङ्गा नगरपालिका वडानम्बर–९ बाट पार्क घुम्न पुग्नुभएको सावित्रा कुँवरले पार्क निकै रमाइलो लागेको बताउनुभयो । यहाँ आइसकेपछि बालबच्चा घुम्नुका साथै खेल्ने स्थान भएकाले आफूलाई पनि आनन्दको अनुभूति भएको उहाँको भनाइ छ ।

आफूहरु महिनाको दुई पटक बालबच्चा लिएर पार्कमा घुम्न आउने गरेको सोही स्थानकी शारदा मरासिनीले बताउनुभयो । पार्कमा बालबच्चा घुम्ने र खेल्ने राम्रो व्यवस्था भएकाले उनीहरुको खुसीमा आफूहरु पनि खुसी हुने गरेको उहाँको भनाइ छ ।

पार्क भित्र भ्युटावर, पीङ, पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चाबच्चीका लागि प्ले जोन, पिकनिक स्पोर्ट, बिचबिचमा पैदल मार्ग, शौचालय, टिकट काउन्टर, विभिन्न जनावरका आकृति देखिने फोहोर मैला फाल्ने डसबिन, पार्किङ् लगायतका निर्माणले गर्दा पार्क चिटिक्क बनेको छ ।

पार्कमा गत आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधीमा १८ हजारले आवलोकन गरेका छन् । जसबाट छ लाख ३२ हजार राजस्व सङ्कलन भएको नगरपालिकाले जनाएको छ । यस आर्थिक वर्षको साउन महिनामा तीन हजार एक सय जनाले पार्क अवलोकन गरेका छन् । जसबाट एक लाख ५५ हजार राजस्व सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।

गत वर्षको फागुन महिनादेखि नगरपालिकाले चार जना कर्मचारी खटाएर पार्क सञ्चालनमा ल्याएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो । नगरपालिकाले यस आर्थिक वर्षमा पार्कबाट २० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

पार्कको अवलोकन गर्नका लागि प्रवेश शुल्क विदेशी नागरिकका लागि १५०, नेपाली नागरिकका लागि ५०, ज्येष्ठ नागरिक र विद्यार्थीका लागि २५ रुपियाँ कायम गरिएको छ ।

पार्क पाँच करोड ५९ लाख ५३ हजार ५०१ रुपियाँको लागतमा निर्माण भएको हो । तीन दशमलव ९६ हेक्टर क्षेत्रफलमा पार्क  छ । जिल्ला सदरमुकाम तम्घासबाट करिब पाँच मिनेटको गाडीको यात्रापछि पार्कमा पुग्न सकिन्छ । सदरमुकाम तम्घासदेखि पार्कसम्म पुग्ने सडक कालोपत्रे भएको छ ।