• ७ मंसिर २०८१, शुक्रबार

सत्कर्मका प्रणेता

blog

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको हो । त्यही दिनको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको छ । यो रातलाई मोहरात्रि पनि भनिन्छ । वास्तवमा श्रीकृष्ण कुनै एक व्यक्ति वा साधारण मानिस नभई, समग्र अस्तित्वको प्रतिनिधित्व गर्ने परब्रह्म परमात्मास्वरूप हुनुहुन्छ । भनिन्छ, हरेक प्राणी भगवान्कै अंश हुन् । भगवान् श्रीकृष्णलाई सच्चिनानन्द पनि भनिन्छ । उहाँ सच्चिनानन्दकै अंश भएकाले सम्पूर्ण प्राणी आनन्दको खोजी गरिरहेका हुन्छन् अर्थात् भगवान्कै खोजी गरिरहेका हुन्छन् । 

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवको संरक्षण गर्न भगवान् श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरणा दिने काम गर्नु भएको थुप्रै प्रसङ्ग धर्मशास्त्रमा पाइन्छ । जीवनका घटना दुःखले भरिपूर्ण छन् तर पनि कृष्ण सदा शान्त र आनन्दित हुनुहुन्छ, एक बालकका रूपमा वा एक प्रेमीका रूपमा वा शासनको मूल नीति सम्हाल्ने व्यक्तिका रूपमा । हरेक भूमिकामा कृष्णले व्यक्तिलाई आध्यात्मसँग जोड्न खोज्नुभएको छ । यसमा खास गरी सांसारिक मोह, माया र भ्रमबाट हरेक पात्रलाई मुक्त गराउन खोज्नु हो । जो निराकार ब्रह्ममा समर्पण भएर शरणागत हुन्छ, त्यसलाई भगवान्ले शक्ति प्रदान गर्नु हुन्छ र त्यसले मात्रै ब्रह्मलाई जान्न सक्छ । त्यो ब्रह्म भगवान् श्रीकृष्णको एक शक्ति मात्रै होे । श्रीकृष्णमा समाहित तत्व नै ब्रह्म हो । यसमा नै निराकार ब्रह्मभन्दा माथि मध्य वा द्वितीय स्तरमा परमात्मा छन् । निराकार ब्रह्म र परमात्मा दुवै परमपुरुष भगवान्भित्र छन् । त्यसैले श्रीकृष्ण निराकार ब्रह्म र परमात्माभन्दा पनि शक्तिशाली हुनुहुन्छ । त्यस्तै गरी त्यसको आधार महाभारत, श्रीमद्भागवत गीता र अन्य वेद, उपनिषद् लगायत सनातन शास्त्रहरू हुन्, जसमार्फत मानिसले श्रीकृष्णको अनेक रूपको चर्चा गरिरहेका छन् । 

श्रीमद्भागवत गीता तत्वज्ञानका लागि महाभारत युद्धभन्दा पहिले अर्जुनलाई श्रीकृष्णले नै दिएको उपदेश हो । यसमा नै सारा वेद तथा उपनिषद्को सार पनि पाइन्छ, जुन कृष्ण तत्वलाई श्रीमद्भागवत गीताकै श्लोकका आधारमा जान्ने कोसिस गरौँ । यसमा भनिएको पनि छ पृथ्वी, जल, अग्नि, वायु, आकाश, मन, बुद्धि र अहङ्कार यी आठ मेरै विभिन्न भौतिक शक्ति (प्रकृति­) हुन् ।

श्रीकृष्ण जन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्री भावना जागृत गरी हामीबिचको भावनात्मक एकता अझ सुदृढ बन्न सघाउँदै आएको छ । कृष्णलाई अनेक मानिसले अनेक तरिकाले बुझेका छन् । इतिहासको केवल एक पात्र वा महाभारत महाकाव्यको एक पात्रका रूपमा मात्रै कृष्णलाई हेर्ने हो भने पनि कृष्ण एक अद्भूत क्षमता भएका शक्तिशाली पात्र हुनुहुन्छ । श्रीमद्भागवत गीताको चौधौँ अध्यायको सत्ताइसौँ श्लोकमा भनिएको छ । यसमा परा र अपरा शक्तिलाई पनि धारण गर्ने शक्ति श्रीकृष्ण हुनुहुन्छ । अपितु परा र अपरा शक्तिभन्दा पनि माथि श्रीकृष्ण हुनुहुन्छ । यसलाई पुष्टि गर्न श्रीमद्भागवत गीताको सातौँ अध्यायका श्लोकमा उल्लेख गरिएका छन् । 

