• ७ मंसिर २०८१, शुक्रबार

सामान्य रोगबाट रङ्गेलीवासी मर्नु पर्दैन

blog

रङ्गेली मोरङ जिल्लाको पुरानो सदरमुकाम हो । विराटनगरबाट २२ किलोमिटर पूर्वमा भारतसँग सात किलोमिटर सिमाना जोडिएको रङ्गेली नगरपालिका जिल्लाकै पुरानो बजार हो । विराटनगरमा सदरमुकाम सरेपछि रङ्गहीन बन्दै गएको रङ्गेली नगरपालिकामा नगरप्रमुख भएर दिलीपकुमार अग्रवाल आएपछि रङ भरिँदै गएको छ । अग्रवालको यो दोस्रो कार्यकाल हो । रङ्गेलीलाई हरितनगर बनाउन र पछिल्लो दुई वर्ष उहाँले गर्नुभएको विकास गतिविधिको सेरोफेरोमा रहेर नगरप्रमुख अग्रवालसँग गोरखापत्र दैनिकका उर्लाबारी समाचारदाता हरिप्रसाद कोइरालाले गर्नुभएको कुराकानी :

दोस्रो कार्यकालको दुई वर्षको अवधिमा भएका कामलाई स्वयं कसरी मूल्याङ्कन गर्दै हुनुहुन्छ  ?

दोस्रो पटक निर्वाचित भएर आएपछि हामीले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दियौँ । पालिकाभित्रका २९ वटा विद्यालयको पूर्वाधारलाई सुधार ग-यौँ । अहिले सरकारी विद्यालयमा अभिभावक, विद्यार्थीको आकर्षण बढेको छ । दरबन्दीसम्बन्धी समस्या, प्रधानाध्यापकको नियुक्तिमा समस्या थियो । यी समस्याको ९० प्रतिशत हल भएका छन् ।

स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरेका छौँ । कुनै समय जिल्ला अस्पतालका रूपमा रहेको १५ श-याको रङ्गेली अस्पतालमा उपचार गर्न कोही आउँदैनथे । हामी आएपछि रङ्गेली अस्पतालले दैनिक छ सय बिरामीको उपचार गरिरहेको छ । मेडिकल अधिकृत र विशेषज्ञ चिकित्सक गरेर १९ जनाले २४ घण्टा स्वास्थ्य सेवा दिइरहनुभएको छ । कानेपोखरीको दक्षिणी भाग, रङ्गेली र सुनवर्षी नगरपालिका पूरै, रतुवामाई नगरपालिकाको पश्चिमी भाग, धनपालथान गाउँपालिकाको पूर्वी भाग र भारतका बिरामीसमेतले उपचार सेवा लिइरहेका छन् । मासिक १५० जनाले सुत्केरी सेवा लिइरहेका छन् । हामीले रङ्गेली अस्पतालबाट शल्यव्रिmया सेवा, पाँच श-याको आइसियु सेवा, निःशुल्क औषधी वितरण, एक्सरे सेवा, ब्लड बैङ्क सेवा, पोस्टमार्टम सेवासमेत दिइरहेका छौँ । नगरपालिकाले सञ्चालन गरेका अस्पतालमध्ये देशकै नमुना अस्पताल यो हो भन्ने हाम्रो दाबी छ । अस्पताल सञ्चालक समितिले भत्तासमेत नलिई प्रत्यक्ष निगरानीमा दैनिक काम गरिरहेको छ । अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भएपछि मिर्गौला रोगको निःशुल्क डायलासिस गर्ने तयारीमा छौँ । पूर्वाधार तयार भएर मात्र हुन्न । जनशक्ति र उपकरणको प्रबन्ध हुनु पर्छ । सङ्घ र प्रदेश सरकारसँग कुरा भइरहेको छ । सरकारले दिएनन् भने आन्तरिक स्रोतबाट भए पनि डायलासिस सेवा दिनु पर्छ भन्ने हाम्रो सोच छ । 

पूर्वाधार, सडक र सिँचाइका क्षेत्रमा के के काम गर्नुभयो ?

हाम्रो नगर आन्तरिक आम्दानी कम भएको नगरभित्र पर्छ । सङ्घीय  र प्रदेश सरकारको सहयोगमा रङ्गेली अस्पतालको नयाँ भवन १५ करोड रुपियाँमा निर्माण भइरहेको छ । कयर खोलामा चार करोड रुपियाँ लागतमा बाँध बाँधेर १० हजार बिघा खेतलाई सिँचाइको प्रबन्ध गर्ने गरी मेघा प्रोजेक्ट सञ्चालनमा छ । यो आयोजना अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको सहयोगमा दोहमना बजार व्यवस्थापन भइरहेको छ । ३७ करोड रुपियाँको यो प्रोजेक्ट भदौ अन्तिमसम्ममा पूरा हुन्छ । हाम्रो नगरपालिकाले वडाहरूलाई सिलिङ बजेटका नाममा पैसा छुट्याउँदैन । त्यो पैसाले ३८ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । ६२ करोड रुपियाँको यो कार्यक्रमको हालसम्म ४० प्रतिशत प्रगति भइसकेको छ । वडा नं. १, ३, ८ र ५ मा खानेपानी पु-याउन ३२ करोड रुपियाँको खानेपानी आयोजना निर्माण भइरहेको छ । यो आयोजना पूरा भएपछि नगरका २ र ९ नम्बर वडाबाहेक सबै वडाका बासिन्दाले शुद्ध पानी पिउन पाउने छन् । हामीले आफ्नै खर्चमा पाँच हजार वटा विद्युत् पोल विस्तार गरेका छौँ । नगरको कुनै पनि घर विद्युत्बाट वञ्चित छैन ।

आर्थिक रूपमा नगरलाई समृद्ध बनाउने आधार के के हुन् ?

