• १६ भदौ २०८१, आइतबार

मनाङको कोसेली अर्गानिक आलु

blog

यदुप्रसाद भट्ट

मनाङ, भदौ १२ गते । मनाङ जिल्लाको चिसो हावापानीमा फलेको आलु धेरैको रोजाइ बन्ने गरेको छ । अर्गानिक आलुका विभिन्न मिठा परिकार पनि बनाउने गरिएको छ । जिल्लामा आएका पर्यटकको स्वादिलो खानेकुरा बनेको आलु फर्किएर जाँदा लैजाने कोसेलीसमेत भएको छ । 

स्थानीय युवा उद्यमी सेराप विष्टले आन्तरिक र बाह्य पर्यटकले मनाङमा उत्पादन भएको आलुका परिकार मन पराउने गरेका बताउनुभयो । उहाँले यस क्षेत्रको आलुको माग बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ होमस्टे सञ्चालन छ । आन्तरिक तथा बाह्य पर्यटकलाई विषादीरहित शुद्ध गोबर मल हालेर फलेको आलु उनीहरूकै इच्छा अनुसार विभिन्न परिकार बनाएर खुवाउँछौँ । कोसेलीका रूपमा पनि धेरैले आलु नै लैजाने गरेका छन् ।” 

आलु उसिनेर टिमुर, लसुन, खुर्सानी र नुन मिसाई ओखलमा कुटी चटनी अर्थात् छोप बनाएर खाने चलन पहिलेदेखि नै थियो । कर्मचारी तथा आन्तरिक पर्यटकका कारण पनि आलुको माग बढेको विष्टले बताउनुभयो । छिमेकी जिल्ला लमजुङबाट सिधै व्यापारी मनाङ आई घर घरबाट आलु खरिद गर्ने गरेकाले पनि आलु खेतीप्रति यहाँका कृषकको आकर्षण बढेको हो । अझै राम्रोसँग व्यवस्थित रूपले यसको खेती गर्न सके समग्र मनाङको विकास तथा आर्थिक पाटोमा समेत परिवर्तन ल्याउन सकिने देखिन्छ ।

मनाङमा यति बेला सबैका घरमा आलु भित्रिएको छ । स्थानीय कृषक यो समय आलु खन्न, सुकाउन, केलाउन व्यस्त छन् । खेती राम्रो हुने भएकाले पनि मनाङमा आलु खेती बढी गरिन्छ । खेती बढेसँगै जिल्लामा आलु उत्पादनमा वृद्धि भएको छ । 

आर्थिक वर्ष २०७९/८० मा भन्दा यस आवमा आलु उत्पादन वृद्धि भएको जिल्ला कृषि ज्ञान केन्द्र मनाङले जनाएको छ । खाद्यान्न बालीमध्ये आलु पनि मनाङको मुख्य बाली हो । चार पालिका रहेको मनाङमा सबै ठाउँमा आलुको राम्रो खेती हुने भएकाले जिल्लाभरि नै आलु खेती गरिन्छ । अघिल्ला वर्षमा करिब आठ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकोमा यस वर्ष वृद्धि गरी नौ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख मदन रेग्मी बताउनुहुन्छ । यहाँको तिमाङ, चामे, दानाक्यु, धारापानी, नाचै, ओडार र हुम्डे आलु उत्पादन क्षेत्र हुन् । यहाँ स्थानीयस्तरमा हुने स्थानीय जातका आलु रोपिन्छ । अघिल्लो वर्षको तुलनामा यसपालि उत्पादन बढ्ने कृषकले अनुमान गरेका छन् । 

पहिले पहिले इष्टमित्र तथा घरायसी प्रयोजनका लागि मात्र प्रयोग गरिने आलु अचेल घर घरबाटै माग आउन थालेपछि आफू आलु खेतीप्रति आकर्षित भएको स्थानीय कृषक धनमाया विकले बताउनुभयो । यहाँ आलु राम्रो उत्पादन भएको देखेपछि स्थानीय कृषकको सहजताका लागि आलु संरक्षण तथा प्रशोधनबारे तालिम दिई आलुको बिउ सुरक्षित राख्न केही गाउँमा कोल्डस्टोरको समेत व्यवस्था गरिएको छ । 

अब चाँडै हरेक गाउँपालिकामा एक सुरक्षित तथा व्यवस्थित कोल्डस्टोर राखिने प्रमुख रेग्मी बताउनुहुन्छ । माग बढेसँगै यस क्षेत्रमा उत्पादित आलुको भाउसमेत बढेको छ । अघिल्ला वर्षमा एक सय रुपियाँ पाथीमा बिक्री भएको आलु यस वर्ष १५० रुपियाँ पाथीमा बिक्री भएको धनमाया विकले बताउनुभयो । स्थानीयस्तरमा अझै पनि यहाँ मानापाथीकै चलन रहेको विकले बताउनुभयो । यहाँका हरेक उत्पादन अर्गानिक तथा शुद्ध हुने भएकाले पनि मनाङको रैथाने कृषि उपजप्रति सबैको रहर जागेको स्थानीयको ठम्याइ छ ।