• १६ भदौ २०८१, आइतबार

राष्ट्रपतिद्वारा भगवती मन्दिरको दर्शन र रथयात्रा अवलोकन

blog

राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक भगवती मन्दिरको दर्शन तथा पूजा गर्नुहुँदै । । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, भदौ ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक भगवती मन्दिरको दर्शनसहित रथ यात्राको अवलोकन गर्नुभएको छ । मङ्गलबार तानसेनमा निकालिएको भगवती रथयात्राको राष्ट्रपति पौडेलसहित रक्षामन्त्री मानवीर राई, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्य, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरलगायतले दर्शन गर्नुभएको छ । 


वि.स. १८७७ सालदेखि सञ्चालन भएको भवगती रथयात्रा हालसम्म पनि निरन्तर कायम छ । वि.स. १८७१–०७२ मा नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली फौजले जितगढी किल्लामा विजयी हासिल गरेपछि रथयात्रा (खटयात्रा) गर्ने प्रचलन सुरु भएको हो । 

तत्कालीन नेपाली सेनाका कर्णेल उजिरसिंह थापाले युद्धमा विजयी भए भगवतीको महिमा फैलाउने भाकल गर्नुभएको थियो । सोही बेलादेखि आफ्नो मनोकामना पूरा भएको भन्दै कर्णेल थापाले भगवती रथयात्रा गर्ने प्रचलनको प्रारम्भ गर्नुभएको थियो । 


राष्ट्रपति पौडेलले भगवती मन्दिरको दर्शन, पूजा गर्नुका साथै रथयात्रा अवलोकन गर्नुभयो । राष्ट्रपति पौडेलले भगवती जात्राको ऐतिहासिक र सांस्कृतिक महत्व विशिष्ट रहेको उल्लेख गर्नुभयो । भगवती रथयात्राले नेपालको इतिहास बोकेको र यसलाई राष्ट्रिय पर्वको रुपमा लिनुपर्नेमा जोड दिनुभयो । 

उहाँले वि.स. १९९० सालमा आएको भूकम्प अघि तीन तले रहेको भगवतीको मन्दिर पुनर्निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । भगवती रथयात्रामा विभिन्न देशसहित स्वदेशका विभिन्न स्थानबाट भक्तजन सहभागी भएका थिए ।