• १६ भदौ २०८१, आइतबार

गाजाको अवस्था दयनीय

blog

न्युयोर्क, भदौ ११ गते । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का अधिकारीहरूले गाजाको अवस्था “विनाशकारी’’ भएको जनाएका छन् । यसै क्रममा उनीहरुले र विगत दुई हप्तामा गाजामा जारी थप निकासी आदेशको बिचमा मानिसहरूलाई सीमित गरिएको ठाउँ “धेरै सानो’’ र साँगुरो  भएको पनि दोहोर्‍याएका  छन् ।

न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा गाजाका युएनआरडब्लुएका प्रवक्ता लुइस वाटर्रिज र युएनआरडब्लुएका प्रथम उपक्षेत्र निर्देशक विसम रोजले भिडियो मार्फत पत्रकारलाई यस्तो जानकारी दिनुभएको हो ।

यसै क्रममा वाटर्रिजले हरेक दिन लाखौँ मानिस सुरक्षित आश्रयको खोजीमा एक ठाउँबाट अर्को ठाउँमा सर्न बाध्य भइरहेको बताउनुभयो । 

उहाँका अनुसार निकासी आदेशपछि गाजामा मानिसहरुले आफ्नो सामान सार्दैछन्, अधिकांश मानिसहरूलाई जबरजस्ती सारिएको छ भने विस्थापितका लागि सवारी साधनको सीमित पहुँच छ र उनीहरुलाई कहाँ जाने भन्ने पनि थाहा छैन ।

उहाँले खान युनूस र अल–मवासीमा इजरायलले घोषणा गरेको मानवीय क्षेत्रमा, बलौटे जमिनमा भीडभाड रहेको बताउँदै सुरक्षित क्षेत्र भनिएको यस क्षेत्रमा पनि सुरक्षित नरहेकोले मानिसलाई ज्यान जोगाउन सुरक्षित ठाउँ नभएको बताउनुभएको छ ।

युएनआरडब्लुएका प्रथम उपक्षेत्र निर्देशकले हालैको निकासी आदेशले इजरायलको मानवीय क्षेत्रलाई सम्पूर्ण गाजापट्टीको ११ प्रतिशतमा मात्र कायम गरेको बताउनुभयो ।

जहाँ मानिसहरू भेला भई बाँच्नका लागि प्रयास गर्ने बताउदै उनीहरु कैयौँ बाध्यताको बीच “असम्भव विकल्पहरू“ सामना गर्ने गरेको जानकारी उहाँले दिनुभयो । 

उहाँले यस क्षेत्रमा पोलियो फैलिन सक्ने चेतावनी दिँदै कुपोषित बालबालिकामा विनाशकारी स्वास्थ्य क्षेत्र, दुषित पानी र सरसफाइको अवस्थाले उनीहरूको प्रतिरक्षा प्रणाली कमजोर भएको उल्लेख गर्नुभयो ।

अधिकारीले पोलियो खोप अभियानलाई सफल बनाउनका लागि निर्देशन दिइरहेको र अर्को शनिबारदेखि अभियान सुरु हुने बताउनुभयो । रासस/क्युएनए