• १६ भदौ २०८१, आइतबार

अपराधअघिको अनुसन्धान थप जरुरी

blog

काठमाडौँ, भदौ ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधका घटना भइसकेपछि अनुसन्धान गर्नुभन्दा अपराध हुनुअघिको सूचना र अनुसन्धान बढी प्रभावकारी र महत्वपूर्ण हुने बताउनुभएको छ । 

काठमाडौँको भद्रकालीमा नवनिर्मित जिल्ला प्रहरी परिसर कार्यालय भवन तथा भौतिक पूर्वाधारको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अपराधको रोकथामका लागि घटना भइसकेपछि गरिने अनुसन्धानभन्दा अपराध नै हुन नदिनेतर्फ प्रहरी प्रशासनले काम गरे समाज र राष्ट्रमा क्षति कम हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “केही व्यक्ति र समूह नियोजित रूपमा विरोध गर्ने र त्यसैको आडमा अर्को समूह अराजकता फैलाउन सक्रिय छ । मुलुकलाई अराजकतातर्फ लैजाने तत्वमाथि सुरक्षा निकायले कडा निगरानी राख्नु पर्छ ।’’ उहाँले अपराध गर्नेमाथि कुनै करुणा भाव नराखी कानुन अनुसार कडा कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशनसमेत दिनुभयो । 

आपराधिक गतिविधि गर्ने तथा विभिन्न आवरणमा राज्यविरुद्ध भ्रम फैलाउन खोज्नेमाथि निगरानीका साथै पूर्वसूचना सङ्कलन गर्न सके त्यस्ता गलत तत्वले मुलुकमा पार्न सक्ने क्षति कम गर्न सकिने धारणा प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो । नेपाल प्रहरीको लामो इतिहास र अनुभवी सुरक्षा सङ्गठन रहेको चर्चा गर्दै उहाँले शान्ति सुरक्षा तथा अपराध अनुसन्धान तथा रोकथाममा प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । 

राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने र निर्दोषलाई फसाउने प्रवृत्ति पनि आपराधिक क्रियाकलाप हुने बताउँदै उहाँले संविधान र कानुनबमोजिम प्रहरीले ढुक्कसाथ आफ्नो कर्तव्य पालना गर्नुपर्ने बताउनुभयो । अपराध रोकथाम पुरानो घुमुवा प्रवृत्तिले नहुने बताउँदै उहाँले नयाँ कार्यशैलीसाथ अपराधपूर्वको सूचना प्रणालीको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले नवनिर्मित आधुनिक र सुविधासम्पन्न कार्यालयबाट जनतालाई गुणस्तरीय, आत्मीयतापूर्ण र परोपकारी भावसाथ जनताका काम गर्नुपर्र्ने बताउनुभयो ।

गृहमन्त्री रमेश लेखकले सरकारले नागरिकलाई सेवा प्रदान गर्ने क्रममा संविधान र कानुन कार्यान्वयन निकाय नेपाल प्रहरी रहेको बताउँदै प्रचलित कानुन कार्यान्वयन गर्दा नागरिकलाई केन्द्रमा राखेर काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभयो । मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य पूरा गर्न सरकार नयाँ आशा र विश्वाससाथ अघि बढेको बताउँदै मन्त्री लेखकले सरकारले जनतालाई प्रदान गर्ने सेवामा कुनै किसिमको कमीकमजोरी नहोस् भन्नेमा सचेत रहन आग्रह गर्नुभयो ।

गृह सचिव एकनारायण अर्यालले नेपाल प्रहरीलाई समयानुकूल व्यावसायिक एवं गतिशील बनाउँदै लैजाने सरकारको नीति रहेको बताउनुभयो । उहाँले प्रहरी कर्मचारीको उत्प्रेरणा र मनोबल मात्र अभिवृद्धि नगरी प्रहरीका कामकारबाहीलाई नागरिकमैत्री, व्यावसायिक एवं परिष्कृत बनाउँदै सेवाग्राहीले समेत शान्ति सुरक्षा र अमनचैनको महसुस गरी प्रत्यक्ष रूपमा नागरिकलाई सहज, सुलभ र पारदर्शी सेवा दिन सक्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नागरिकको चाहनालाई आत्मसात् गर्दै प्रहरीको सेवा पनि थप जनमुखी, परिष्कृत, उत्तरदायी, सेवामुखी र सर्वस्वीकार्य बनाउन नेपाल प्रहरी कटिबद्ध रहेको बताउनुभयो । २०७२ सालको विनाशकारी भूकम्पले पूर्ण रूपमा क्षति पु¥याएपछि हनुमान ढोकामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँ अस्थायी रूपमा टेकुमा स्थानान्तरण भएको थियो । कुल एक अर्ब २६ करोड ७४ लाख ९६ हजार ९९ रुपियाँ ८१ पैसाको लागतमा नयाँ भवन निर्माण सम्पन्न भएपछि परिसरले गत साउनदेखि भद्रकालीबाट सेवा प्रदान गर्दै आएको छ ।