द्वापर युगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानव जातिको उद्धार गर्न बासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । हाल भारतस्थित मथुरामा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णित छ । उहाँका पिता वासुदेव र माता देवकी हुनुहुन्छ । 

एक कल्पमा एक पटक हुने श्रीकृष्णको प्रेमावतार पाँच हजार वर्ष पहिले भएको थियो । श्रीकृष्णको त्यही अवतारलाई श्रीकृष्ण जन्माष्टमीका रूपमा मनाउछौँ । भगवान्का अवतार हरेक द्वापरमा हुन्छन्, जसलाई युगावतार भनिन्छ । युगावतार श्रीकृष्णको अंश अवतार हो । श्रीकृष्णको त्यो अवतारमा युगावतार कृष्ण समाइएका थिए । त्यसैले श्रीकृष्णका दुई वटा भूमिका सँगसँगै देख्न पाइन्छ । एउटा श्रीकृष्ण अनन्त प्रेममय, ध्यानमग्न, भक्ति र समय छन् । अर्को पापी र राक्षसको संहार गर्ने, धर्म संस्थापन गर्ने, युद्ध गर्ने छन् । यसरी महाभारत कथाभरि कृष्णको भूमिका बहुआयामिक छ, बुझ्न कठिन छ । युगावतार कृष्ण पनि अनन्त शक्तिप्राप्त भगवान्का अंश हुन् । युगावतारका अनेक लीला आफैँमा हाम्रो बुद्धि बाहिर छन् । त्यसैले कृष्णलाई कुनै एउटा पात्रका रूपमा मात्रै हेरेर सामान्य मानिससरह बुझ्न सकिँदैन । 

कृष्ण जन्माष्टमीका दिन पाटनको कृष्ण मन्दिर, मकवानपुर भैँसेको कृष्ण मन्दिर, मातातीर्थको कृष्ण मन्दिर, हनुमानढोका दरबार परिसरको कृष्ण मन्दिर, गोठाटारको कृष्ण मन्दिर लगायत देशभरका कृष्ण मन्दिरमा कृष्णको पूजा अर्चना हुने गरेको छ । 

आश्विन शुक्ल अष्टमीको कालरात्रि, कात्तिक कृष्ण औँसीको सुखरात्रि, फागुन कृष्ण तृतीयाको महाशिवरात्रि र भाद्र कृष्ण अष्टमीको मोहरात्रि गरी यी चार रातको निकै महìव रहेको धार्मिक शास्त्रमा वर्णित गरिएको पाइन्छ । यसर्थ भाद्र कृष्ण अष्टमीको मोहरात्रि चाहिँ ‘धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा म पुनः धर्तीमा आउने छु र धर्मको उत्थान गर्ने छु’ भन्ने उद्घोषलाई मनन गर्दै कृष्णाष्टमी मनाउने गरिन्छ । 

भगवान् श्रीकृष्णको बाल्यकालको बाल सुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई उहाँका भक्तजनले आजसम्म अल्हादित हुँदै स्मरण गर्दै आएका छन् । त्यसै गरी कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । अतः छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । जसरी बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ, त्यसै गरी भगवान् श्रीकृष्ण र महान् धनुर्धारी अर्जुनबिच कुरुक्षेत्रमा भएको संवादका रूपमा गीता तयार भएको हो । वेद व्यासले वेदलाई चार भागमा विभाजित गरेका थिए । गीता सम्पूर्ण वेदार्थको सार रूप हो भनी यसका टिप्पणीकारको भनाइ रहेको छ ।  

Author

विश्वनाथ खरेल