• १६ भदौ २०८१, आइतबार

कांग्रेसलाई दुई बुँदामा सहमति जुटाउन सकस

blog

ललितपुर, भदौ १२ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत प्रस्तावमाथि सहमति नजुटेपछि बुधबारका लागि निर्धारित बैठक चार दिनपछि सारिएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भदौ १६ गते बस्ने छ । 

बैठकका प्रस्तावमाथि सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबिच बुढानीलकण्ठस्थित देउवानिवासमा मङ्गलबार छलफल भएको छ । 

तर मुख्यतः महासमिति बैठकमा महामन्त्री थापाले प्रस्तुत गर्नुभएको निर्वाचनपूर्वको गठबन्धन वा तालमेल नगर्ने र महामन्त्री शर्माले प्रस्तुत गर्नुभएको एक पटक मात्र राष्ट्रपति, दुई पटक मात्र प्रधानमन्त्री, तीन पटक मात्र मन्त्री र चार पटक मात्र सांसद बन्ने व्यवस्थासम्बन्धी प्रस्तावमा सहमति जुट्न बाँकी छ । 

महासमितिमा प्रस्तुत प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा छलफलपछि पारित गर्ने कांग्रेसको तयारी छ । यी दुई विषयलाई संस्थापन पक्षले असान्दर्भिक भनेको छ । तर संस्थापनइतर पक्षले जसरी पनि दुवै प्रस्ताव पारित गर्ने अडान लिएको छ । 

महामन्त्री शर्माले भन्नुभयो, “कांग्रेसलाई नवीन रूपान्तरणसाथ अघि बढाउन यी प्रस्ताव महत्वपूर्ण छन् । सबैको भावना समेटिने गरी र कांग्रेसलाई नयाँ ऊर्जा दिने गरी प्रस्ताव पारित गरिने छ ।”

कांग्रेस केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले दुवै प्रस्ताव असान्दर्भिक भएकाले मध्यमार्गी बाटो खोजिने बताउनुभयो । उहाँले अहिलेको आवश्यकता दृष्टिगत गरी केन्द्रीय कार्यसमिति निर्णयमा पुग्ने बताउनुभयो । 

बैठकमा २०८० फागुन ७ सुरु भई १० गतेसम्म सम्पन्न महासमिति बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जनसहितका प्रस्ताव उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गर्नुभएको छ । साउन २३ गतेदेखि जारी बैठकमा सभापति देउवा, उपसभापतिद्वय खड्का र गुरुङ तथा महामन्त्रीद्वय थापा र शर्माले बोल्न बाँकी छ । 

बैठकमा १०० दिने साङ्गठनिक अभियान सञ्चालन गर्ने, अनुशासन कारबाहीका लागि भएका सिफारिसबारे पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्तिसम्बन्धमा तथा भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्था र निर्देशक समितिलगायत कार्यसम्पादनका निर्णयसम्बन्धमा प्रस्ताव प्रस्तुत भएको छ । 

साथै क्रियाशील सदस्यता वितरण प्रक्रिया, जनसम्पर्क समिति, नियमावली संशोधन प्रस्ताव, नेपाली कांग्रेस जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका, समसामयिक राजनीति र अन्य विविध विषयमा बैठकमा प्रस्तुत प्रस्तावमाथि छलफल भइरहेको छ ।