• १६ भदौ २०८१, आइतबार

दोरम्बा पहिरो : थप एक जनाको शव भेटियो

blog

नवराज श्रेष्ठ
रामेछाप, भदौ १० गते । 
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेक खर्कमा पहिरोमा परी बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल र स्थानीयले संयुक्त रूपमा खोजी गर्ने क्रममा सोमबार दिउँसो १२ः१५ बजेको समयमा लेक खर्ककी ७५ बर्सिया पुड्की पहरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

पहिरोले घर बगाउँदा बेपत्ता भएका ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो । गत शनिबार रातीको अविरल वर्षापछि दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेक खर्कको पहरी बस्ती बगाउँदा ११ जना पहिरोमा पुरिएका थिए ।

जसमध्ये आइतबार बिहान एक जनाको जीवितै उद्धार गरिएको थियो भने ६ जनाको शव निकालिएको थियो । आइतबार ३२ वर्षकी चण्डिका थापा मगर र उहाँका १८ महिनाका छोरा आयुष श्रेष्ठ , ५७ वर्षीय उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी र ११ वर्षका विज्ञान पहरीको शव निकालिएको थियो ।