यहाँ कृषि र पशुपालनमा सम्भावना छ तर जग्गा हुनेले खेती गर्दैनन्, खेती गर्नेसँग जग्गा छैन । उत्पादन भएको दुध बिव्रmी नभएर किसानमा चरम निराशा छ । किसानका आफ्नै समस्या छन् । हामीले किसानलाई यान्त्रिकीकरण र प्रविधिमैत्री बनाउन साझेदारीमा थुप्रै कार्यक्रम सञ्चालन गरेका छौँ । किसानले पानी तान्ने बोरिङको विद्युत् महसुल नगरले नै तिरिदिने व्यवस्था मिलाएका छौँ । सम्भावना रहेर पनि सोचे अनुसार कृषि र पशुपालनका कामबाट सन्तुष्ट हुने अवस्था भने बनेको छैन । 

नगरको आन्तरिक स्रोतको अवस्था कस्तो छ ? 

विसं २०७४ मा म नगरप्रमुख भएर आउँदा नगरको आन्तरिक आम्दानी करिब ४० लाख रुपियाँ थियो । हाल करिब दुई करोड ८० लाख रुपियाँ पुगेको छ । खोलानालाको स्रोत उत्तरका पालिकाले लिन्छन् तर खोलाले गर्ने क्षति हामीले बेहोर्नु परेको छ । ७२ करोड रुपियाँको बजेट निर्माण गर्दा तीन करोड रुपियाँको पनि आफ्नो स्रोत छैन । मालपोत वृद्धि गरेका छैनौँ । खोला, सामुदायिक वन, जडीबुटी, काठ निकासी केही छैन । 

नगरको विकासका चुनौती र समस्या कस्ता छन् ?

यहाँका चुनौती र समस्या पनि अन्यत्रका भन्दा फरक छैनन् । यहाँको चुनौती भनेको नगरभित्रको अशिक्षा, गरिबी र बेरोजगारी हो । केटाकेटीलाई विद्यालय पठाउन नै चुनौती छ । अर्को समस्या भनेको राजनीतिक घेराबन्दी हो । कतिपय नागरिकसँग नागरिकता छैन । उनीहरूले नगरको बाहेक कुनै सुविधा लिन सक्दैनन् । राम्रो निर्णय गर्दा समेत समस्या खेप्नु पर्छ । विरोध हुन्छ । खोला कटान, तटबन्धको अभाव पनि चुनौतीका रूपमा छन् । युवा भारत र तेस्रो देश पलायन अर्को चुनौती हो ।

युवा पलायन रोक्ने कुनै कार्यव्रmम ल्याउनुभएको छैन ?

हरेक काम गर्न बजेट आवश्यक पर्छ । अहिले हामी कम्तीमा ५० जनालाई स्वरोजगार बनाउनका लागि मनमोहन प्राविधिक शिक्षालयसँग सहकार्य गरी विभिन्न तालिमको व्यवस्था गर्ने तयारी गरिरहेका छौँ ।   

अल्पसङ्ख्यक, दलित र मधेशी समुदायको भाषा र संस्कृति संरक्षणका लागि के के काम भएका छन् ?

हामीले सन्थाल जातिको भाषा संरक्षणका लागि उनीहरूलाई तालिमको प्रबन्ध गरेका छौँ । अल्पसङ्ख्य र विपन्न ३६ जना विद्यार्थीलाई सिभिल इन्जिनियरिङमा स्नातक तह पढाइरहेका छौँ । दुई हजार एक परिवारलाई स्वास्थ्य बिमा निःशुल्क गरिदिएका छौँ । अब गरिबले सामान्य रोग लागेकै कारण मर्नु पर्दैन ।  

रङ्गेली नगरपालिकासँग देशका अरू पालिकाले सिक्नुपर्ने केही छ ?

पहिलो कुरा देशमै पहिलो पटक हामीले चार पालिका मिलेर एकीकृत विपत् व्यवस्थापन केन्द्र निर्माण गरिरहेका छौँ । १२ करोड ५० लाख रुपियाँको यो कार्यक्रम लागु भएपछि चार पालिकाले अलग अलग अग्निनियन्त्रक, वारुणयन्त्र, शववाहन, एम्बुलेन्स राख्नु पर्दैन । पालिकाको ठुलो आर्थिक व्ययभार घट्ने छ । अर्को कुरा सात वर्षअघिको रङ्गेली र आजको हरित नगरी रङ्गेलीबिचको फरक जो कोहीले महसुस गर्न सक्छन् । हामीले रङ्गेलीमा रङ भर्न पाँच हजार बिरुवा रोपेर हुर्काइसकेका छौँ । अरू दुई हजार बिरुवा रोप्ने तयारीमा छौँ । शिक्षा क्षेत्रमा भएको सुधार हेर्न रङ्गेली आउनै पर्छ । नेताले चाहे भने शिक्षामा कायापलट गर्न सकिन्छ भन्ने उदाहरण हामीले पेस गरेका छौँ ।